गैह्रीगाउँमा चारजनाको वीभत्स हत्या :

एसएसपी राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि नेपाल प्रहरीले पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानविन समिति गठन गर्नुभएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार उक्त समितिमा काठमाडौं प्रहरी परिसरका डिएसपी हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डिएसपी सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसी र प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी छन् ।

शुक्रबार राति काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा एकै परिवारका तीनसहित चारजनाको हत्या भएको हो । शनिबार बिहान टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चारजनाको शव फेला पारेको हो । शुक्रबार राति करिब १२ बजे शव फेला परेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार शवको पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको छ । मृतकको टाउको, घाँटीलगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार भएको देखिएको छ । हत्यामा प्रयोग भएको हतियार प्रहरीले खोजिरहेको छ ।

तीनकुनेस्थित दिव्य सःमिलमा लामो समयदेखि सुरक्षा गार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ५६ वर्षीय कुमार भुजेलसहित उहाँकी श्रीमती र आमाको समेत हत्या भएको हो । कुमारसहित उहाँकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर हुनुभएका अन्दाजी २० वर्षीय नवीन राईको हत्या भएको हो । कुमार मिलमा २५ वर्षदेखि काम गर्दै आउनुभएको थियो । कुमारका आफन्तले बताएअनुसार उहाँका बुबा पनि पहिले सोही मिलमा काम गर्नुहुन्थ्यो । बुबाको केही महिनाअघि मृत्यु भएको थियो । कुमारकी आमा भने केही दिनअघि मात्रै काठमाडौं आउनुभएको थियो । बुहारी चण्डिका भुजेलका अनुसार, ७६ वर्षीया शुभद्रा गत मंगलबार श्रीमान्को श्राद्धका लागि दोलखाबाट काठमाडौं आउनुभएको थियो । गत बिहीबार श्राद्ध गरिएको थियो । चण्डिकाका अनुसार, शुभद्रा (शनिबार) गाउँ फर्किने तयारीमा हुनुहुन्थ्यो ।

शंकास्पद पाँचजना पक्राउ
तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि काठ मिल भएकै घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरी उच्च स्रोतका अनुसार अहिले दीपेन्द्र राईबाहेक चारजनाको परिचय गोप्य राखिएको छ । दीपेन्द्र नवीनको साथी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको पनि प्रहरीको भनाइ छ । शरीरमा रगत लागेको अवस्थामा दीपेन्द्र ट्याक्सी चढेर आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको भनाइ छ ।

दीपेन्द्रको खबरपश्चात् तत्काल सःमिल पुगेको प्रहरीले चारजनाको वीभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो । प्रहरी कार्यालयमा दीपेन्द्रलाई सोधपुछ भइरहँदा अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको थियो । त्यसपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो । कुकुर जडीबुटीसम्म पुगेको थियो । सोही आधारमा प्रहरीले थप चार जनालाई जडीबुटी क्षेत्रबाट नियन्त्रणमा लिई सोधपुछ गरिरहेको स्रोतले बतायो । आफैँ प्रहरी कार्यालय पुगेका विपेनको घटनामा संलग्नता छ कि छैन भन्ने कोणबाट पनि अनुसन्धान सुरु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिनुभयो ।

एसएसपी मैनालीका अनुसार सःमिलमा हत्या भएका नवीनलाई उनी भाइ भन्थे । आफ्ना बाबु पहिले सोही सःमिलमा काम गर्ने भएकाले नवीन बेलबेला त्यहाँ गइरहन्थे । आउजाउ भइरहने भएकाले कुमार भुजेलको परिवारसँग नवीनको सम्बन्ध राम्रै थियो । प्रहरीले नवीनको पृष्ठभूमिबारे पनि अनुसन्धान थालेको छ ।

मृतकका आफन्तका अनुसार पक्राउ परेका दीपेन्द्र र कुमारको परिवारबीच महिना दिनअघि सामान्य विवाद भएको थियो । घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । घटना भएको सःमिल दोलखाका एमाले नेता बालकृष्ण सिवाकोटीको हो । घटनाको अनुसन्धान काठमाडौं जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?