अनेसास कविता महोत्सवमा जगन्नाथ प्रथम

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कविता महोत्सवको तेस्रो संस्करणमा जगन्नाथ पौडेल सर्वोत्कृष्ट हुनुभएको छ । अनेसासद्वारा आयोजित ‘अनेसास कविता महोत्सव २०२३’ मा अमेरिकाको भर्जिनिया निवासी कवि जगन्नाथ पौडेल सर्वोत्कृष्ट हुनुभएको हो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यस प्रतियोगिता आयोजना आयोजना गरेको थियो ।

अनेसासका अध्यक्ष गोवर्धन पुजाका अनुसार यस महोत्सवका लागि प्रतियोगितामा विश्वबाट तीन सय एकवटा कविता प्राप्त भएका थिए । ती सबै कवितालाई उछिन्दै पौडेलको कविता सर्वोत्कृष्ट भएको हो ।

सो प्रतियोगितामा ललितपुरका ऋषभदेव घिमिरे द्वितीय र न्यू जर्सी अमेरिका निवासी आनन्द श्रेष्ठ, कास्कीका मदन घिमिरे र सिन्धुपाल्चोकका सुमन शिरिषका कविता तृतीय हुनुभएको छ । साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपालको निर्णायक समितिले विजेता घोषित गरेको हो ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा आयोजिते कार्यक्रममा अनेसास बीओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा सल्लाहकार प्रतीक ढकालले राष्टकवि घिमिरेको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेले राष्ट्रकविको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा.रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

एक सय एकजना कविले कविता वाचन गरेका सो समारोह भर्चुअल माध्यम (जुम)बाट सञ्चालन गरिएको थियो । करिब पाँच घण्टा चलेको कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी, नेत्रबन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?