नमागिएको सल्लाह :
सन् २०२३ सेप्टेम्बर २२ देखि २६ सम्म आयोजित वैश्विक शिखर सम्मेलन विश्वभरका ॐ शान्ति समर्पितहरूको तीर्थयात्रा र ज्ञान प्राप्त गर्ने र पाएको ज्ञानलाई आदानप्रदान गर्ने अवसर थियो । हामी जस्तो पाहुनाको रूपमा धार्मिक पर्यटकको रूपमा गएकाहरूका लागि आध्यात्मिक यात्रा र केही आध्यात्मिक ज्ञान लिने अवसर थियो । यो वैश्विक सम्मेलनमा समाजका विभिन्न क्षेत्रमा बसेर अरूको भन्दा थप उपलब्धि हासिल गरेका नवप्रवर्तकलाई आमन्त्रित गरेर सफलताको अनुभव सुनाउने अवसर प्रदान गरिएको थियो । उनीहरूको विशिष्ट कामका लागि सम्मान पनि गरिएको थियो ।
मुस्लिम समुदायका स्थानीय सञ्चारकर्मीलाई आमन्त्रित गरेर सम्मान गरिएको थियो । यो कार्यले भारत जस्तो विविधता भएको देशमा भाइचाराको सन्देशलाई प्रवाहित गरिरहेको थियो । हरेक वर्ष ॐ शान्तिमा आबद्ध बहनजीबाट राखी बाँध्ने गरेको युवा मुस्लिम पत्रकारको भनाइले वातावरणलाई अझ सहज बनाएको थियो । भारतले सफलतापूर्वक प्रक्षेपण गरेर खोज अनुसन्धाको काम गरिरहेको चन्द्रयान प्रक्षेपण गर्ने वैज्ञानिक टोलीका एकजना सदस्यले प्रक्षेपणको जानकारी दिँदा त्यहाँ भएका भारतीय नागरिकहरूले गौरवपूर्वक उनको अभिवादन गरेको दृश्यले सबैलाई रोमाञ्चित बनाएको थियो ।
विद्वान् विश्वनाथ कराठीको छोटो समयको अभिव्यक्तिमा उनको विद्वत्ताको अजस्र प्रवाहलाई सीमित समयमा व्यक्त गर्न कठिनाइ भइरहेको सहजै अनुमान गर्न सकिन्थ्यो । विज्ञानको विषयका विद्वानमा रहेको वेद, वेदांग र उपनिषद्को ज्ञानले उनलाई ज्ञानको कसी लगाएर चौबीस क्यारेटको बनाएको महसुस भयो ।
माउण्ट आबुका भ्रमणयोग्य थानहरू :
माउण्ट आबुको खाली स्थानमा निरीक्षण गर्दा चारैतिर चट्टानका पहाडहरू देखिन्थे । तिनै पहाडमा पनि बोटबिरुवाको हरियाली थियो । आमा प्रकृतिले त्यस्तो चट्टानमा सिर्जना गर्दा उनलाई कति प्रसव वेदना भयो होला भनेर भावुक पनि बनियो । त्यस्तो चट्टानी क्षेत्रलाई ब्रहृमकुमारिजले एउटा सुन्दर गुल्जार बस्तीमा परिणत गरिदिएका छन् । मधुवन अर्थात् महको वन, नामअनुसार रसिलो स्वादयुक्त थियो । पानी कम पर्ने सुख्खाक्षेत्रमा विकसित र संरक्षण गरिएको हरियालीले राजस्थान हो कि देहरादुन हो भन्नेमा भ्रम सिर्जना गर्ने अवस्था थियो ।
ॐ शान्ति, ब्रहृमकुमारिजको अभिवादन र विश्वास पनि हो । यस मन्त्रले मन र आत्माको शान्तिको कामना गर्दछ । यसको उच्चारणले हाम्रो जीवनमा अनेकौं बदलाव ल्याउँन सकिन्छ । यसको तीन पटक उच्चारण गर्नु सबैका लागि फलदायी हुन्छ भन्ने मान्यता राखिन्छ ।
बाबाको घर पाण्डव भवन, जहाँ ब्रहृमा बाबाले योग साधाना र आफ्नो आध्यात्मिक गतिविधि गर्नुभएको थियो, त्यसलाई मौलिक झुपडीको झल्को दिने गरी संरक्षण गरिएको पाइयो । यस क्षेत्रलाई ब्रहृमकुमारी विश्वविद्यालयको अन्तर्राष्ट्रिय मुख्यालयका रूपमा स्वीकार गरिएको छ । टावर अफ पिसमा बाबाको चोला परिवर्तन गरेको शरीरलाई दाहसंस्कार गरिएको थियो । यसको आसपासमै युनिभर्सल पिस हल निर्माण गरिएको छ । सन् १९८३ मा बनेको यो सभाकक्षको क्षमता ३००० रहेको छ । सोह्र भाषामा अनुवाद गर्न सकिने सुविधा भएको कक्षलाई दैनिक लगभग दस हजार पर्यटकहरूले अवलोकन गर्ने गरेको जानकारी भयो । चार हजार आगन्तुकलाई एकैपटक खाना खुवाउने क्षमता रहेको यस क्षेत्रको व्यवस्थापन सिक्न योग्य रहेको महसुस गरियो ।
पिस पार्क :
माउण्ट आबुबाट आठ किमी टाढा रहेको पिस पार्कको निर्माण र व्यवस्थापन ब्रहृमकुमारी संस्थाले गरेर आध्यात्मिक र अन्य किसिमका पर्यटकलाई आनन्दानुभूति दिने प्रयास गरेको छ । यस पार्क क्षेत्रमा बसेर योग साधना गर्न चाहने साधकहरूले यहाँ बसेर साधाना गर्ने सुविधा रहेको छ । ब्रहृम कुमारिज संस्थाको कुनै पनि संरचना र धरोहर निर्माण गर्ने र त्यसको संरक्षण गर्ने विशिष्ट क्षमता छ । यो पिस पार्कमा पनि त्यसमा आबद्ध सदस्यहरूको समर्पणभाव स्पष्टसँग देख्न सकिन्छ ।
पहिले चर्चा गरिएको शान्ति वन माउण्ट आबु क्षेत्रको तल्लो समथर भाग हो । तीस किमी टाढा रहेको यो क्याम्पसमा संस्थाका ठूला गतिविधि हुने गरेका छन् । भारत सरकारको माथिल्लो क्षेत्रलाई संरक्षण गर्ने नीति भएकाले नयाँ संरचना बनाउन लगभग असम्भव भएका कारण ब्रहृमकुमारिजका संस्थागत र संरचनागत विस्तार यो क्षेत्रमा भइरहेको छ । यो क्याम्पसको भान्सा, डाइनिङ, सौर्य प्रणाली, आवागमन सुविधा, सरसफाइ, आवश्यकीय सुविधाहरूको व्यवस्थापनशैली नाम चलेका संस्थामा व्यवस्थापन विषयमा विशारद हासिल गरेकाहरूलाई बिर्साइदिने किसिमको रहेको छ ।
देलबाडा मन्दिर :
माउण्ट आबुबाट तीन किलो मिटर दूरीमा रहेको राजस्थान, सिरोही जिल्लास्थित यो मन्दिर जैन श्वेताम्बरहरूको तीर्थस्थल हो । ११औं शताब्दीमा बन्न सुरु भएर १६औं शताब्दीसम्म पनि निर्माण कार्य जारी रहेको यो क्षेत्रका पाँच मन्दिरहरू संगमरमरबाट बनेका अद्भूत कालिगडीका नमुना हुन् । यस स्थानमा पाँच मन्दिरहरू छन् । विमल शाही मन्दिर, लुना बसाही मन्दिर, पित्तलहार मन्दिर, पाश्वनाथ मन्दिर र महावीर स्वामी मन्दिरमध्ये विमल शाही मन्दिर सबैभन्दा पुरानो हो भने महावीर स्वामी मन्दिर सबैभन्दा अग्लो हो । विमल शाही मन्दिर सन् १०३१ मा बनेको हो ।
यी मन्दिरमध्ये विमल शाही मन्दिर र पित्तलहार मन्दिर पहिलो तीर्थंकर ऋषभनाथ (आदिनाथ)लाई समर्पित गरेको बताइन्छ । लुना बसाही मन्दिर २२ औं तीर्थंकर नेमिनाथ, प्रसवनाथ मन्दिर २३औं तीर्थंकर प्रसवनाथ, महावीर स्वामी मन्दिर २४औं तीर्थंकर महावीरलाई समर्पित गरेको बताइन्छ । आदिनाथको मूर्तिको आँखा असली हिराको र हिराका हारहरू बहुमूल्य रत्नजडित रहेको बताइन्छ । संगमरमरको अद्भूत् कालिगडी रहेका यी पाँच मन्दिरको समूह संसारकै उत्कृष्ट कलाकृति हो । पाँचौं मन्दिरको ४८ वटा स्तम्भमा नृत्याङ्गनाको आकृति कुदिएको छ ।
वर्षौं लगाएर बनाएका संरचनाहरू पर्यटकको रूपमा अवलोकन गर्दा रमणीयताका नमुना छन् । शताब्दियौं पहिले जुन समयमा सडक पूर्वाधार थिएन, हिँड्नका लागि सानोबाटो पनि आफैँ बनाउँनुपर्ने अवस्था थियो, त्यस्तो अवस्थामा यस्तो भव्य इमारत निर्माण हुनु अद्भूत इच्छाशक्तिको परिणाम त हुँदै हो । इच्छाशक्ति भयो भने मानव- मष्तिष्कको सिर्जनाशक्तिलाई कोहीले अवरोध गर्न सक्दैन भन्ने प्रमाण पनि हो । त्यस्तो अग्लो चट्टानी पहाडी क्षेत्रमा त्यति वजनदार सङ्गमरमरका ढुंगा कसरी पुर्याइयो होला, त्यस्ता कालिगडको उपलब्धता कसरी भयो होला, निर्माण कार्यको व्यवस्थापन कसरी गरियो होला भन्ने जस्ता प्रश्नको जवाफतिर घोत्लियो भने नवप्रवर्तक मानवको मष्तिष्क खास गरी यस्तो अद्भूत संरचना निर्माण गर्ने तत्कालीन शासकहरूलाई सलाम गर्ने इच्छा जागेर आउँछ ।
जुन उत्साहका साथ तत्कालीन शासकहरूले यी मन्दिरहरूको निर्माण गरे अहिले त्यस्तो उत्साह त छैन नै, सामान्य मर्मतसम्भारमा समस्या भएको पाइयो । मर्मतसम्भार त भइरहेको थियो तर सुस्त गतिमा । पहिलेको धर्मको प्रधानता भएको समयमा मन्दिर बनाउन निर्माण गर्न जुन समर्पण देखिन्थ्यो, अहिलेको परिवर्तित बहुपक्षीय विकास गर्नुपर्ने समयमा धार्मिक धरोहरका लागि पर्याप्त साधन स्रोत जुट्न कठिनाइ भए तापनि यी ऐतिहासिक धरोहरको मर्मत सम्भारमा सरकारी चासो पनि आवश्यक देखिन्छ । पर्यटकबाट केही प्रवेश शुल्क लिएर स्रोत जुटाउन सक्दा केही सजिलोपन हुने थियो कि ? कसैलाई दुःख नदिने र अहिंसाका प्रबल समर्थक जैनहरूका लागि प्रवेश शुल्क लगाएर दर्शकहरूलाई कठिनाइ नदिने मनशाय पनि हुन सक्दछ ।
ब्रहृमकुमारिजको आध्यात्मिक पक्ष :
ॐ शान्ति, ब्रहृमकुमारिजको अभिवादन र विश्वास पनि हो । यस मन्त्रले मन र आत्माको शान्तिको कामना गर्दछ । यसको उच्चारणले हाम्रो जीवनमा अनेकौं बदलाव ल्याउन सकिन्छ । यसको तीन पटक उच्चारण गर्नु सबैका लागि फलदायी हुन्छ भन्ने मान्यता राखिन्छ । ॐ शान्ति दुई शब्दको अर्थ ‘म शान्त स्वरूप आत्मा हुँ’ मेरो स्वधर्म शान्ति हो’’ भन्ने हो । शान्तिको उच्चारणले शोक र दुःखको समाप्ति हुन्छ । शरीर, मन र आत्माको शान्तिका लागि यो मन्त्र तीन पटक भनिन्छ । भूत, वर्तमान र भविष्यलाई शान्तिपूर्ण बनाउँन पनि यसलाई तीन पटक उच्चारण गरिन्छ । यसको उच्चारणमात्रले पनि शरीरमा स्फूर्तिको सञ्चार हुन्छ र मनमा असलभावको सञ्चार हुन्छ भन्ने विश्वास गरिन्छ ।
ब्रहृमकुमारिजहरू शिव बाबाको ध्यान गर्दछन् । जसलाई परमात्मा भनिन्छ । यसलाई सबै आत्माको सर्वोच्च आत्मा मानिन्छ । यो आत्मा सबैको मष्तिष्कमा रहेको र आत्मा जस्तै भगवान एक सूक्ष्म प्रकाश बिन्दु भएको विश्वास गरिन्छ ।
ब्रहृमकुमारिजहरू शिव बाबाको ध्यान गर्दछन् । जसलाई परमात्मा भनिन्छ । यसलाई सबै आत्माको सर्वोच्च आत्मा मानिन्छ । यो आत्मा सबैको मष्तिष्कमा रहेको र आत्माजस्तै भगवान एक सूक्ष्म प्रकाश बिन्दु भएको विश्वास गरिन्छ र यो प्रकाश बिन्दुलाई स्मरण गरेर ध्यान गरिन्छ । ब्रहृमकुमारिज आध्यात्मिक जागरुकताको अभियान भएकाले कुनै धर्मसँग आबद्ध छैन भनिए तापनि यसका धेरै पक्ष हिन्दु धर्मसँग मिल्दाजुल्दा छन् । कतिपय हिन्दु देवताको भक्ति गरिन्छ भने धेरै हिन्दु चाडपर्वहरूलाई केही मौलिकतासहित मनाइन्छ ।
म को हुँ ? भन्ने सन्दर्भमा म एक आत्मा हुँ, जब मेरो यो शरीरको अन्त्य हुन्छ अर्को शरीरमा परिवर्तन हुन्छु भन्नेमा यसका अनुयायीहरू विश्वास गर्छन् । हिन्दु धर्मको पुनर्जन्मको धारणाको बलियो समर्थन ॐ शान्ति अभियानले गरेको पाइन्छ । यो अभियानको अनुशीलनले संस्कारगत परिवर्तन हुन्छ, बोलीचालीको भाषामा मधुरता आउँछ, क्रोधको भावना आउँदैन, क्षमाशील बनिन्छ, मन मष्तिष्कमा सकारात्मक सोच आउँछ भन्ने विश्वास गरिन्छ ।
ब्रहृमकुमारिज र जैनवाद :
माउण्ट आबु क्षेत्रमा ॐ शान्तिको अन्तर्राष्ट्रिय केन्द्र हुनु र सोही क्षेत्रमा जैनहरूको भव्य मन्दिर भएको कारण यी दुई मतका बीचमा केही समानता रहेछन् कि भनेर मनन गर्ने मनशाय भयो । जैनहरू अनिश्वरवादितामा विश्वास गर्छन् भने ब्रहृमाकुमारीज परमात्मा शिव बाबामा । दुवै विचारले आत्माको अस्तित्वलाई स्वीकार गर्दछन् र आत्म शुद्धिलाई जोड दिन्छन् । जैनहरूको निवृत्तिमार्ग कठोर रहेको छ भने ब्रहृमकुमारिजको केही लचिलो तर दुवैको निवृत्ति मार्गमा विश्वास देखिन्छ ।
पुनर्जन्ममा दुवैको विश्वास देखिन्छ जैनहरू कर्मप्रधानतामा विश्वास गर्छन् भने ब्रहृमकुमारिज ध्यानमा । मोक्ष र अहिंसामा दुवैको समानता रहेको छ । सम्यक ज्ञान, सम्यक दर्शन र सम्यक कर्म यी त्रिरत्नको अनुशीलन गरी तप र व्रतबाट मोक्ष प्राप्त गर्ने विश्वास जैनहरूको रहेको छ भने राजयोगी बनेर परमात्माको ध्यान गर्नाले मोक्ष प्राप्त हुने विश्वास ब्रहृमकुमारिजमा रहेको पाइन्छ । जैन समुदायका श्वेताम्बरहरू सेतो वस्त्र धारण गर्ने गर्दछन् भने ब्रहृमकुमारिजका लागि श्वेत वस्त्र रुचिकर देखिन्छ । जैनहरूको अर्को सम्प्रदाय दिगम्बर जो पूर्व-पश्चिम, उत्तर–दक्षिण दिशालाई नै वस्त्र मानी नग्न बस्नुपर्छ भन्नेमा विश्वास गर्छन् । महिलाहरू भने हल्का सेतो वस्त्र धारण गर्दछन् ।
दिगम्बरहरूको धारणा र अनौठो र अव्यावहारिक जस्तो देखिएको कारण यसका प्रमुख अनुयायी बसेर परिवर्तन गर्न सक्दा धर्मको व्यावहारिक प्रयोग हुनसक्ने देखिन्छ । आत्माको अमरत्व, पुनर्जन्म, मोक्ष, श्वेत वस्त्र धारण, निवृत्ति मार्गको अनुशीलन जैन र ब्रहृमकुमारिजका अनुयायीबीच समानता देखिएका कारण नियतिले यी दुवै दर्शनीय धामहरूलाई एउटै रमणीय क्षेत्रमा अवस्थित गराएको हो कि ? नियति, प्रकृति र परमात्माको यो अनुपम कृपा पनि हुनसक्छ । ॐ शान्ति ।
क्रमश : .....।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच