नेपाल सरकारले गैरआवासीय नेपालीहरूलाई नागरिकता दिन सुरु गरेको छ । यसका केही नकारात्मक पक्ष पनि होलान् त्यसैले केही नेताहरूबाट विरोध भएको हुनसक्छ तर यसका धेरै सकारात्मक पक्ष छन् । नागरिकताको विश्वव्यापी सिद्धान्तअनुसार एक व्यक्ति एकै पटक दुई देशको नागरिक बन्न सक्दैन भन्ने धारणाका आधारमा नेपालबाट गएर विदेशमा कुनै काम, पेशा वा अन्य कुनै किसिमले आर्जन गरेर बसिरहेको अवस्थामा उनीहरूले आर्जन गरेको धन त्यहाँको नागरिक भइसकेका नाताले त्यही देशको हुने गर्छ । उनीहरूले त्यस्तो पैसा ल्याएर नेपालमा पनि होटल, कलकारखाना, बैंक, अस्पतालहरूमा लगानी गर्दै आएकोमा नेपाली नागरिकता नभएकै कारण विभिन्न कठिनाइको सामना गर्दै आउनुपरेको यथार्थतालाई मध्यनजर राखेर गैरआवासीय नेपालीहरूले नेपाली नागरिकताको माग गर्दै आएका थिए ।
धेरै वर्षअघिदेखि उनीहरूले नेपाली नागरिकताको माग गर्दै आएको भए पनि नेपाल सरकारले नागरिकता दिएको थिएन । भवन भट्ट, शेष घले, जमुना घले, जिवा लामिछाने, उपेन्द्र महतो जस्ता विदेशमा चिनिएका व्यवसायीहरूले विदेशमा बसेर व्यवसाय गरी करोडौं डलर कमाउनुभएको छ । सरकारले एकातिर उहाँहरूलाई नेपालमा लगानी गर्न आग्रह गरिरहेको तर अर्कोतिर नागरिकता नभएका कारण उहाँहरूलाई यहाँ लगानी गर्न असजिलो हुँदै आएको अवस्था थियो । आफ्नो पैसा अरूको नामबाट लगानी गर्नुपर्ने बाध्यात्मक स्थितिका कारण भोलि जसको नाममा लगानी गरिदिएको छ त्यसले बेइमानी गरेका खण्डमा उहाँहरूले त्यस्तो धन आफ्नो हो भनेर कानुनी प्रक्रियामा जान अप्ठ्यारो हुने अवस्थाका कारण उहाँहरूलाई यहाँ लगानी गर्न असजिलो अवस्था थियो ।
यसका बाबजुद पनि उहाँहरूले केही ठूला होटलहरू, बैंक, अस्पताललगायतमा लगानी गर्दै आउनुभएको थियो तर असजिलोपनका कारण द्विविधा र शंसय भने रहँदै आएको थियो । उहाँहरूको लामो समयदेखिको मागलाई सरकारले हालै सम्बोधन गरेर अब गैरआवासीय नेपालीहरूलाई नेपाली नागरिकता दिन सुरु गरेको छ । यसले गर्दा अब सहज रूपमा उहाँहरूले विदेशमा बसेर कमाएको पैसा नेपालमा लगानी गर्नुहुन्छ अर्थात् नेपालमा उहाँहरूको लगानी बढ्छ र नेपालको अर्थतन्त्रमा केही थप टेवा पुग्न जान्छ । उहाँहरू नेपाली नै हुनुहुन्छ । केही वर्ष वा केही दशक पहिले अध्ययन वा रोजगारीका लागि उहाँहरू नेपालबाट विभिन्न देशमा पुग्नुभएको र त्यहाँ कुनै काम, रोजगार वा व्यवसाय गरेर बस्नुभएका कारण ती देशको कानुनले गरेको व्यवस्थाअनुसार सम्बन्धित देशको नागरिकता पाउनुभएको हो ।
एक व्यक्ति एकै पटक एकभन्दा बढी देशको नागरिक बन्न नपाउने नियमका आधारमा उहाँहरूले त्यहाँको नागरिक बन्न नेपाली नागरिकता त्यागेको हो तर उहाँहरू नागरिकताबाहेकका अन्य जात, जाति, धर्म, भाषा, संस्कार र संस्कृति सबैका आधारमा नेपाली नै हुनुहुन्छ । उहाँहरूका बाबुआमा, दाजुभाइ, दिदीबहिनी, आफन्त, नातागोता सबै नेपालमै भएर पनि उहाँहरू बाध्यताले गैरनेपाली हुन पुग्नुभएको हो ।
उहाँहरूले कमाउन र आफ्नो त्यहाँको पेशा व्यवसायलाई निरन्तरता दिन त्यहाँको नागरिकता त्याग्न मिलेन । नेपालको नागरिकता दिन पनि दोहोरो नागरिकता दिन नमिल्ने भन्ने आधारमा नेपाल सरकारले मानिरहेको थिएन । त्यस कारण उहाँहरूको कमाइको अधिक प्रतिशत नेपाल ल्याउन असहज थियो ।
नेपाल सरकारले अब भने उहाँहरूलाई नेपाली नागरिकता दिन सुरु गरेको छ । दोहोरो नागरिकताको सिद्धान्तका आधारमा परेको अप्ठ्यारो हटाएर गैरनेपाली नागरिकतालाई नागरिकता दिन सुरु गरिएको यस कार्यबाट निश्चय नेपाल लाभान्वित हुन सक्छ । मंगलबार कुल आचार्य र बद्री केसीलाई नागरिकता दिएर यसको थालनी भएको छ । यसबाट एनआरएनएलाई नेपालसँग नजिक ल्याउन मद्दत पुग्ने धारणा महामहिम राष्ट्रपतिबाट अभिव्यक्त भएको छ । सम्माननीय प्रधानमन्त्री र माननीय परराष्ट्रमन्त्रीहरूबाट समेत यही प्रकारका विचार आएका छन् । यस सम्बन्धमा एनआरएनएको प्रतिक्रिया त सकारात्मक आउनु स्वाभाविकै हो । एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्र महतोले देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पाएको विचार व्यक्त गर्नुभएको छ ।
यो वैधानिक होइन राष्ट्रघात भएको छ भन्ने आवाजहरू नउठेका होइनन् तर यस्ता विरोधका स्वरहरू राजनीतिक विचारबाट प्रभावित भएर आएका हुनसक्छन् । राजनीतिमा विरोधका लागि विरोध गर्ने हाम्रो परम्परा छ । त्यसको प्रतिबिम्बन हुनसक्छन् यस्ता विचार तर समग्रमा राष्ट्रलाई फाइदा हुने र राष्ट्रकै नागरिकलाई पुनः नागरिता दिएर राष्ट्रलाई आर्थिक सबलतातर्फ लैजाने प्रयास गर्नु राष्ट्रघातभन्दा राष्ट्रिय हित हो भन्नेतर्फ सोच्नु उपयुक्त हुन्छ । सकारात्मक दृष्टिले यसलाई हेरेर सकारात्मक काममै सबैको प्रयास रहन सक्यो भने निश्चय विदेशमा लगानी हुने पैसा नेपालमा लगानी हुन सक्छ । यसो भएका खण्डमा नेपालले उहाँहरूको लगानीबाट आर्थिक उन्नति गर्न सक्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच