प्राडा.कुलप्रसाद कोइराला प्रसिद्ध प्राध्यापक तथा साहित्यकार हुनुहुन्छ । उहाँका प्रकाशित पुस्तकहरूमा यो ‘सिस्नाको आँठो’ पछिल्लो कृति हो । ‘आँठो’ अनेकार्थी शब्द हो । बारीको सानो गरालाई पनि आँठो भन्ने चलन छ । यसका साथै केटीहरूको बाटेको चुल्ठो खरपरालको मुठो बाटेको ठोरी आदिलाई पनि आँठो भन्ने गरिन्छ । यसैगरी कसैलाई लगाउने प्रयोजनले ठीक पारेको सिस्नाको मुठो पनि ‘आँठो’ हो । हो त्यही नेताहरूलाई हान्न तयार परेको सिस्नाको आठो पुस्तकका रूपमा आएको छ प्राडा. कोइरालाको । कोइराला कडा स्वभावको वक्ता र लेखक हुनुहुन्छ र बोलेर पनि कसैलाई सिस्नाको आँठाले प्रहार गर्ने उहाँको स्वभाव छ । लेखेर त्यसै गर्नुहुन्छ ।
एकताका प्रवासी नेपाली समालोचक जो भारतको उच्च अदालतको न्यायाधीशसमेत बन्नुभएको थियो रामकृष्ण शर्मा उहाँ सम्पूर्ण लेखक साहित्यकारहरूको झाँको झार्ने गर्नुहुन्थ्यो । उहाँका ‘शप्त शारदीय’ र ‘दश गोर्खा’ शीर्षकका समालोचना संग्रहहरू प्रकाशित भएका थिए । तिनमा भानुभक्तदेखि देवकोटासम्मलाई सिस्नो लाउन उहाँले हिम्मत गर्नुभएको थियो । भानुभक्तजस्तो विद्वान् कविले गजाधर सोतीकी गाउँले अपठित श्रीमतीलाई धज्जी काडेर कविता लेख्नु हुँदैनथ्यो र उनले रूखमुनि बसेर रात कटाएको कुरा विश्वासयोग्य छैन भन्ने तर्क दिनुभएको थियो । सोती थरधारीहरूको अहिलेसम्म पनि भानुभक्तको त्यही कविताले अपमान भइरहेको छ भन्ने तर्क गर्नुभएको थियो ।
रामकृष्ण शर्माकै शैलीका खरो र दरो झापट हान्न हिम्मत गर्ने लेखकका रूपमा ‘सिस्नाको आँठो’ बोकेर आउनुभएको छ प्राडा.कुलप्रसाद । यो व्यंग्यप्रधान पुस्तक हो । व्यंग्य साहित्यको छुट्टै विधा होइन यो भावमात्र हो र कथा, कविता, निबन्ध जुनसुकै विधाको माध्यमबाट व्यंग्य गर्न सकिन्छ । नेपाली साहित्यमा हास्यव्यंग्य सम्राटका रूपमा आफूलाई स्थापित गर्न सफल व्यक्ति भैरव अर्यालको हास्यव्यंग्य हेर्दा उहाँले निबन्धलाई माध्यम बनाउनुभएको छ ।
रामकृष्ण शर्माकै शैलीका खरो र दरो झापट हान्न हिम्मत गर्ने लेखकका रूपमा सिस्नाको आँठो बोकेर आउनुभएको छ प्राडा.कुलप्रसाद कोइराला । यो व्यंग्यप्रधान पुस्तक हो । व्यंग्य साहित्यको भावमात्र हो र कथा, कविता, निबन्ध जुनसुकै विधाको माध्यमबाट व्यंग्य गर्न सकिन्छ ।
हास्य र व्यंग्यलाई समान रूपमा समाविष्ट गरी आख्यानात्मक शैली अपनाएर अरूभन्दा पृथक बन्ने अर्यालका पदचाप पच्छ्याउनेहरू नेपाली साहित्यमा धेरै छन् तर निबन्ध र कवितामा देवकोटालाई, नाटकमा समलाई र हास्यव्यंग्यमा अर्याललाई माथ गर्न नेपाली साहित्यकारहरू हालसम्म सफल भएका छैनन् । कसैकोमा व्यंग्यप्रधानता पाइन्छ भने कसैकोमा हास्य प्रधानता पाइन्छ । प्राडा. कोइरालाको यस कृतिमा भने उक्त प्रयास भएको छ । समसामयिक राजनीतिमाथिको कठोर प्रहार भएका कारण व्यंग्यले सफलता पाएको छ तर हास्य गौण छ ।
विद्वान् लेखक कोइरालाको यस पुस्तकको समालोचनाको सामथ्र्य यस पंक्तिकारमा पुग्दैन तर पाठक प्रतिक्रिया नै सही केही लेख्न मन लागेका कारण यो प्रयास गरेको हुँ । यो केबल पाठक प्रतिक्रिया हो । पुस्तक डिएमआई आकारमा छ । स्वदेश प्रकाशन प्रा.लि. प्रकाशक रहेको यस पुस्तकको सर्वाधिकार लेखकमै रहेको छ । प्रथम संस्करणका रूपमा २०८० जेठमा छापिएको यस पुस्तकको छपाइ स्तरीय छ भने अशुद्धिहरू कमैमात्र भेटिन्छन् । पहेंलो हलुका कागजको प्रयोग भएको यस पुस्तकमा भूमिका खण्डमा १२ र पाठ्य खण्डमा २७६ गरी जम्मा २८८ पृष्ठ रहेका छन् र मूल्य ६०० रुपैयाँ छ ।
यस पुस्तकको लेआउट आउटलाइट ग्राफिक्स, थापागाउँका तर्फबाट हरिविक्रम बिशंखेको र आवरणचित्र देव कोइमीको रहेको छ । आवरणमा माथि सेतो र अन्य सबैतिर खैरोखैरो रंगको पृष्ठभूमि छ । माथि बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सुशील कोइरालाहरूको मुखाकृति राखिएको छ । माथि नै दायाँतर्फ पुस्तकको शीर्षक ठूला राता अक्षरमा ‘सिस्नाको आँठो’ भनिएको छ भने त्यसमुनि पहँेला साना अक्षरमा लेखकको नाम ‘प्राडा. कुलप्रसाद कोइराला’ भनिएको छ । त्यसमुनि नेपालका वर्तमान समयका छ जना नेताहरूका टाउका रहेका छन् र बीचमा एउटा हातले सिस्नाको आँठो समातेर उनीहरूलाई लाउन खोजेको जस्तो देखिन्छ ।
वर्तमान समयमा जीवित रहेका नेपालको राजनीतिको शीर्षस्थानमा पुगेका नेताहरू नेपाली कांग्रेसका शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल र झलनाथ खनाल, जनता समाजवादीका बाबुराम भराट्टई र नेकपा एमालेका केपी शर्मा ओलीहरूलाई वरिपरि राखेर बीचमा सिस्नाको आँठो देखाएको हुँदा आवरणले यी छजना नेताहरूलाई माध्यम बनाएर सबैलाई सचेत गराएको अर्थमा बुझ्न सकिन्छ । यी ६ जना नै नेताहरू नेपालको प्रधानमन्त्री भइसक्नुभएको छ र उहाँहरू छ जनै हालसम्म जीवित हुनुहुन्छ । जनमानसमा पनि उहाँहरूले राम्रो काम गरेको भनेर उहाँहरूलाई जस दिने काम गरेको सुनिँदैन तर देश बिगारेको आरोप र लाञ्छना भने उहाँहरूमाथि प्रसस्त लाग्ने गर्छ । प्राडा. कोइरालाले पनि उहाँहरूलाई सचेतता, खबरदारी र सतर्कताका लागि सिस्नाको आँठो देखाउनुभएको छ ।
पृष्ठ आवरणमा उहाँको फोटोसहित चिनारी दिइएको छ । यहाँ उहाँको परिचय, सम्प्रति, कृतिहरू र सम्पादित कृतिहरू दिइएको छ । यहाँ दिइएनुसार कोइरालाको जन्म २०१२ साल जेठ २० गते ओखलढुंगाको रातमाटेमा पिता पं.फणीन्द्रनाथ कोइराला र माता नन्दमाया कोइरालाका छोराका रूपमा भएको उल्लेख छ र उहाँले नेपालीमा एमए र त्रिविबाट नेपालीमै विद्यावारिधि गर्नुभएको जानकारी यहाँबाट पाउन सकिन्छ ।
बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, सरोज कोइराला, गिरिजाप्रसाद कोइराला, नेपाली कांग्रेका सम्मेलन महासम्मेलन र महाधिवेशन केन्द्रित लेखहरू यहाँ संगृहीत छन् । यसैगरी वामराजनीतिको जुन रत्यौली यहाँ देखापरिरहेको छ त्यसको धज्जी काढ्न उहाँले बाँकी राख्नुभएको छैन ।
उहाँ प्राध्यापन सेवामा सहायक प्राध्यापकका रूपमा २०३८ सालमा रा.रा.बहुमुखी क्याम्पस जनकपुरबाट प्रवेश गर्नुभएको हो । उहाँले लामो समय काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापन गर्नुभयो । २०७२ असोजबाट नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति बन्नुभयो । २०७६ सालमा उहाँ कर्यकाल पूरा गरी निवृत्त हुनुभयो । उहाँ हाल प्राध्यापक पदबाट पनि सेवा निवृत्त भइसक्नुभएको छ । यसको जानकारी पनि यही पृष्ठमा दिइएको छ ।
यसैगरी यहाँ उहाँका कृतिहरूको सूची दिइएको छ । जसनुसार उहाँका तेह्रवटा पुस्तकहरू प्रकाशित भएको उल्लेख छ । उहाँका पुस्तकमा विधागत विविधता पाइन्छ । उहाँका समालोचना र मौलिक सिर्जना दुवै छन् । काव्यिक परिभ्रमण (२०६२), सृष्टिमााथिको दृष्टि (२०६२), धरणीधर परिक्रमा (२०६३), माधवीमाथिको अन्तर्दृष्टि (२०६४), सिन्धुलीका स्रष्टा (२०६९), उखानभित्रका कथा (२०७१), विश्वेश्वरप्रसाद कोइराला ः व्यक्ति एक आयाम अनेक (२०७१), उखान सिद्धान्त र विश्लेषण (२०७३), उपन्यास सिद्धान्त र मिथक सिद्धान्तका आलोकमा माधवी (२०७४), जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (अध्याय १० उखान) (२०७६), मौदगल्य गोत्रको कुलपूजाविधि (२०७८) सिस्नाको आँठो (२०८०) र वेदमा जीवन र जगत (२०९०) रहेका छन् । उहाँको मुद्गलपुराण नेपालीमा अनुवाद प्रकाशोन्मुख रहेको जानकारी पनि यहाँ पाइन्छ ।
उहाँका सम्पादित कृतिहरूमा प्रा.वासुदेवचन्द्र मल्ल स्मृति ग्रन्थ (२०५५), भीमसेन थापा (महाकाव्य २०५९), विक्रम (पद्यनाटक २०६० ), रामायण बालुन (२०६२) दाता कर्ण (पौराणिक काव्य र गिरिजाबाबु (२०६८) रहेका छन् । यसरी एक दर्जनभन्दा बढी मौलिक कृति र आधा दर्जन सम्पादित कृति उहाँले नेपाली साहित्य भण्डारमा भरिसक्नुभएको छ । यही पृष्ठको तल प्रकाशन संस्था स्वदेश प्रकाशनको नाम लोगोसहित दिइएको छ ।
भूमिका खण्डमा प्रा.पुरुषोत्तम दाहालको ‘प्राडा.कुलप्रसादले बनाएको सिस्नाको आँठो’ र लेखक कोइरालाको ‘मेरा कुरा’ रहेका छन् । त्यसपछि विषयसूची रहेको छ । यस सूचीबाट यस पुस्तकमा ६८ वटा लेखहरू समावेश रहेको जानकारी पाइन्छ । यहाँ समावेश लेखहरूमध्ये धेरैजसो विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका हुन् र यहाँ तिनको संग्रह गरिएको हो । कोइराला प्रजातान्त्रिक विचार राख्ने बौद्धिक प्राध्यापक हुनुहुन्छ । विद्यार्थी कालदेखि नै प्रजातान्त्रिक अभियानमा संलग्न र संबद्ध बन्दै आउनुभएका कोइरालाले आफ्नै दाजुभाइ र दौंतरी साथी केशव कोइरालाई प्रहरीले हत्या गर्दाको तित्त साक्ष व्यहोर्नु परेको थियो ।
उहाँले धनुषामा रहेर अध्ययन गर्दा जनकपुर र महोत्तरीको मटिहानी प्रजातान्त्रिक अभियानको केन्द्रमा थियो । त्यहीबेला उहाँले नेपाली कांग्रेसका उच्चस्तरीय नेताहरूसँग सम्बन्ध कायम गर्न सफल हुनुभयो । त्यस कारण उहाँ प्रजातान्त्रिक विचारको एउटा दह्रो र खरो खम्बा बनेर अविचलित रूपमा आजका दिनसम्म पनि उहाँ दृढ हुनुहुन्छ । त्यसैले यस पुस्तकमा रहेका उहाँका प्रायः सबैजसो लेखहरू प्रजातन्त्रको वकालत गर्न प्रजातान्त्रिक विचारका नेताहरूको जीवन दर्शन केलाउन, गैरप्रजातान्त्रिक व्यक्तिहरूको उछित्तो काढ्न, प्रजातान्त्रिक विचार तथा पद्धतिको स्थायित्व बारे चिन्तन गर्न र प्रजातन्त्रलाई धुलोपिठो पार्नेहरूको खोइरो खन्नका लागि लेखिएका छन् ।
बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, सरोज कोइराला, गिरिजाप्रसाद कोइराला, नेपाली कांग्रेका सम्मेलन महासम्मेलन र महाधिवेशन केन्द्रित लेखहरू यहाँ संगृहीत छन् । यसैगरी वामराजनीतिको जुन रत्यौली यहाँ देखापरिरहेको छ त्यसको धज्जी काढ्न उहाँले बाँकी राख्नुभएको छैन । यतिमात्र होइन नेपाली कांग्रेसको भावी राजनीतिको दिशा निर्देश पनि उहाँबाट भएको छ । ६८ वटा लेखमा ६८ वटै प्रवृत्ति उहाँले केलाउनुभएको छ ती सबैको चर्चा यहाँ सम्भव छैन । यहाँका धेरै लेखहरू हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित भएका हुन् । यी आलेखहरू निबन्धात्मकभन्दा पनि अखबारी लेख हुन् जसमा व्यंग्यप्रधानता पाइन्छ । त्यस कारण शीर्षक पनि तीन शब्ददेखि आठ शब्दसम्मका छन् ।
यस पुस्तकका लेखहरू दैनिक पत्रपत्रिकामा प्रकाशित र सोही काँटका भएका कारण फैलावटका देष्टिकोणबाट धेरै लामा छैनन् । अधिकांश लेख चार पृष्ठको फैलावटमा छन् भने थोरै लेखहरू तीन र पाँच पृष्ठका छन् । छ र सात पृष्ठको फैलावटमा एक दुईवटा लेखमात्र रहेका छन् । यसर्थ छोटाछोटा लेख र व्यंग्यात्मकसमेत भएका कारण पाठकलाई आकर्षण गरिरहन यी लेख सफल छन् ।
उहाँको खरो लेखनले पुस्तकको शीर्षक जस्तो छ त्यस्तैगरी नेता, नेतृत्व, समसामयिक राजनीति, मानवीय प्रवृत्त, देश, समाज, मानिसको निजी स्वभावलगायत कुराहरूको चित्र उतारेको छ । पुस्तकका लागि विद्वान् व्यक्तित्व प्राडा.कुलप्रसाद कोइरालालाई धेरै धेरै बधाई तथा धन्यवाद, पुस्तकको सफलताको कामना । साथै नेपाली राजनीतिक जगतलाई तरंगित बनाएर हलचल पैदा गर्ने यस प्रकारका अन्य पुस्तकहरू पनि उहाँको ऊर्जाशील मस्तिष्कबाट पैदा भइरहून् उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच