
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको कीर्तिपुरका जनतासँग सात्क्षात्कार गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले माओवादीले सञ्चालन गरेको ‘जनतासँग माओवादीः विशेष रूपान्तरण अभियान’अन्तर्गत शनिबार साक्षात्कार गर्नुभएको हो । सात्क्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस गरिरहेको टिप्पणी गर्नुभयो । लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि तल्लोस्तरमा उत्रेर प्रश्न उठाउने दुस्साहस भइराखेको टिप्पणी गर्दै प्रचण्डले भन्नुभयो, ‘एकथरि मान्छेहरूले विभिन्न कोणबाट तल्लो स्तरमा उत्रेर लोकतन्त्र र गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस गरेका छन् । लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहत भइराखेको छ । विगत ७० वर्षको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिबारे नेपाली जनतालाई बुझाउनुपर्ने आवश्यकता छ ।’
अर्थतन्त्र सुधारको बाटोमा
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समयमा अर्थतन्त्रका सूचकहरू राम्रो हुँदै गएको दाबी गर्नुभएको छ । अर्थतन्त्रलाई अझै सुधार गर्न थप कार्यक्रम ल्याउन लागेको समेत जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पछिल्लो समय आर्थिक समस्या समाधान हुँदै गएका छन् । मौद्रिक नीति, बैंक ब्याजदर घटाउने, जग्गाको कित्ताकाट खुलाउने, बजार चलायमान बनाउन खोजिएको छ । यसले अर्थतन्त्रमा केही सुधार भयो । राजस्व वृद्धि हुन लागेको छ । इतिहासमा एकै महिनामा धेरै पर्यटक भित्रिएका छन् । रेमिट्यान्स संकट समाधानको लागि एउटा फ्याक्टर हो । विदेशी मुद्राको सञ्चिति उत्साहप्रद, राजस्व बढ्न थालेको छ । पहिले भनेजस्तो नेपाल अब श्रीलंका नै हुन्छ भन्ने अब त्यस्तो आतंक छैन ।’ प्रधानमन्त्री प्रचण्डले अहिले आर्थिक संकट समाधानका लागि आफूले तिहारलगत्तै बृहत् भेलाको आयोजना गर्न लागेको र त्यसबाट अर्थतन्त्रमा गुणात्मक पहल गर्न आउने नीति तथा कार्यक्रममा समावेश गरेर जाने जानकारी दिनुभयो ।
नेपाल संवत् सरकारको दस्तावेजमा लेख्ने घोषणा
प्रधानमन्त्री प्रचण्डले नेपाल संवतलाई सरकारको दस्तावेजमा लेख्ने घोषणा गर्नुभएको छ । उहाँले नेपाल संवत नै राष्ट्रिय संवत् भएकाले सरकारको दस्तावेजमा लेख्न आवश्यक भएको बताउनुभयो । नेपाल संवत ११४४ आउँदै गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने धारणा राख्नुभयो । आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको समेत उहाँले स्मरण गर्नुभयो ।
०८४ को निर्वाचनमा जनताको विश्वास जितेर सरकारको नेतृत्व गर्ने
प्रधानमन्त्री प्रचण्डले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ । २०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेको र अझै नयाँ आन्दोलनको सुरुवात गर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री कहिलेसम्म रहने भन्ने कुरा मुख्य कुरा नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्नो लागि मुख्य कुरा रहेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै त फर्किन सक्दैनौँ । अब आउने भनेको ६४ होइन, २०८४ हो । २०८४ मा हामी ०६४ जस्तै जनताको पक्षमा, जनताको विश्वास लिनसक्छौँ कि सक्दैनौँ । हामीले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुवात गरेका छौँ । अझै गर्छौं । कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्य कुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो । हामीले कति राम्रो कुरा सुरु गर्छौं त्यो मुख्य कुरा हो ।’ उहाँले देशमा अब केही हुन्छ कि भन्ने आशाको सञ्चार सुरु भएको बेला सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरू सक्रिय भएको समेत दाबी गर्नुभयो ।
गणतन्त्र असफल भइसक्यो : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बितेको १७ वर्षको अनुभवबाट संघीय गणतन्त्र असफल सावित भएको टिप्पणी गर्नुभएको छ । अध्यक्ष थापाले अहिलेको व्यवस्था सुधारिने कुनै संकेत नदेखिएकाले अब व्यवस्था र अवस्था परिवर्तनका लागि तेस्रो जनआन्दोलनको आवश्यक रहेको समेत दाबी गर्नुभयो । सबै समस्याको जड राजसंस्था, हिन्दुराष्ट्र र एकात्मक शासनलाई देखाएर बनाइएको गलत भाष्यले मुलुकलाई संकटको भुमरीमा फसाएको उहाँको आरोप छ । विदेशी दबाब र प्रभावमा जनताको अभिमतबिना मुलुकको राष्ट्रिय धरोहरहरूलाई भत्काउने काम भएकोमा भन्दै थापाले षड्यन्त्रपूर्वक जबरजस्ती लादिएको राज्य प्रणालीको आयु लामो नहुनेसमेत जिकिर गर्नुभयो । अहिले मुलुकमा चलिरहेको भ्रष्टाचारको चक्रलाई तोड्न आन्दोलनको विकल्प नभएको समेत थापाको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच