जंगलमा जंगली जनावरहरू हुनु स्वाभाविक हो । जुन कुरा स्वाभाविक हो त्यसबारेमा कुनै प्रश्न उठाउनु चाहिँ अस्वाभाविक हो । तर हालका दिनमा केही फरक परिदृश्य देखापरिरहेका छन् । गाउँबस्तीहरूमा जंगली जनावरहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । कारण खोज्न अन्त कतै जानु पर्दैन हाम्रै गाउँबस्तीहरूको बदलिँदो स्वरूपलाई हेरे पुग्छ । एकातिर मानिसहरूको संख्या गाउँमा दिनप्रतिदिन घटिरहेको छ भने अर्कातिर गाउँमा बस्नेहरू पनि पुराना मनवीय परम्परा र प्रक्रिया धानेर बसेका छैनन्, तिनीहरू पूर्णरूपमा शहर बजारमा बस्नेहरूकै समस्तरको जीवनशैली अपनाएर बसिरहेका छन् । मोबाइलको सुविधा त्यहाँसम्म पनि पुगेकै छ भने इन्टरनेट र अन्य सामाजिक सञ्जालको भरपूर उपयोग त्यहाँका मानिसले पनि गरिरहेका छन् ।
पहिलेको जस्तो पशुपालन, घाँस दाउराका लागि वनजंगल जाने चलन हराउँदै गएको छ । मानिसले कुनै रूख, बोटबिरुवा नकाट्ने हो भने उम्रिएका जति सबै बोटबिरुवा हुर्किन्छन् । जंगल बाक्लो हुँदै जान्छ र यसले आफ्नो क्षेत्र विस्तार गर्दै लैजान्छ । हालका दिनमा नेपालका अधिकांश ठाउँमा यस्तै भइरहेको छ । वनजंगलको क्षेत्रफल बढ्दैगएका त्यस्ता वनहरूमा जंगली जनावरको संख्या बढ्दै गएको हो । अर्कातिर सिकार गर्न नपाइने तथा आवादी जग्गाजमिनमा खनजोत गरेर खेती गर्न छोडेपछि जमिनहरू बाँझिँदै गइरहेका छन् । मानिसले आफ्नो अधिनस्त त्यस्ता जमिनमा रूख रोपेर छोड्ने गरेका छन् । सामुदायिक वनजंगल संरक्षित व नबनेकाले यस्तो भएको छ ।
विडम्बनाको कुरो के छ भने एकातिर अनेकौं कारणले आवादी जग्गाजमिन घट्दै गएका छन् भने अर्कातिर बाँकी जमिनमा खेती गर्न छोडिएको छ । जब-जब मानवीय क्रियाकलाप कम भइरहेका छन् तब वनजंगल बढ्नु स्वाभाविक हुन्छ । वनजंगलको क्षेत्र विस्तार भएसँगै वन्यजन्तुहरूको संख्यामा वृद्धि हुनु स्वाभाविक हुन आउँछ । पहिले बस्तीभन्दा अलिक पर वनजंगल हुन्थ्यो, मानिसले खेतीपातीको नियन्त्रणमा त्यति ठूलो निगरानी गर्नु पर्दैनथ्यो । वनबाट घाँस, स्याउला, दाउरा, पत्कर ल्याउने गर्थे । विद्यमान वनजंगलले मानिसका दैनिक आवश्यकताको आपूर्ति गर्ने तथा निर्भरता हुने गरेको थियो ।
हालका दिनमा यस्ता वस्तुमा मानिसको निर्भरता रहने गरेको छैन । मानवजीवन एकदमै कृत्रिमतातर्फ उन्मुख हुँदै गइरहेको छ । विदेशबाट आयात गरिएका उपभोग्य वस्तुमाथिको निर्भरता बढ्दै गएको छ भने निर्भर हुन छोडेको छ । वनजंगलको क्षेत्रफल विस्तार भए सँगसँगै वन्यजन्तुहरूको संख्या अत्यधिक वृद्धि भएकाले गाउँघरमा जे जति जग्गाजमिनमा खेतीपाती हुँदै आएको छ त्यो पनि जोगाउन मुस्किल पर्ने गरेको हो । वनजंगल त पहिलेदेखि नै संरक्षित नै थिए । कतै रानीवन भनेर, कतै सामुदायिक वन भनेर, रकतै कबुलियत वन भनेर तिनलाई जोगाउँदै आएकोमा अबका दिनमा मानिसको वनमाथिको निर्भरता घटेर गएपछि वनक्षेत्र त्यसै वृद्धि हुने नै भयो । त्यसमाथि पनि मानिसका निजी पाखारेखा र खरबारीसमेत हाल घना वनमा परिणत भइरहेका छन् ।
त्यतिमात्र होइन घरबारी र करेसाहरूमा पनि रूख रोपेर छोड्ने गरेकाले दुई तीन कोस परको जंगलमा मात्र पाइने भालु आएर करेसाका मकै खाएको भन्नेजस्ता समाचार सुन्नमा आउँछन् । दुम्सी, स्याल, लोखर्केहरू त पहिले पनि खेतबारीमा आउने गर्थे । हालका दिनहरूका पूर्वदेखि पश्चिमसम्म बढी बाँदरको संख्या वृद्धि भएको छ । रातमा बास बस्ने र दिनमा मात्रै सक्रिय हुने बाँदर हालका दिनहरूमा जुनेली रातमा समेत सक्रिय हुन थालेको किसानहरू बताउँछन् । पहिले बाँदरले नखाने कतिपय फलफूलहरू हाल खान थालेको छ । सुन्तोला ताछ्दा आउँने बोक्राको रस आँखामा परेपछि सुन्तला खान डराउने बाँदरले हाल अर्कातिर टाउको फर्काएर ताछ्ने र खाने गरेको छ भनिन्छ ।
वन्यजन्तुहरूले आफ्नो स्वभाव आवश्यकता र समयानुसार बदल्दै लाने गर्दारहेछन् भन्ने थाहा हुन्छ । मानिसहरूले साविककै अवस्थामा सोही प्रकारका काम गरिरहेका भए शायद वन्यजन्तुहरू यसरी बढ्ने थिएनन् र वर्तमानको जस्तो अवस्था आउने थिएन तर मानिसले मानवीय क्रियाकलापमा परिवर्तन गर्दै लगेकाले वन्यजन्तुहरूको संख्या बढेको र स्वभावमा परिवर्तन आएको कुरा सत्य हो । अत्यधिक संख्यामा वृद्धि भएको वन्यजन्तुलाई मार्न पाउने गरी सरकारले नियम बनाउनु आवश्यक छ । यसका नियन्त्रणका अन्य उपायको अवलम्बन गर्नुपर्ने हुन्छ । सरकारले हालै बँदेल मार्न पाउने गरी नियम बनाए जस्तै बालीनालीमा क्षति गर्ने अन्य वन्यजन्तुको नियन्त्रणका उपायको अत्यन्त आवश्यकता भइसकेको छ । यसतर्फ ध्यान पु¥याउनै पर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच