
काठमाडौं । सरकारले एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व-महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार समिति सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनुभएको छ । समितिलाई प्रकरणको अध्ययन गरी प्रतिवेदन पेस गर्न ३० दिनको कार्यादेश दिइएको उहाँले बताउनुभयो । ‘एनसेलको सेयरको खरिद बिक्रीका सम्बन्धमा जुन प्रश्न उठेको थियो, त्यो प्रश्नको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति निर्माण गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘समितिलाई ३० दिनको कार्यादेश दिइएको छ ।’
संघीय संसद् अन्तर्गतका दुई संसदीय समिति बैठकमा समेत सांसदहरूले छानविन समिति बनाउन माग गरेका थिए । संसद्को सार्वजनिक लेखा समितिले अनुसन्धान पूरा नगरुञ्जेल एनसेलको कारोबार रोक्का गर्नसमेत सरकारलाई निर्देशनसमेत दिएको थियो । यस्तै, अर्थ समितिले एनसेलको विवादित सेयर खरिद-बिक्री प्रकरणको सबै विवरण १५ दिनभित्र पेस गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।
६ दिन अगाडि स्पेक्ट्रलाइट युके लिमिटेड र आजियटा युके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो । सम्झौताबमोजिम स्पेक्ट्रलाइट युकेले आजियाटाको सेन्टस् किटस् एण्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी बनेको थियो । आजियाटाले सन् २०१६ मा करिब एक खर्ब ४४ अर्बमा एनसेल खरिद गरेको भए पनि अहिले भने ६ अर्ब ६६ करोड रुपैयाँमा बेचिएपछि चौतर्फी प्रश्न उठेको छ । स्पेक्ट्रलाइट युकेका लगानीकर्ता सतिशलाल आचार्य हुनुहुन्छ । प्रक्रिया पूरा नगरी एनसेल खरिद-बिक्री भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
निर्धारित समयभित्रै छानविन सम्पन्न गर्नेछौँ : संयोजक शर्मा
एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानविन गर्न गठित समितिका संयोजक टंकमणि शर्मा दंगालले तत्काल छानविनको काम अघि बढाउने बताउनुभएको छ । सरकारले समिति गठन गरेलगत्तै सिंहदरबार पुग्नुभएका शर्माले सरकारले दिएको निर्धारित समयभित्र काम सम्पन्न गर्न तत्काल काम अघि बढाउने बताउनुभयो । सरकार तथा समिति सदस्यहरूसँग सहकार्य गरेर निष्पक्ष ढंगले छानविन प्रक्रिया पूरा गर्ने उहाँले बताउनुभयो । ‘सरकारले महत्वपूर्ण र गम्भीर विषयमा छानविनका लागि जिम्मेवारी दिएको छ । निर्धारित समयभित्र छानविनको काम सम्पन्न गर्नेछौँ,’ उहाँले भन्नुभयो, ‘सरकार तथा समिति सदस्यहरूसँग सहकार्य गरेर निष्पक्ष ढंगले छानविन प्रक्रिया पूरा गर्छु ।’
एनसेल खरिद-बिक्री प्रकरण रहस्यमय, संसद् गम्भीर छ : सभामुख
सभामुख देवराज घिमिरेले एनसेलको सेयर खरिद–बिक्री प्रकरण रहस्यमय बनेको बताउनुभएको छ । बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यसमा छानविन हुनुपर्ने बताउनुभयो । संसद्ले एनसेल खरिद–बिक्री प्रकरणलाई जिम्मेवारीसाथ चासो लिएर अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो । ‘एनसेलको सेयर खरिद-बिक्री प्रकरण रहस्य र अध्ययन अनुसन्धान गर्नैपर्ने रूपमा बाहिर आइरहेको छ । जसरी अरूको चासो गइरहेको छ, संसद्मा पनि त्यत्तिकै र अझ त्योभन्दा बढी जिम्मेवारीसाथ चासो लिएर अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘संसद् अहिले स्थगित छ तर, संसदीय समितिहरू क्रियाशील रूपमा अघि बढिरहेका छन् ।’
एनसेल काण्डमा १० वर्षदेखि नेपाली टेलिकमलाई रोक्नेहरू नै संलग्न : चौधरी
चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एनसेल काण्डमा नेपाली टेलिकम कम्पनीलाई रोक्नेहरू नै संलग्न रहेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा आफ्नो धारणा राख्दै चौधरीले एनसेल काण्डमा १० वर्षदेखि नेपाली टेलिकमलाई रोक्नेहरू नै संलग्न रहेको आरोप लगाउनुभएको हो । ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सस्तोमा टेलिकम सेवा दिने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदै छ,’ उहाँले लेख्नुभएको छ, ‘हेर्दै जाऔँ । अरू केके देख्न पाइन्छ ।’
सिजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एमएसएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि लाइसेन्स पाउन नसकेको उहाँको भनाइ छ । एनसेल काण्डमा १० वर्षदेखि नेपाली टेलिकमलाई रोक्नेहरू नै संलग्न रहेको उहाँले आरोप लगाउनुभएको छ ।
सेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश
उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिष्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद-बिक्री भएका एनसेलका सेयरहरू २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिष्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिरका लागि छलफलमा बोलाएको छ । गोकुलबहादुर रोकायाले एनसेलको सेयर खरिद बिक्रीको निर्णय सार्वजनिक भएलगत्तै उक्त कारोबारलाई नेपालभित्र मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
उच्च अदालत पाटनले संसद्को सार्वजनिक लेखा समितिले सेयर खरिद-बिक्री रोक्का गर्न सरकारलाई निर्देशन दिएको, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत छानविन गर्ने भनेर सूचना निकालेको र प्रधानमन्त्रीले समेत यसबारे अध्ययन गर्न निर्देशन दिएको भन्दै यस विषयमा रिट निवेदक र विपक्षीलाई छलफलमा बोलाउने र त्यतिबेलासम्म खरिद बिक्रीको विषयलाई यथास्थितिमा राख्न भनेको हो । उच्च अदालतले सेयर खरिद बिक्रीबारे कुनै निर्णय गरेको भए त्योसमेत लिएर छलफलमा आउनु भनी आदेश दिएको छ ।
कर कानुन उल्लंघन गरेका छैनौँ : एनसेल
एनसेलले नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले सबै कर दायित्वहरू सम्पूर्ण रूपमा पालना गरेको स्पष्ट पारेको छ । एनसेलले पछिल्लो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिनेछ । ‘एनसेल आजको दिन सम्मको सबै कर दायित्वहरू सम्पूर्ण रूपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ,’ एनसेलले भनेको छ, ‘साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिनेछ । यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरूलाई एनसेल एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।’ एनसेलले पछिल्लो सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको बताएको छ ।
‘यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसबाहेक यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच