✍️ निर्मलकुमार आचार्य
दुःख में सुमिरन सब करे, सुख में करै न कोय ।
जो सुख में सुमिरन करे, दुःख काहे को होय ।।
दुःख पर्दा सबैले सम्झन्छन् तर सुखमा कसैले सम्झँदैनन् । सुखमा पनि सम्झने हो भने दुःख भन्ने कुरै हुँदैन । यो पद्यात्मक महान् सन्देश प्रसिद्ध सन्त कवीरको हो । दुःख हुँदा भगवान् पुकार्ने र सुखमा चाहिँ भगवान् फिटिक्कै नसम्झने परिपाटीप्रति सन्त कवीरले चलाएको यो चेतनाको लट्ठी अध्यात्मबाहेक अन्य क्षेत्रमा पनि लागू हुन्छ । मुलुकमा प्रतिकूल अवस्था सिर्जना भएका बखत ज्यादै जोडतोडले, ‘शानदार रूपमा’ उठाइने विषय बन्ने गरेको ‘स्वावलम्बन’लाई नै लिऊँ । आफ्नो सामथ्र्य र बुतामा भर पर्ने काम, आफ्नै खुट्टामा उभिने कार्य, आत्मनिर्भरता भनी बुलन्द आवाजमा अथ्र्याइने स्वालम्बनको विषय प्रतिकूलताको बादल छाँटिंदै जाँदा हराउँदै जानु यहाँको नियत र नियतिको द्योतक बनेको छ । तब त प्रत्येक क्षेत्रमा छुटाउनै नसकिनेगरी परालम्बनको आवरण बाक्लिंदै गएको छ ।
शंकै छैन, मुलुकमा नाकाबन्दी वा त्यस्तो अन्य कुनै प्रतिकूलता तेर्सिन आए पुनः स्वावलम्बनका नारा, भाषण घन्कन थाल्ने र नीति, कार्यक्रम एवं प्रतिवेदनका उम्दा ठेली तयार हुनथाल्ने छन् । अनि, फेरि केही समयमा अलि सहज, अनुकूल वातावरण हुनासाथ ‘उठ् जोगी फट्कार छाला, जहाँ जाला उहीं खाला’ भनेजसरी परावलम्बनको बर्को ओढ्न हतारिइहाल्ने प्रवृत्ति देखिने स्वयंसिद्ध छ । आँखा, कान र मुखमात्रै होइन, हातगोडै छोप्नेका अगाडि सन्त कवीरका सन्देशको पनि के औचित्य ? अन्यथा पाइला, पाइला चालेर सगरमाथाको टुप्पोमा पुग्न सकिन्छ भने एक-एकवटा गरी स्वावलम्बनका बहुआयामिक दिशा किन पहिल्याउन सकिँदैन र !
जापानी टोलीले यहाँ जमिनमुनि मनग्ये प्राकृतिक ग्यास उत्पादन गर्नसकिने जनाएको थियो । टेकु, तीनकुने, कोटेश्वर, शङ्खमूल, इमाडोल, बालकुमारी, भृकुटीमण्डप, विष्णुमती किनारलगायत १४ स्थानमा अध्ययन गरेको विज्ञ टोलीले ३० हजार परिवारलाई ५० वर्ष पुग्ने ग्यास निकाल्न सकिने सुखद् खबर दिएको स्मरणीय छ ।
पेट्रोलियम पदार्थकै कुरो गरौं । ठूलो रकम यही मेसोमा विदेशिने गरेको नबुझ्ने कोही छैनन् । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८/०७९ को पहिलो दश महिनामा मात्रै भारतबाट दुई खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँबराबरका पेट्रोल, डिजेल र खाना पकाउने ग्यास भित्रिएको थियो । पेट्रोलियम पदार्थको खपत निरन्तर बढ्दै गइरहेको परिप्रेक्ष्य रहे तापनि बेलाबखत घन्काइने गरिएको वैकल्पिक इन्धनको पाटो उदासीन नै छन् । खाना पकाउने एलपी ग्यास (लिक्विफाइड पेट्रोलियम ग्यास) का लागि मात्रै वर्षेनी अर्बौं रुपैयाँ विदेशिइरहेको दूरवस्था छ । एक तथ्यांकनुसार २०७८ साउनदेखि २०७९ वैशाखसम्म ५२ अर्ब ५९ लाख ७५ हजार रुपैयाँको ग्यास आयात गरिएको थियो । भनिन्छ, यहाँ मासिक ४५ हजार टन बराबरको एलपीजी ग्यास खपत हुने गरेको छ ।
मुलुकभित्रै प्रचुर मात्रामा प्राकृतिक ग्यास उत्पादन गर्नसकिने यथार्थ हुँदाहुँदै त्यसको उत्खनन्, परीक्षण तथा प्रयोग, उपयोगतिर किन कदम बढिरहेको छैन ? आश्चर्यको बिन्दु बनेको छ । काठमाडौं उपत्यकाभित्रै पनि प्रशस्त प्राकृतिक ग्यास रहेको कुरो उहिल्यै जगजाहेर भएको हो । २०३५ सालमा जापानी विशेषज्ञ टोलीले अनेक ठाउँमा अध्ययन गरी जमिनमुनि मनग्ये प्राकृतिक ग्यास उत्पादन गर्नसकिने जनाएको थियो । टेकु, तीनकुने, कोटेश्वर, शङ्खमूल, इमाडोल, बालकुमारी, भृकुटीमण्डप, विष्णुमती किनारलगायत १४ स्थानमा अध्ययन गरेको विज्ञ टोलीले ३० हजार परिवारलाई ५० वर्ष पुग्ने ग्यास निकाल्न सकिने सुखद् खबर दिएको स्मरणीय छ ।
खानी तथा भूगर्भ विभाग, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को सक्रियतामा विसं २०४० सालमा ‘ग्यास प्लान्ट’ स्थापना भई ग्यास वितरण गर्ने काम पनि नभएको होइन । त्रिपुरेश्वर-टेकूका ग्यास प्लान्टबाट उत्पादित ग्यास विसं २०४१ सालदेखि झन्डै एकदशक पाइपमार्फत वितरण गरियो । शुक्रराज ट्रपिकल अस्पताल, भेटेरिनरी अस्पताल, नेपाली सेनाको भोजनालय, कारागार आदि कार्यालयले उक्त ग्यास उपभोग गरे । स्थानीय बासिन्दाका अनुसार जगन्नाथ देवलसम्म पाइपलाइन थियो, १६ नं.बाहिनीले त्यसैबाट खाना बनाउँथे । विसं २०५२/०५३ सालयता सरकारी घोर बेवास्ताका कारण बिग्रिएका प्लान्ट, पाइप, चुल्हो आदि बेकम्मा हुनथाले ।
लाग्नुपर्नेका घैंटामा घाम छिर्न धेरै वर्ष कुर्नुपर्यो । २०७३ सालमा आएर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसको सहयोग लिई खानी तथा भूगर्भ विभागले इमाडोलमा प्राकृतिक ग्यासको नमुना परीक्षण गर्यो । पानीसँग रहेको मिथेन छुट्टिएपछि ग्यासमात्र जम्मा हुने ट्याङ्की ‘ग्यास प्लान्ट’मा पाइप जडान गरी सिधैं चुल्होमा आगो बाल्न सकिने परीक्षण सफल त भयो तर कार्यप्रगतिको अभावमा सर्वसाधारणले लाभान्वित हुन पाएनन् ।
आफ्नो घरमा निस्किएको ग्यास उपभोग गर्ने सोचाइ आफैंमा बेठीक नहोला तर पाइपबाट लगी सोझै चुल्हो बाल्दा कुनै असर पो गर्छ कि ? घातक परिणाम पो तेर्सिन्छ कि ? यस्ता सवालमा कहिले कुनै सार्वजनिक सूचना सरोकारी निकायले दिएको पाइँदैन ।
न्यून बजेट, दक्ष जनशक्तिको कमी, अत्यावश्यक उपकरणको अभाव जस्ता झिना निहुँमा अलमलिएको राज्यले आवश्यक दिशातर्फ चासो नबढाएको भए तापनि समय, समयमा प्राकृतिक ग्यास स्वयंले चाहिँ आफ्नो बलियो उपस्थिति देखाउन छाडेको छैन । इनार खन्दा, खेतबारी जोत्दा अथवा सडक विस्तार गरिँदा ग्यासले उम्दा नमुना प्रदर्शन गर्दै आएको छ । चक्रपथ, महाराजगञ्जको सडकमै बलेर केही वर्षअघि ग्यासले गिज्याएको कसैले बिर्सिएका छैनन् ।
माल भएर पनि चाल नपाएजस्ता ‘परावलम्बनका सिकार’ हामीलाई झकझकाउनै पो हो कि ! समय, समयमा जमिनबाट ग्यास निस्किंदै आएको छ । यतिखेर काठमाडौं, वडा नं.६, सरस्वतीनगर निवासी शेखर आचार्यको घरमा ग्यास प्रकट भएको छ । स्वयं शेखर आचार्यका भनाइमा ‘बोरिङ गरेको, यहाँ पानी छैन भन्ने कुरो भयो, दुई सय पचास फिटसम्म जाँदा पानी आउला भनियो, २४० मै पानी भेटियो । पाइप ठोक्दा २२० फिटमा गएर रोकियो । चट्टानले गर्दा होला, पाइप अरू ठोकौं भनेको उनीहरू (बोरिङकर्मी) ले ग्यास निस्किएर मोटर नचलेको भने । आगो बालेर हेरेँ, हो रहेछ । छ महिनाअघिको कुरो हो, निरन्तर बलिरहेको छ । प्रयोग चाहिँ गरेको छैन तर अब गर्ने कि भन्ने सोचाइमा छु ।’
आफ्नो घरमा निस्किएको ग्यास उपभोग गर्ने सोचाइ आफैंमा बेठीक नहोला तर पाइपबाट लगी सोझै चुल्हो बाल्दा कुनै असर पो गर्छ कि ? घातक परिणाम पो तेर्सिन्छ कि ? यस्ता सवालमा कहिले कुनै सार्वजनिक सूचना सरोकारी निकायले दिएको पाइँदैन । प्रतिकूल असर नपरे त केही भएन, कम्तीमा एक घरमै सही महँगो मूल्य तिरेर विदेशबाट झिकाउनुपर्ने ‘एलपिजी’ ग्यासको मात्रा घट्नेछ । पुग्ने भए छरछिमेकलाई पनि किन नदिने ? वरिपरिका लागि पनि पुगेमा विदेशिने रकम अझै घट्नेछ । यस्तो खुला सत्य हुँदाहुँदै किन सरोकारी निकाय कुम्भकर्णे निद्रामा मस्त रहेको होला ! होइन, जथाभाबी गर्नुहुँदैन, प्रतिकूल असर पर्नसक्छ भने शेखर जस्ता जनता जनार्दनको जिम्मेवारी कसले लिने ? ज्वलन्त प्रश्न उब्जिएको छ ।
एलपी ग्यास पेट्रोलियम पदार्थमा मिसिएको हुन्छ भने मिथेन ग्यास फोहरबाट बन्दछ । जुगौंअघि जमिनभित्र रहेका, मृत जीवका कुहिएका अवशेष आदिबाट मिथेन ग्यास बन्छ । खान पकाउनमात्र होइन, मल बनाउन, बिजुली उत्पादन गर्न, उद्योगधन्दा सञ्चालन गर्न र सवारीसाधन चलाउनसमेत प्राकृतिक ग्यास उपयोगी हुने जानकार बताउँछन् । यस्तो महत्वपूर्ण प्राकृतिक ग्यास काठमाडौंमा मात्र होइन, दैलेख, मुस्ताङ आदि स्थानमा पनि प्रशस्त रहेको आकलन छ । दैलेखमा त सिलिन्डरमा हालेर वितरण गर्नसकिने ‘एलपी’ ग्यास नै रहेको चिनियाँ अध्ययनसमेत छ ।
करिब डेढ दशक प्राकृतिक ग्यास उपभोग गरिसकेको र प्रचुर मात्रामा ग्यास उत्पादन गर्नसकिने सम्भावना औंल्याइएको काठमाडौंकै तन्नम चाला रहेको वस्तुस्थितिमा अन्तको राग के गाउनु ! चेत जाग्ने हो भने अहिले पनि बेर भएको छैन । प्राकृतिक ग्यास उत्पादनका लागि तत्काल देशी, विदेशी गुहारेर हुन्छ कि स्थानीय तहलाई अघि सारेर हुन्छ, जसरी होस्, ससानै तबरबाट भए पनि काम हुनसके स्वावलम्बनको पाटोमा अभूतपूर्व लक्षण देखिनेछ । acharya.nik@gmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच