सुर्खेत । सुर्खेतको लेकवेंशी नगरपालिका-१, रातामाटेका निराज परियार उमेरले १० वर्षको हुनुभयो । उहाँ गाउँको शान्ति सृर्जना आधारभूत विद्यालयमा कक्षा-३ मा अध्ययनरत हुनुहुन्छ । निराजको आँखाको दृष्टि कमजोर हुँदा पढाइमा समेत निकै सकस परेको थियो । तर, समस्या पहिचानपछि हाल निराजले चस्माको नियमित प्रयोग गर्न थालेपछि अक्षर चिन्न सजिलो भएको छ । शैक्षिक गुणस्तर तथा सिकाइमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।
जन्मजात एल्बोनिज्म रोगले आँखाको गेडी हल्लिने र फोकस गर्न नसक्ने समस्याका कारण उहाँलाई सानैदेखि प्रष्ट आँखा देख्न समस्या भएको थियो । ‘निराजलाई केही वर्षअघि तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं लगेर आँखा जाँच गरी नियमित चस्मा र औषधिको प्रयोग गरायौँ । तर, एक महिनामै चस्मा फुट्यो र औषधि पनि सकियो’ निराजकी आमा कल्पना परियारले भन्नुभयो, ‘त्यसपछि निराजले न त चस्मा लगाउन पायो । न त औषधि किनेर ल्याइदियौँ । जसले गर्दा छोराको आँखा झन्झन् कमजोर बन्दै गएछन् ।’
श्रीमान् वैदेशिक रोजगारीमा रहेकाले आफू घरायासी काममा व्यस्त रहने र आर्थिक समस्याका कारणले निराजको समयमै उपचार गर्न नसकेको कल्पनाले स्वीकार्नुभयो । कल्पनाका छोरा निराजसँगै छोरी निस्मा परियारको पनि आँखाको दृष्टि कमजोर रहेको पहिचान भएको छ । १२ वर्षीय निस्मा कक्षा-५ मा अध्ययनरत हुनुहुन्छ । विद्यालय आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत विद्यालयमै आँखाको दृष्टि परीक्षण गरिएपछि उहाँहरूको आँखाको दृष्टि कमजोर रहेको पुष्टि भएको हो । आँखाको दृष्टि परीक्षणपछि आइकियर फाउण्डेशन र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको सहयोगमा हाल उहाँहरू दुवै जनाले चस्मा प्रयोग गर्दै आउनुभएको छ ।
चस्मा प्रयोगपछि निराज र निस्मालाई मात्रै होइन लेकवेंशी नगरपालिकाका करिब ९० जना विद्यार्थीलाई आँखाको सुरक्षासँगै पढाइमा पनि सहज भएको छ । विद्यालय आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत लेकवेंशीमा रहेका ५० वटा विद्यालयमा अध्ययनरत आठ हजार बढी विद्यार्थीको आँखाको दृष्टि परीक्षण गरिएको थियो । जसमध्ये ९० जना विद्यार्थीको आँखाको पावर कमजोर रहेको र चस्मा प्रयोग गर्नुपर्ने अवस्था पहिचान भएको हो ।
आइ कियर फाउण्डेशनको सहयोगमा हाल उहाँहरू सबै विद्यार्थीलाई विद्यालयमै पुगेर निःशुल्क चस्मासमेत वितरण गरिएको छ । पहिलो चरणमा प्रत्येक विद्यालयका एक/एकजना शिक्षकलाई आँखाको दृष्टि परीक्षणसम्बन्धी तालिम दिइएको थियो । तालिम प्राप्त शिक्षकले विद्यार्थीको आँखाको दृष्टि परीक्षण गरेपछि दोस्रो चरणमा हरेक विद्यार्थीको आँखाको पावर अनुसारको चस्मा बनाएर वितरण गरिएको हो ।
विद्यार्थी फरक समस्या उही
आँखाको दृष्टि कमजोर रहेका सबै विद्यार्थीहरूलाई कक्षाकोठामा बस्दा शिक्षकले बोर्डमा लेखेको अक्षर देख्न समस्या भएको थियो । लेकवेशी–९ स्थित खाँडादेवी मावि चौरासेमा कक्षा-८ मा अध्ययनरत १३ वर्षीया सुस्मिता आचार्यले निःशुल्क चस्मा पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘आँखाको गेडी दुःख्ने र चाँडै थाक्ने, एकछिन पढ्नेबित्तिकै मधुरो देख्ने, टाउको दुःख्ने र आँसु बग्ने समस्या थियो’ उहाँले भन्नुभयो, ‘धेरै पढ्दा मधुरो देखेर किताबलाई आँखा नजिकै लैजाने गर्थें तर चस्माको प्रयोगले सहज भयो ।’ सुस्मिताको दाइने आँखाको नसा खुम्चिएको कारण पनि आँखा कमजोर बन्दै गएको हो । सानो उमेरमा आँखा पाक्दा घरपरिवारले फरक औषधि प्रयोग गरिदिएकाले आफ्ना आँखा कमजोर बनेको उहाँ बताउनुहुन्छ ।
लेकवेंशी-६ कल्याणस्थित सरस्वती माविमा अध्ययनरत दिदी-बहिनी अस्मिता र रोशनी शाहीको पनि आँखाको दृष्टि कमजोर रहेकाले चस्मा प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । कक्षा-५ मा अध्ययनरत अस्मिता र कक्षा–३ मा अध्ययनरत रोशनीले आँखा जाँचपछि चस्मा लगाएर पढ्दा स्पष्ट देखिएको बताउनुभयो ।
चन्द्रज्योति मावि चन्द्रपुरमा कक्षा–२ मा अध्ययनरत ६ वर्षीया शोभा कार्कीलाई समेत पढ्दा आँखा दुःख्ने र कक्षामा बस्दा शिक्षकले बोर्डमा लेखेको अक्षर नदेख्ने समस्या थियो । आँखा परीक्षणपछि चस्मा प्रयोग गर्दा सहज भएको उहाँ बताउनुहुन्छ । ‘आँखाको दृष्टि कमजोर हुँदा पनि आर्थिक अभावका कारण सदरमुकाम पुगेर आँखा परीक्षण गरी चस्मा किन्ने वातावरण थिएन’ विद्यार्थी सुनिता रोकायाले भन्नुभयो, ‘तर विद्यालयमै आँखा जाँचपछि निःशुल्क चस्मा पाउँदा हामीलाई ठूलो राहत पुगेको छ ।’
१६ वर्षीया सुनिता रोकाया जीवनज्योति मावि दशरथपुरमा कक्षा-८ मा अध्ययनरत हुनुहुन्छ । ६ वर्षको उमेरमा बुवाको निधनपछि आमाले अर्को बिहे गरेर गएको पीडा र आफन्तको घरमा बसेर पढ्दाको दुःखले समेत आफ्नो आँखा कमजोर बन्दै गएको उहाँलाई महसुस भएको छ ।
शिक्षक भन्छन्- हाम्रो पनि आँखा खुल्यो
आँखाको दृष्टि कमजोर भएका विद्यार्थीबाट जबरजस्ती सिकाइ गुणस्तर खोज्नु आफ्नो पनि कमजोरी रहेको भन्दै विद्यालय आँखा स्वास्थ्य कार्यक्रमपछि आफ्नो पनि आँखा खुलेको लेकवेंशी नगरपालिकाका शिक्षकहरूले बताएका छन् । ‘विद्यर्थी पछाडि बस्यो किन लेखेन ? भनेर गाली गथ्र्यौं । उसले राम्रोसँग अक्षर नै नदेखेपछि कसरी पढ्न र लेख्न सक्छ’ सरस्वती माविका शिक्षक चन्द्र खड्काले भन्नुभयो, ‘जबरजस्ती शैक्षिक गुणस्तर खोज्नु हाम्रो पनि कमजोरी रैछ । अहिले आएर हाम्रो पनि आँखा खुल्यो ।’
आगामी वर्षहरूमा विद्यार्थी भर्ना गर्दा हरेक विद्यार्थीको सुरुमै आँखाको दृष्टि परीक्षण गरेर सोहीअनुसार अघि बढ्नपर्ने शिक्षक धर्मदत्त पौडेल बताउनुहुन्छ । जीवनज्योति मावि दशरथपुरका प्रधानाध्यापक तीर्थप्रसाद पौडेलले विद्यालय आँखा स्वास्थ्य कार्यक्रमले विद्यार्थीको स्वास्थ्यप्रति गम्भीर बनाएको भन्दै पढाइभन्दा पहिले विद्यार्थीको स्वास्थ्य अवस्थामा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
नगरपालिकाको जोड
लेकवेंशी नगर प्रमुख उमेशकुमार पौडेलले विद्यालय आँखा स्वास्थ्य कार्यक्रम प्रभावकारी रहेको भन्दै यसलाई निरन्तरताका लागि नगरपालिकाले पनि जोड दिने बताउनुभयो । ‘आँखा कमजोर हुँदा जीवन त जसोतसो चल्छ, तर अध्ययन, अध्यापनमा निकै चुनौती हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यसैले विद्यार्थी पढ्नुभन्दा पहिले मानसिक तथा शारारिक रूपमा पनि स्वस्थ्य हुनुपर्छ, यसमा सजिलै आँखा देख्नु पहिलो महत्वपूर्ण कुरा हो ।’
स्कुल पढ्दा आँखा कमजोर हुनुको पीडा आफूले पनि भोगेको भन्दै विद्यार्थीलाई चस्मा अनिवार्य प्रयोग गर्न जरुरी रहेको उहाँको भनाइ छ । ‘जीवनको सबैभन्दा ठूलो कुरा पढाई हो, त्यही पढाइमा आँखा बाधक बन्दा परिस्थिति असहज हुन्छ’ उहाँले थप्नुभयो, ‘चस्माको मूल्य भन्दा विद्यार्थीको समस्या पहिचान गर्नु ठूलो कुरा हो । यस्ता कार्यक्रममा नगरपालिका आवश्यक सहयोग गर्न तयार छ ।’
यता, आँखा स्वास्थ्य कार्यक्रम कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नुभएका नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखा सभापति रामलाल आचार्यले विद्यालय तथा समुदायमा आधारित सेवामूलक गतिविधि जारी रहेको बताउनुभयो । ‘बालबालिकाले चस्माको सिसा कोर्ने, भाँच्ने, फुटाउने जस्ता काम गर्नसक्छन्’ उहाँले भन्नुभयो, ‘त्यसैले चस्माको सुरक्षा र मर्मत-सम्भारमा पनि अभिभावकले उत्तिकै ध्यान दिन जरुरी छ ।’
सुर्खेत आँखा अस्पतालका नेत्र अधिकृत प्रेम दीक्षितले आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत नियमित कार्यक्रम जारी रहने बताउनुभयो । ‘नियमित चस्मा लगाउनाले बालबालिकामा स्पष्ट देख्नसक्ने क्षमताको क्रमिक विकास हुँदै जान्छ’ उहाँले भन्नुभयो, ‘उमेर बढ्दै जाँदा विद्यार्थीको चस्माको पावर पनि परिवर्तन गर्नुपर्ने हुनाले चिकित्सकको सल्लाहअनुसार अभिभावकले नियमित रूपले अस्पतालमा जाँच गराउनुपर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच