बैतडीको डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जनताहरूलाई स्थानीय सरकार उनीहरूकै सरकार भएको अनुभूति हुनेगरी काम गरिरहेको बताउनुभएको छ । २०७९ वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएका जोशीले पार्टी विशेष भई जनताको सरकार भएको अनुभूति दिनेगरी सेवा प्रवाहलाई जनमुखी गरी काम गरिरहेको बताउनुभएको हो । यसै सेरोफेरोमा रहेर अध्यक्ष सन्तोषप्रकाश जोशीसँग बैतडी हिटा सहकर्मी डम्बर बोहराले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-
तपाईंले गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेको डेढ वर्षभन्दा बढी भइसकेको छ । अनुभव कस्तो रहृयो ?
जनताहरूका समस्या र चाहना बुझ्न पाइयो । उपलब्ध सीमित स्रोतसाधन र जनशक्तिका बीचमा पनि स्थानीय सरकार सञ्चालन ऐन दिएको क्षेत्राधिकारभित्र रहेर जनताका काम गरिहेका छौँ । समग्रमा अनुभव राम्रो नै रहृयो ।
तपाईं डिलाशैनी गाउँपालिकाको अध्यक्ष भएर आएपछिका मुख्य उपलब्धि के-के भएका छन् ?
हामीले जनताहरूका मुलभूत आवश्यकताहरू शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, बिजुलीलगायत विकास निर्माणका कामहरू गरिरहेका छौँ । त्यसमध्ये पनि सुशासन कायम गर्ने कुरा र जनताहरूलाई स्थानीय सरकार उनीहरूकै सरकार हो भन्ने अनुभूति दिनेगरी सेवा प्रवाहलाई जनमुखी बनाउने तरिकाले काम भइरहेको छ । गाउँपालिकाको वडा नम्बर ६ पूर्णरूपमा विद्युतीकरण भइसकेको छ भने ५ नम्बरमा एक/दुई टोलबाहेक अरू टोलमा विद्युत्को राष्ट्रिय प्रशारण लाइन विस्तार भइसकेको छ र अन्य बाँकी रहेका वडाहरूमा विद्युतीकरणको काम तीव्र गतिमा चलिरहेको छ । त्यसैगरी पालिकाको प्रस्तावित १० शैय्याको अस्पतालबाट एमबिबिएस डाक्टरद्वारा उपलब्ध हुने सेवाहरू नागरिकहरूलाई दिन सुरु गरेको छौँ । शिक्षामा गुणस्तरीयताको खोजीका लागि पालिका भित्रका सामुदायिक विद्यालयमा आवश्यक भौतिक पूर्वाधार निर्माणदेखि लिएर त्यो वातावरण तयार पारेका छौं । र, पालिकाको केन्द्रको बिषयमा नागरीकहरूमा अन्योलता भएको बेला हामीले वडा नम्बर ७ को धामीगाउँबाट सेवा दिन सफल भयौँ ।
नीति तथा कार्यक्रम र बजेट निर्माण क्रममा के-के कुराहरूलाई प्राथमिकता दिनुभएको छ ?
प्रत्येक घरघरमा शुद्ध खानेपानीका धाराहरू निर्माण, अँध्यारा बस्तीहरूलाई उज्यालो बनाउने र गाउँपालिकाका सात ओटै वडाहरूका नागरिकहरूले पालिकाको केन्द्रसम्म सडकको पहुँच पुर्याउने र भएका सडकहरूको स्तरोन्नति गर्ने काम गरिरहेका छौँ । सामुदायिक विद्यालयको गुणस्तर सुधार, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, रोजगारीका अवसरहरू सिर्जना र पर्यटन प्रवद्र्धन गर्ने कुराहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । बाल विवाह, छाउपडी प्रथा, छुवाछुत विभेदजस्ता सामाजिक हानिकारक अभ्यासहरूको अन्त्य गर्नेगरी भौतिक पूर्वाधार निर्माणसँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ । जहाँ असमानता छ, विकास हुन सकेको छैन ती ठाउँहरूमा राज्यको पहुँच पुग्ने गरी सबैलाई एकै सूत्रमा बाँध्ने गरी गाउँपालिकाले काम गरिरहेको छ ।
गाउँपालिकामा काम गर्दै जाँदा के-के चुनौतीहरूको सामना गरिरहनु भएको छ ?
पहिलो कुरा त पर्याप्त जनशक्ति छैन । लामो समयदेखि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छ । स्थानीय सकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी उपलब्ध गराउने व्यवस्था गरे पनि त्यसको अभाव हाम्रो पालिकाले झेल्दै आइरहेको छ । यद्यपि, सीमित स्रोत साधन र जनशक्तिका बीच पनि जनताहरूका असमिति आकांक्षाहरू पूरा गर्नुपर्ने हुन्छ । त्यही नै प्रमुख चुनौती हो जस्तो लाग्छ । तथापि, जनताहरूका अधिकांश चाहना पूरा गर्ने गरी काम गरिरहेका छौँ ।
तपाईं स्वतन्त्र उम्मेदवारबाट निर्वाचित भएको जनप्रतिनिधि हो, प्रदेश र संघ सरकारबाट कसरी सहयोग पाइरहनु भएको छ ?
प्रदेश तथा संघ सरकार एवं सोका प्रतिनिधिहरूको ऐन नियम कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी हो । तर, यसको साटो उनीहरू राजनीतिक दल विशेषका योजनाहरू कार्यान्वयन गराउने व्यस्त हुने गरेको हामीले अनुभूति गरेका छौँ । बजेट विनियोजन र योजना कार्यान्वयनको सन्दर्भमा राजनीतिक दलगत, क्षेत्रगत व्यक्ति विशेष प्राथमिकतामा पर्ने तर हामीले पालिकामार्फत सिफारिस गरेका योजनाहरू समावेश नहुँदा माथिल्लो तहको सरकारबाट सहयोग प्राप्त गरेका छौँ भनेर त कसरी भन्ने ? पहिरोका कारण स्थानीयहरूले विस्थापित हुनुपरेको छ । एकीकृत बस्ती व्यस्थापनका लागि प्रदेश र संघ सरकार संघ कार्यपालिकाबाट निर्णय गरी पटक–पटक पठाउँदासमेत योजनाहरू आएनन् । यस्ता उदाहरण थुप्रै छन्, समग्रमा माथिल्लो सरकारबाट जति सहयोग पाउन पर्ने त्यति पाउन नसकेको हामीले अनुभूति गरेका छौँ ।
अन्त्यमा, तपाईंको कार्यकालमा डिलाशैनी गाउँपालिका कस्तो बन्छ ?
सम्रगमा यहाँका स्थानीय नागरिक विद्युत्, स्वच्छ खानेपानी, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुग्नेछन् । सुशासन कायम गरी नागरिकहरूमा सकरात्मक सन्देश प्रवाह हुने गरी काम गर्छौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच