बीपीका कायममुकायम उपकूलपति कार्कीलाई कारबाही गरिदिन स्वास्थ्यमन्त्रीलाई धरानका मेयर साम्पाङको पत्र

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकूलपति प्रा. डा. प्रल्हाद कार्कीलाई कारबाही गरिदिन माग गर्दै धरान उपमहानगरका मेयर हर्कराज राई ( साम्पाङ) ले स्वास्थ्यमन्त्रीलाई पत्र लेख्नुभएको छ ।

प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई कारबाही गरेको, आन्दोलनले ओपीडी बन्द भएको अवस्थामा आफू लुकीछिपी बसेको उपकूलपति कार्कीलाई मेयर साम्पाङले आरोप लगाउनु भएकाे छ ।

पत्रमार्फत स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सहयोग माग्दै मेयर साम्पाङले डा. कार्कीलाई तत्काल उपस्थित गराई आवश्यक कारबाही अघि बढाइदिन आग्रह गर्नुभएको छ ।

कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले कार्यकारणी समिति (कास) को बैठक डाक्न नसकेको शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्न नसकेको मेयर साम्पाङको आरोप छ ।

का.मु. उपकुलपतिको सम्पूर्ण अधिकार फिर्ता लिएको, आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको जस्ता अराजक गतिविधि गर्दै आएको हुँदा हाल उक्त विषयहरुलाई लिएर प्रतिष्ठानमा दिनहु आन्दोलन भई स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ओपिडी बन्द भई विरामीको उपचार प्रभावित भएको उहाँले बताउनु भएको छ ।

मेयर साम्पाङले कार्कीलाई तुरुन्त उपस्थित गराई हाल देखिएको विद्यमान समस्याको हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताललाई निकास दिनका लागि आवश्यक कार्वाही अघि बढाईदिन पत्रमार्फत अनुरोध गर्नुभएको छ ।

पछिल्लो केही दिनदेखि बीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीले केही माग राखेर आन्दोलन गरिरहेका छन् । मेयर साम्पाङले हिजै कार्कीको कार्यकक्षमा आफैँ पुगेर ताला समेत लगाउनु भएको थियो ।

तालाबन्दीपछि मेयर साम्पाङले राजीनामा नदिए घिसारेर निकाल्ने चेतावनी समेत दिनुभएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?