पछिल्ला वर्षहरूमा विभिन्न व्यक्ति, संस्था तथा कम्पनीहरूको स्वार्थमा पवित्र धामहरूलाई विवादमा तान्ने गरिएको छ । पछिल्लो उदाहरण भगवान गौतम बुद्धको समाधिस्थल रामग्राममा निजी कम्पनी स्थापना हुन लागेको विषयलाई लिन सकिन्छ । गौतम बुद्ध लुम्बिनीको कपिलवस्तुमा जन्मिएका र युवावयमा घरबार त्यागेर भारतको गयामा बसेर बुद्धत्व अथवा ज्ञान प्राप्त गरेका थिए । उनी एकजना शान्तिप्रिय व्यक्ति थिए । नियतबस उनी जन्मिएको र ज्ञान प्राप्त गरेको ठाउँलाई विवादमा तान्ने प्रयास भइरहेको छ । विशेषगरी छिमेकी मित्रराष्ट्र भारतले बुद्धका बारेमा अनेकौं भ्रम सिर्जना गर्दै आएको छ र विदेशी राष्ट्रहरूमा बुद्ध भारतमा जन्मिएका हुन् भनेर प्रचार गर्दै आएको छ ।
नेपालको सीमापारि कपिलवस्तु नामको स्थान खडा गरेर गौतम बुद्ध जन्मिएको ठाउँ यही हो भनेर प्रचारप्रसार गर्ने गरेको छ । जसले गर्दा बोल्ने र हल्ला गर्नेको प्रचार धेरै हुन पुगेकाले केही देशले इतिहासको अध्ययन नगरी भारतको कुरा पत्याएर गौतम बुद्धको जन्मभूमिका बारेमा गलत कुरा पढिरहेका छन् । भारतको राष्ट्रिय स्वार्थ वा बेइमानी हो । सही कुरालाई अनेकौं प्रमाण दिएर सावित गरिरहनु आवश्यक छैन । नेपालले यस विषयमा धेरै प्रचारप्रसार गर्न सकेको छैन । बुद्ध जन्मस्थानलाई अझै बढी प्रचारप्रसार गर्नसके नेपालले बढी लाभ लिनसक्ने निर्विवाद हो ।
विदेशले हामीसँग भएको महत्वपूर्ण कुरा आफ्नो हो भनेर दाबी गर्नु हामीले हाम्रा आफ्ना विषयवस्तुको महत्वको प्रचार गर्न नसक्नु हो । अन्यत्रबाट त हाम्रो सम्पदालाई आफ्नो हो भन्ने दाबी गरिएको दुष्प्रयासको नकारात्मक प्रभाव परिरहेकै छ, आफैंभित्र यस्ता केही असहज सन्दर्भलाई बेलाबेलामा अघि सार्ने गरिएको छ । हालको विवाद डा.ल्हारक्याल लामाको लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्तिपछि बुद्धको समाधिस्थल रामग्राममा निजी कम्पनी स्थापनाका लागि अनुमति दिएको सन्दर्भ हो ।
भगवान बुद्ध लामो समयसम्म भारतमा बसेर तपस्या गरी गयामा बोध प्राप्त गरेका हुन्, त्यस ठाउँको नामै बोधिगया रहन गएको हो । उनी जन्मिएका, हुर्किएका, विवाह बन्धनमा बाँधिएका र छोरो जन्मदासम्म बसेका, महापरिनिर्वाणपछि समाधिस्थ स्थान सबै नेपालमै छन् । ऐतिहासिक पौराणिक ठाउँहरूको संरक्षण हुनु आवश्यक छ तर त्यस्ता ठाउँलाई विवादमा तान्ने प्रयास हुनु दुःखद् हो । ल्हारक्याल लामा बेलाबेलामा विवादमा आइरहने नाम हो तर उहाँलाई पटक-पटक उच्च पदहरूमा लैजाने गरिएको छ । यसको जवाफ सजिलै दिन नसकिएला तर सत्तासीनहरूको निकटमा रहन सक्ने र त्यसका लागि उहाँहरूलाई खुशी पार्नसक्ने सामथ्र्य उहाँमा रहेका कारण पटक-पटक महत्वपूर्ण पदमा पुग्न सफल बन्नुभएको हो ।
बुद्धको जन्मस्थल लुम्बिनीको केही प्रचारप्रसार भएको छ । उनको मावली गाउँ कुशीनगरका साथै हालै विवादमा आएको उनको समाधिस्थल रामग्रामलगायत ठाउँको यथोचित प्रचारप्रसार हुनसकेको छैन र त्यसको प्रयास पर्याप्त हुनसकेको छैन । नेपालका राजनीतिककर्मी जहिल्यै सत्ता र स्वार्थकापछि लाग्ने गरेकाले बेलाबेलामा विवादमा परिरहन्छन् । ल्हारक्याल लामा यसपटक मात्र विवादित बन्न पुग्नुभएको होइन दोहोर्याई/तेहर्याई विभिन्न पदमा ल्याउनुको कारण के हुनसक्छ ? त्यसको जवाफ केही थोरै नेताहरूलाई थाहा होला ।
ऐतिहासिक पौराणिक महत्वका ठाउँहरू निजी क्षेत्रलाई लिजमा दिने काम पूर्ववर्ती सरकारले पनि गर्दै आएका थिए । यती र ओम्नी कम्पनीहरूलाई केही ठाउँ सय वर्ष लिजमा दिने काम भएको थियो । विरोध त व्यापम भयो तर काग कराइरहन्छ पिना सुकिरहन्छ भने झैँ सरकराले विरोधका आवाज सुन्ने गरेको छैन । बतास समूहलाई पनि नारायणहिटीभित्रै रेष्टुरेण्ट चलाउने अनुमति दिएको थियो तर व्यापक विरोधपछि त्यो सम्झौता निष्क्रिय भयो । हाल चर्चामा आएको रामग्रामको लिज प्रकरण यस्तै नवीनतम् संस्करण हो । तथापि मन्त्रालयलाई नै नटेरी यो लुम्बिनी विकास कोषको उपाध्यक्षको संलग्नतामा अघि सारिएको योजना भनिएको छ ।
त्यसो हो भने पनि सार्वजनिक भइसक्यो, यसलाई अघि बढ्नबाट रोक्नुपर्छ । पहिलो कुरा त यस्ता ठाउँ कुनै व्यक्ति होस् वा कम्पनी त्यहाँ स्थापना हुन दिनै हुँदैन । दोस्रो कहिँ कतै समान्य स्थानमा पनि शताब्दी लामो सम्झौता गर्नु उचित हुँदैन । छिटो बंशवृद्धि हुँदा त सय वर्षमा पाँच पुस्ताअगाडि बढिसकेको हुन्छ । त्यसरी सम्झौता गरिएको ठाउँ तिनका सन्ततिहरूको अधिनस्ता हुन पुग्छ । राष्ट्रको सम्पत्तिको निजीकरण गर्नु सर्वथा अमान्य हुनुपर्छ । रामग्रामको सम्झौताको काम रोकिनुपर्छ । ल्यारक्याल लामाले भनेजसरी काम नभएको भए त त्यो प्रशंसनीय हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच