व्यवस्था परिवर्तनको आन्दोलनमा राप्रपा

कृष्ण भुसाल
Read Time = 8 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशव्यापी आन्दोलन गर्दै छ । आज (बुधबार) देखि काठमाडौंसहित ७४ जिल्लामै प्रदर्शन गर्ने तयारी राप्रपाले गरेको हो । बुधबार काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई मागपत्र पेस गर्ने तयारी राप्रपाको छ । राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर फागुन ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाले गत पुस ३ गते केन्द्रीय समितिबाट आन्दोलनमा जाने निर्णय गरेको थियो । राजसंस्था, पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र पुनस्र्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने राप्रपाको निर्णय थियो ।

हाम्रो आन्दोलनलाई ख्यालठट्टा नसोचियोस् : तामाङ
राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले पार्टीले बुधबारदेखि सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताउनुभएको छ । मंंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गर्नुभयो । ‘यो आन्दोलन सामान्य ख्याल ठट्टाको आन्दोलन होइन । यो सरकार परिवर्तन गर्ने, महँगीको विरोध गर्ने, के के विरोध गर्ने होइन । हामीले व्यवस्था र अवस्था परिवर्तन गर्ने आन्दोलन हो । सबैले यसमा सोचेर अघि बढ्नुपर्छ । यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो । हामी भद्र आन्दोलन गर्ने हो,’ उपाध्यक्ष तामाङले भन्नुभयो । उहाँले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तन, महँगी नियन्त्रण जस्तो आन्दोलन नभएको पनि जिकिर गर्नुभयो ।

अहिले नगरे कहिले गर्ने आन्दोलन ? : जबरा
राप्रपाका नेता एवं सांसद धवलशमशेर जबराले अहिले आन्दोलन नगरे कहिले गर्ने ? भन्दै प्रश्न गर्नुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राज्य पूर्णरूपले असफल भइसकेकाले अहिले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नगरे कहिले गर्ने आन्दोलन ?, आन्दोलन अहिले सफल भएन भने कहिले होला सफल ? राज्य पूर्णरूपले असफल भइसक्यो । राज्य र यो व्यवस्था चलाउने पात्रहरूलाई परिवर्तन गर्नका लागि यो आन्दोलन हो ।’ उहाँले व्यवस्था र व्यवस्था चलाउने पात्रहरूलाई परिवर्तन गर्नको लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो । नेता जबराले आन्दोलन आफूहरूका लक्ष्य प्राप्ति भएपछि मात्रै रोकिने जिकिर गर्नुभयो ।

एउटै मोर्चा बनाउन कमल थापाको अपिल
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रको लागि एउटै मोर्चा बनाएर जानुको विकल्प नभएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत थापाले १७ वर्षसम्म एक्लाएक्लै अनुनय विनय गरेकोले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापना नभएको उल्लेख गर्दै सबै राष्ट्रवादी शक्ति एक हुनुको विकल्प नभएको उल्लेख गर्नुभएको हो । ‘भ्रष्ट शासकसमक्ष निवेदन दिएर, ज्ञापनपत्र बुझाएर, अनुनय विनय गरेर राजसंस्था र हिन्दूराष्ट्र स्थापना हुँदैन, हुन सक्दैन । गत १७ वर्ष हामीले त्यो अभ्यास गरिसकेका छौँ । त्यो प्रयास काम लागेन । अब एक्लै एक्लै वा आ–आफ्नो ढंगबाट आन्दोलन गरौँ भन्नु प्रकारान्तरले भ्रष्ट व्यवस्थालाई निरन्तरता दिनु हो । राजसंस्था र हिन्दूराष्ट्र स्थापनाको आन्दोलनलाई तुहाउने काम गर्छ । त्यसैले सबै राष्ट्रवादीहरूले एक ठाउँमा उभिएर, एउटै मोर्चा बनाएर जानुपर्छ, अर्को विकल्प छैन,’ उहाँले भन्नुभयो ।

मिटरब्याज र लघुवित्त पीडितको ‘मार्चपास’
मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोलीले मंगलबार काठमाडौंमा मार्चपास गरेको छ । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले लघुवित्त तथा वित्तीय शोषण विरुद्धमा काठमाडौंको रिङरोडमा मार्चपास गरेका हुन् । नेपालका विभिन्न क्षेत्रबाट पैदल उनीहरू काठमाडौं आएका हुन् । उनीहरूले ‘सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्, सामूहिक ऋण मिनाहा गर्, समाजवादी अर्थतन्त्रको विकास गर्, कालोसूची तथा धितो लिलाम फुकुवा गर्, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्’ लगायतका नौ बुँदे माग अघि सारेका छन् । तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाए पनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरूको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *