काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अर्को विपक्षी दल राप्रपाका सांसदहरूले संघीय संसद् प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरूले विरोध जनाएका हुन् । बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए । त्यसक्रममा बोल्नुभएका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले सरकारमा रहेका मन्त्रीहरूमाथि नैतिक प्रश्न उठाउँदै विरोध जनाउनुभयो । सचिव भट्टराईले मन्त्रीहरूको समेत राजीनामा माग गर्नुभयो ।
बालकुमारी घटना जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि नैतिक प्रश्न उठाएको भन्दै एमालेले राजीनामा माग गरेको हो । सांसद भट्टराईले जाँचबुझ आयोगको प्रतिवेदन संसद्मा पेश गर्नसमेत माग गर्दै भन्नुभयो, ‘भौतिक पूर्वाधार मन्त्रीको लापरबाही, उहाँ जसरी त्यो बाटोमा जानुभयो र स्वयं सरकारले बनाएको आयोग, छानविन समिति मात्रै होइन । आयोगले दोषी छ भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा नैतिक हिसाबले हुँदै हुँदैन ।’
यस घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार संसद्मा भएको प्रश्नोत्तरी क्रममा बालकुमारी घटनामा दुई युवाको मृत्यु नभई हत्या भएको भन्ने शब्द चयन गरेको हुँदा सरकार आफैँले जिम्मेवारी लिनुपर्ने जिकिर गर्दै भट्टराईले भन्नुभयो, ‘बालकुमारी घटनामा दुईजना युवाको हत्या भयो भनेर प्रधानमन्त्री स्वयंले भन्नुभएको छ । यदि बालकुमारी घटनामा हत्या भएको हो भने कसले ग-यो त, नागरिक तहमा झडप भएर हत्या भएको होइन । सुरक्षाकर्मीको गोलीबाट बालकुमारीमा दुईजना युवाको हत्या भएको हो ।
यसमा सिंगो सरकार जिम्मेवार छ ।’ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि हत्याको नैतिक जिम्मेवारी लिनुपर्ने उहाँको तर्क छ । त्यसैगरी, टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पुगेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बयान दिएको भन्दै एमालेले राजीनामा माग गरेको छ । सांसद भट्टराईले बयान नै प्रभावित हुनसक्ने गरी मन्त्री बस्नेतले सरकारी पदको दुरुपयोग गरेको टिप्पणी गर्दै भन्नुभयो, ‘झण्डा हल्लाएर अख्तियारको अफिसमा बयान दिन गएका मन्त्री सम्भवतःउहाँ पहिलो होला ।
अख्तियारले बयान लिएको छ भने त्यो मन्त्री फेरि पदमा बहाल हुने कुरा हामीलाई किमार्थ स्वीकार्य छैन । यो नैतिक प्रश्न हो । छानविन हुँदै जाला तर बहालवाला मन्त्री झण्डा हल्लाएर अख्तियारमा बयान दिन जाने अनि छानविनलाई पनि अगाडि बढाउने हो भने छानविन प्रक्रिया पनि प्रभावित हुन्छ । त्यसकारण निष्पक्ष ढंगले अगाडि बढाउन आजका स्वास्थ्य मन्त्रीजी पदमा बस्न मिल्दैन उहाँको राजीनामा हाम्रो भनाइ हो ।’ त्यसैगरी, एमालेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पनि राजीनामा माग गरेको छ । लुम्बिनीको रामग्रामलाई ९९ वर्षका लागि लिजमा दिएको भन्दै भट्टराईले किरातीको राजीनामा माग गर्नुभएको हो ।
प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित दलहरूले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो । नेकपा एमाले, राप्रपा, रास्वपालगायत दलका सांसदहरूले विरोध जनाएर अवरोध गरेपछि बैठक स्थगित भएको हो । सांसदहरूले बालकुमारी घटना, टेरामक्सलगायत घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफसमेत माग गरेका छन् । तीन मन्त्रीको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ नदिँदासम्म विरोधका कार्यक्रम जारी रहने एमाले सांसद योगेश भट्टराईको भनाइ छ । एमालेले पछिल्ला दिनमा संसद्मा तीन मन्त्रीको राजीनामा माग गर्दै आएको छ ।
गणपूरक संख्या नपु¥याउन बैठक छाडेको आरोप लगाएपछि संसद्मा हंगामा
सत्तारूढ सांसदले गणपूरक संख्या नपु¥याउन विपक्षी सांसदहरू बाहिर गएको आरोप लगाएपछि संसद्मा विवाद भएको छ । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले शुक्रबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेस हुने बेलामा विपक्षी दलका सांसदहरू बाहिर गएको आरोप लगाउनुभएको थियो । लगत्तै विपक्षी सांसदहरूले उठेर विरोध जनाए ।
सत्तारूढ सांसदहरू पनि प्रतिवादमा उत्रिएपछि संसद्मा हल्लाखल्ला भयो । कांग्रेस सांसद केसीले आफूले आरोप लगाउन नचाहेको, तर आँखाले देखेको बोलेको बताउनुभयो । त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षमाथि हिलो छ्यापेको आरोप लगाउनुुभयो । आफूहरूका कारण विधेयक पास गर्न कहाँ बाधा पुग्यो ? भन्ने प्रश्न गर्दै गिरीले भन्नुभयो, ‘बहुमतको सरकार हो, संसद्का बहुमत सदस्यहरूको विश्वास छ भने आफूले पेस गरेको विधेयक पास गर्ने आँट सरकारसँग छ कि छैन ? छैन भने नैतिक रूपले राजीनामा दिनुपर्छ ।’ रास्वपाका सांसद विराजभक्त श्रेष्ठले संसद्को क्यालेण्डर हेरेको हो कि होइन ? भनेर प्रश्न गर्नुभयो ।
राजीनामा दिएर सडकमा जान सत्तारूढ सांसदको चुनौती
सत्तारूढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी सांसदहरूलाई संसद्मा हुलहुज्जत नगर्न आग्रह गर्नुभएको छ । संसद्मा सापकोटाभन्दा अगाडि बोल्नुभएका विपक्षी दल राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद् अवरुद्ध गर्ने चेतावनी दिनुभएको थियो । दुई जनाको मृत्यु भएको १३ पुसको बालकुमारी घटनालाई प्रधानमन्त्री स्वयंले हत्या भनेको उल्लेख गर्दै उहाँले हत्या भए सम्बन्धित मन्त्री र प्रहरीलाई कारबाही गर्न माग गर्नुभएको थियो ।
शुक्रबारको बैठकमा राप्रपा सांसद शाहीले यसबारे प्रष्ट जवाफ नआए सदन चल्न नदिने चेतावनी दिनुभयो । त्यसपछाडि बोल्नुभएका माओवादी सांसद सापकोटाले प्रतिवाद गर्दै भन्नुभयो, ‘भर्खर माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो, संसद् चल्दैन, नचलाउनुस् केही छैन । संसद् बन्द गर्न, अराजकता प्रदर्शन गर्न, हुलहुज्जत गर्न, मनलागी गर्न जनताबाट निर्वाचित भएर आएको हो ? तपाईँहरू शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ, तपाईँहरूलाई यो शासन व्यवस्था गलत छ भन्ने लाग्दछ भने सांसदको पदबाट राजीनामा गरेर सडकमा जानुस् ।’
मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न माग
नेकपा एमालेले मिटरब्याज पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमालेका सांसद योगेश भट्टराईले मिटरब्याज पीडितको मागमा सरकार गम्भीर नभएको आरोपसमेत लगाउँदै भन्नुभयो, ‘किन मिटरब्याज पीडितको माग सम्बोधन भएन ?’
मिटरब्याजको नाममा जनता ठग्ने सत्तारूढ गठबन्धन निकटका व्यक्तिहरूनै भएको आरोप लगाउँदै भट्टराईले भन्नुभयो, ‘मिटरब्याज पीडितहरूको माग सम्बोधन नभएपछि काठमाडौं आउनुभएको छ । मधेशमा मात्रै नभई देशैभरि पनि अधिकांश ठाउँमा जनतालाई ठगेका छन् तिनीहरू अहिलेका गठबन्धनसँग नजिकका मान्छे छन् त्यसकारण उनीहरूमाथि कारबाही हुँदैन । अनि कारबाहीको नाटक देखाइन्छ । लघुवित्तको अवस्था त्यही छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच