मिटरव्याज पीडितहरूले राजधानी काठमाडौंका सडकमा प्रारम्भ विरोध कार्यक्रम प्रतिदिन प्रभावकारी भएको छ । राजधानी बाहिरका जिल्ला-जिल्लाबाट महिना दिनजस्तो पैदल हिँडेर यहाँ आई विरोध कार्यक्रममा उनीहरू संलग्न भएका हुन् । सरकारले मिटरव्याजको गम्भीर समस्या समाधान गर्न संवाद गरिरहेको छ र आसा गरौं यो सम्वाद सकेसम्म चाँडो सकारात्मक र परिणाममुखी भएर टुंगिनेछ । सम्वादबाट उनीहरूका समस्याको समाधानमात्रै होइन स्थायी समाधान नीतिसमेत तय हुनेछ भन्ने सुनिश्चितता हुन जरुरी छ ।
यतिखेर राजधानीका सडकहरू बाहिरबाट आएका मिटरव्याज पीडितहरूले भरिएका छन् । जताततै नारा लागेको सुनिन्छ र जुलुसहरू भइरेका छन् । थाल ठटाउँदै नारा लगाएर जुलुसमा संलग्न भएका मानिसहरू हेर्दा ती प्रायः मधेसतराईबाट आएका जस्ता देखिन्छन् । यसबाट मिटरव्याजको समस्या तराईमा अझै बढिरहेछ भन्ने पुष्टि हुनआउँछ । जहाँका भए पनि यस्ता समस्या नेपाली जनताका समस्या हुन्, यिनलाई भिन्न आँखाले हेर्नुहुँदैन ।
त्यसमा पनि मिटरव्यज पीडितहरूको पंक्तिमा महिलाहरूको अत्यधिक सहभागिताले कि त ती वास्तविक पीडित नै हुन् भन्ने पुष्टि हुन्छ कि चाहिँ गाउँका सर्वसाधारणलाई टाठाबाठा र राजनीति गर्नेहरूले विरोधमा उतारेका हुन् भन्ने अनुमान गर्नुपर्ने हुन्छ । मिटर व्याजको समस्यालाई वास्तवमा एकतर्फी आँखाले मात्र हेर्नुहुँदैन । यसलाई दुवै पक्षबाट केलाएर निचोड निकाली समाधान खोज्नुपर्ने हुन्छ । पहिलो कुरा मिटरव्याज पीडित भनिएकाहरू वास्तवमै पीडित हुन् कि होइनन् त्यसको निष्कर्ष निकाल्नुपर्ने हुन्छ । हल्लाका भरमा कसैको बहकाउमा परेर आएका मात्र हुन् कि भन्ने निचोड ननिकाली त्यसको समाधान खोज्न सकिँदैन र हचुवाका भरमा समाधान खोज्ने प्रयास गर्नु हुँदैन । यसो गरियो भने यसको दीर्घकालीन समाधान हुन सक्दैन ।
अर्कातिर तिनलाई यो समस्या केही होइन, यी मानिसहरू कसैले प्रायोजन गरेर ल्याएको हो, यी वास्तविक पीडित होइनन् भनेर नजरअन्दाज गर्नु पनि हुँदैन । त्यस अर्थमा देशमा देखिन आइरहेका अनेकौं समस्या जस्तै यो समस्या पनि एउटा प्रमुख समस्या हो भनेर हेर्नुपर्ने हुन्छ । यो समस्या अहिलेमात्र आएको होइन यसपहिले पनि पटक–पटक देखापरेर सम्झौतासमेत भइसकेको समस्या हो यो । सम्झौता भएर पनि किन यसको निराकरण हुनसकेन त भन्ने दृष्टिकोणबाट यसलाई हेरिनुपर्ने हुन्छ । हाम्रोमा सबैभन्दा ठूलो समस्याका रूपमा कुनै पनि विषयमा सम्झौता चाहिँ हुने तर व्यवहारमा त्यसको कार्यान्वयन नहुने रोग व्याप्त छ । यस क्षेत्रमा यो दोहोरिइरहेको छ । यही रोग मिटरव्याज पीडितहरूका सम्बन्धमा पनि लागू भएको छ ।
नत्र पहिले पनि आइसकेका र सम्झौता भइसकेका यस्ता समस्या किन पटक-पटक बल्झिरहन्छन् त ? यो गम्भीर प्रश्न हो । उखु किसानको समस्या यसको स्वरूपसँग मिल्ने खालको छ । हाम्रोमा सबैभन्दा ठूलो कमजोरी नै बलेको आगो ताप्ने प्रवृत्ति हो । यस्ता पीडित र पीडकको सम्झौता गराएर यस्ता समस्याको हल गराउनुपर्ने जिम्मेवारीमा बसेकाहरू मालिक वा पीडकका पक्षमा लागिदिँदा समस्या समाधानको सट्टा अझै संग्रालिएर जान थाल्छन् । यसो नहुने हो भने किन त एक वा दुई पटक गरिएका सम्झौताहरूले समस्याको निराकरण गर्न नसकेको ? पटक-पटक तिनै समस्याहरू दोहोरिएर र तेहरिएर किन देखा परिरहेका छन् त ? यसतर्फ गम्भीर भएर सोच्नु आवश्यक छ । यस्ता समस्याको समाधानमा पुग्न सबैभन्दा पहिले समस्याको जरो पत्ता लगाउनुपर्छ ।
गाउँ-गाउँमा सामान्य अनपढ मानिसहरूलाई तमसुक गराएर ऋण दिने र त्यसमा शून्य थप्ने साहुमहाजनहरूले समयमा व्याज र सावाँ तिर्न नसक्दा व्याजको पनि व्याज लिएका र सावाँव्याज जोडेर केही वर्षपछि तिनको घरबास उठाएका घटना हुने गर्थे । सामन्ती अवशेषका रूपमा गाउँघर लामो समयदेखि आतंकित भइरहेको थियो । समयले यसमा परिवर्तन ल्याउँदै गयो, कानुन बन्दै गए, वित्तीय संस्थाहरूले आर्थिक कारोबार सुरु गरे । पछिल्लो चरणमा सामन्तहरूको बिल्ला लगाउँदै महाजनहरूको तमसुक बटुलेर जलाउने राजनीतिक पार्टीका नेताहरू हाल नेतृत्वमा हुनुहुन्छ । उहाँहरूबाट यस्ता समस्याको निराकरणको प्रयास हुनुपर्ने हो तर भइरहेको छैन र पटक-पटक दोहोरिएर समस्या आइरहेका छन् । पीडकलाई उसले गरेको अपराध बमोजिमको सजाय गरी पीडितलाई न्याय दिन सरकारपछि पर्नु हुँदैन । पछिल्लो चरणको सशस्त्र विद्रोह पनि यस्तै समास्याबाट सामान्य नागरिकहरूलाई मुक्ति दिनका लागि हो भनिएको थियो तर खोइ त कथनी र करनीमा समानता ?
सरकारमै संलग्न पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि किसानका समस्या राष्ट्रका प्रमुख समस्या हुन् र यिनको समाधान सबैभन्दा पहिले हुनुपर्छ भनेर आन्दोलनकारीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउनुभयो । यसतर्फ पनि सरकारले सोच्नैपर्छ । सरकार र मिटरव्याज पीडितहरूबीच यस्तो सम्झौता होस् जसले यस विषयको समाधान गर्न सकोस् । त्यसपछि भने यस्ता समस्या पुनः दोहोरिएर कहिल्यै नदेखिऊन् । पीडकहरूसँगका जाली तमसुक संकलन गरेर तिनलाई नष्ट गर्ने र तिनले अवाञ्छित ढंगले असुलेको रकम फिर्ता गरिदिने हो भने यस कदमलाई पनि क्रान्तिकारी कदमका रूपमा चित्रण गर्न सकिन्छ तर आपूmलाई चाहिँदा ऋण लिने र तिर्ने बेलामा नक्कली रुवाइ गर्ने कोही जाली पीडितहरू रहेछन् भने तिनलाई पहिचान गरी कारबाही गर्न सरकार पछि पर्नु हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच