
दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी नेतृत्वले नै शान्तिको महत्वलाई गहिरो गरी बुझ्ने भएकाले त्यसलाई मनन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गौरव गर्नुपर्छ । नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्व गर्ने अवसर प्राप्त गर्यौँ । त्यसैले मैले भन्ने गरेको छु, जसले क्रान्तिको नेतृत्व गर्दछ, शान्तिको आवश्यकता र महत्व पनि त्यसले नै सबैभन्दा बढी बुझ्न सक्छ ।’
प्रधानमन्त्री प्रचण्डले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको बताउनुभयो । ‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त लुम्बिनी नै हो ।’
लुम्बिनीको विश्वव्यापी महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धभूमिको ‘ब्राण्डिङ’ गर्ने, पर्यटनमैत्री नीति र कानुनहरू निर्माण गर्ने, पर्यटन पूर्वाधार विकास गर्ने र पर्यटनमार्फत प्रदेशको विकास र समृद्धिमा गुणात्मक फड्को हान्नेतर्फ सोच्नुपर्नेमा जोड दिनुभयो । आफू तेस्रोपटक सरकारको नेतृत्वमा आएपश्चात् संघीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्तरप्रदेश समन्वय परिषद्को बैठक गरी संघीयता कार्यान्वयनमा गति दिइएको बताउनुभयो ।
प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्वपूर्ण सेतु
प्रधानमन्त्री प्रचण्डले संघीय प्रणालीमा प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्वपूर्ण सम्बन्ध सेतु भएको बताउनुभएको छ । अधिवेशनलाई सम्बोधन गर्दै उहाँले तीन तहको संघीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएर मात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समुन्नत बनाउन सकिनेमा आफू प्रष्ट रहेको बताउनुभयो । संघीयताका नवीन र असल अभ्यासहरूको अनुकरण र अवलम्बन गर्दै नेपालले संघीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘नेपालको संघीयता अभ्यास उदाहरणीय बनाउनुपर्छ, त्यसका लागि हामी सबैले अन्तरमनदेखि नै संकल्प गर्न जरुरी छ ।’ लुम्बिनी प्रदेशले विकास, समन्वय, सहकार्य लगायतका विषयमा गरेको योगदानको प्रशंसा गर्दै उहाँले संघीयता कार्यान्वयन र सेवा प्रवाहका दृष्टिले अझै परिश्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले संविधान निर्माणको आठ वर्ष पूरा हुँदासमेत संघीयता कार्यान्वयनमा रुचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको उल्लेख गर्दै आफू त्यसलाई तोड्न लगातार लागिरहेको स्पष्ट पार्नुभयो । प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथम्कदाचित दिइहालेमा पनि ससर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गर्दै उहाँले यसपटक त्यस्तो सोच र परम्परा तोड्ने संकल्प गरिएको र अब तीन करोडभन्दा साना योजनाहरू सिधै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिने बताउनुभयो ।
५२ करोड बढी बौद्धमार्गीहरूको आस्थालाई बुझ्न आवश्यक छ
प्रधानमन्त्री प्रचण्डले विश्वका ५२ करोडभन्दा बढी बौद्धमार्गीहरूको आस्थालाई बुझेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याउनु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १५औँ सभा बैठकलाई शनिबार सम्बोधन गर्दै कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले शैक्षिक क्षेत्र विश्वव्यापीकरणको प्रभावमा परिरहेको समयमा बौद्धमार्गीहरूको आस्थालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । ‘हाम्रो मौलिक दर्शन, संस्कृति, परम्परा, स्रोत साधनको अध्ययन गर्नेतर्फ आधुनिक बजार उत्साहित छैन । त्यसमा बौद्ध दर्शन जस्तो गहन दर्शन पनि प्रभावित छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘विश्वमा ५२ करोड जनसंख्याको आस्थाको विषय बनेको बौद्ध दर्शन त्यसभित्र अन्तर्निहित सामाजिक र दार्शनिक कुराहरू अहिलेको समाजलाई नभई नहुने कुराहरू हुन् । यसलाई विश्वव्यापीकरण गर्नु हामी सबैको साझा दायित्व हो ।’
इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येयताको लागि अनुपम स्रोतको रूपमा रहेको बताउँदै प्रधानमन्त्रीले सांस्कृतिक, धार्मिक, पर्यटन विकासको लागि यो ठूलो अवसर भएको उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच