
काठमाडौं । सत्तापक्ष र प्रुमख प्रतिपक्षबीच राजनीतिक टकराव थप बढ्ने देखिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गएको फागुन २४ गतेदेखि संसद्मा लगातार सहकारी ठगी प्रकरणमा मुछिनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समितिको माग गर्दै आएको छ । आफ्ना मागप्रति सरकार संवेदनशील नभएको भन्दै कांग्रेसले यस बीचमा दुईपटक प्रतिनिधिसभा बैठक अवरुद्ध गरिसकेको छ । कांग्रेस संसदीय छानविन समिति गठनको मागमा थप बलियो हुँदै गएको छ । कांग्रेसको मागप्रति पछिल्ला दिनमा विपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी (लोसपा)ले पनि समर्थन जनाएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपाका सांसद र लोसपाका सांसदहरूले समेत सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गरेका थिए । संसदीय छानविन समिति गठनको विषयमा सत्ता गठबन्धन विभाजित देखिएको छ । गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीले विपक्षी दल कांग्रेसको मागअनुसार सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने धारणा राखेको छ ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहनुभएका सांसद राजेन्द्र पाण्डेले त आफूमाथि विवाद आउँदा पनि पदमै बसिरहनुले गृहमन्त्री रवि लामिछानेको नियतमाथि आशंका उब्जिएको बताउनुभएको छ । सत्ता गठबन्धनकै अर्को घटक जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले पनि सहकारी ठगी प्रकरणको छानविन हुनुपर्ने माग राख्नुभएको छ । यता, सत्तारूढ गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्र भने कुनै पनि हालतमा संसदीय छानविन समिति गठन नगर्ने अडानमा छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार टिकाउन गृहमन्त्री रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्णायक छ । रास्वपा सरकारबाट बाहिरिए वर्तमान सरकार ढल्ने निश्चित छ । त्यसकारण पनि सरकार र सत्ता गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्र गृहमन्त्रीमाथि छानविनको लागि संसदीय छानविन समिति आवश्यक नभएको अडान राख्दै आएका छन् ।
गृहमन्त्री लक्षित कांग्रेसको आरोप राजनीतिक पूर्वाग्रह प्रेरित : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयासस्वरूप कांग्रेसले सहकारीको मुद्दा उठाएर गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारबाट निस्केपछि नेपाली कांग्रेसले पूर्वाग्रही व्यवहार देखाएको आरोप लगाउँदै भन्नुभयो, ‘पहिले हामीसँगै कांग्रेस पनि सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकार छाडेपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।’ बिहीबार बिहान विराटनगर विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक समीकरण भत्काउन कांग्रेसले रविलाई घेराबन्दी गरेको बताउँदै तर त्यो प्रयास सफल नहुने जिकिर गर्दै भन्नुभयो, ‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्दो कुरा होइन । मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग यो ‘केस’ के हो? भनेर सोधेको थिएँ । उहाँहरूले यसमा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, त्यही आधारमा मैले बोलिरहेको छु ।’ प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ । पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल हुँदैन ।’ उहाँले प्रतिनिधि सभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने दाबी गर्नुभयो ।
संसदीय समिति बनाए सरकार छाड्ने रवि लामिछानेको चेतावनी
सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको विषय थप पेचिलो बन्दै गएको छ । सत्तापक्ष र विपक्षी आ-आफ्नो अडानमा टस न मस छन् । सत्ता र प्रतिपक्षमा पेचिलो बनेको यो विषय व्यावहारिक रूपमा ‘वारपार’ लगाउन कठिन नै देखिन्छ । किनभने कांग्रेसले भनेझैँ संसदीय छानविन समिति बनाउने हो भने रास्वपा सरकारबाट बाहिरिने निश्चित नै छ । त्यो अवस्थामा प्रचण्ड नेतृत्वको सरकारको भविष्यसमेत अनिश्चित बन्ने संसदीय गणितले देखाउँछ । यही बुझेर नै सत्ता समीकरणमा रहेका ठूला दल रवि लामिछानेको बचाउमा उत्रिरहेका छन् । सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने र संसदीय समिति गठनबारे उठेका प्रश्नमा सत्ता साझेदार दलका शीर्ष नेतृत्व तहमा पटक–पटक छलफल भएको छ । तर, ती बैठकमा लामिछानेले यदि समिति बनाए आफू सरकारबाट बाहिरिने चेतावनी दिएको जानकारी दिँदै स्रोतले भन्यो, ‘ठिकै छ समिति बनाऔँ, तर समिति बन्ने हो भने रास्वपा सरकारमा बस्दैन, तत्कालै बाहिर निस्कन्छ ।’
कांग्रेस र एमाले दुई दल एकै ठाउँमा उभिएर देशलाई निकास दिनुपर्छ : कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको दाबी गर्नुभएको छ । बिहीबार घोराहीमा आयोजित दाङ कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले भन्नुभयो, ‘देश अहिले संकटमा छ । मैले देश बचाउनकै लागि संसद्मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ । राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिन सक्नुपर्छ । राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकतामा नराखेकै कारण जनतामा निराशा छाएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच