
काठमाडौं । नइ प्रकाशनले विभिन्न क्षेत्रका २२ प्रतिभालाई २०७९ सालको नइ पुरस्कार समर्पण गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाईंले छ दशकअघिदेखि महिलाहरूको स्वास्थ्योपचार, स्वास्थ्य सेवा, जागरण र स्वास्थ्य विकासमा निरन्तर समर्पित प्रसूति विशेषज्ञ प्राडा.सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ समर्पण गर्नुभयो । ताम्रपत्रसहित प्रदान गरिएको उक्त पुरस्कारका साथ एक लाख रुपैयाँ नगद राशि प्रदान गरिएको थियो ।
कार्यक्रमकी मुख्य व्यक्तित्व प्राडा.पाध्येले नेपाली वाङ्मयको श्रीवृद्धि, नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने भारतीय-नेपाली साहित्यकार नव सापकोटालाई दुई लाख रुपैयाँ राशिसहितको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्नुभयो ।
पुरस्कार समर्पण समारोहमा प्राडा.पाध्येले देशविदेशका नौ व्यक्तित्वलाई ताम्रपत्र र जनही एक लाख रुपैयाँ राशिसहितको नइ पुरस्कार समर्पण गर्नुभएको थियो । डा.पाध्येले भारतीय साहित्यकार स्नेहलता राईलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, कूटनीतिज्ञ एवं चिन्तक डा.भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’, शिक्षाविद् प्रा.जर्ज जोनलाई ‘नइ भुपालदुर्गा पुरस्कार’, खेलकुदका क्षेत्रमा योगदानका लागि मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’, चित्रकारिताका लागि कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’, अग्रज पत्रकार हरिहर बिरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, धर्म तथा संस्कृतिमा प्राज्ञिक योगदानका लागि कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’, साहित्यकार श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ र काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको क्षेत्रमा योगदान दिने स्याङ्जाका विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गर्नुभएको थियो ।
त्यस्तै ६० हजार रुपैयाँ नगद राशिसहित ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ हास्य व्यङ्यकर्मी शैलेन्द्र सिम्खडा, ५० हजार रुपैयाँ राशिसहित ‘नइ बुलु शर्मा पुरस्कार’ झापाकी रीमा पाण्डेलाई र २५ हजार रुपैयाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ मिस नेवा नितु डंगोललाई प्रदान गरिएको थियो ।
समारोहमा प्रा.डा.सरस्वती पाध्येले छजना बालबालिकालाई दश हजार रुपैयाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपु बाल पुरस्कार’ समर्पण गर्नुभएको थियो । बालबालिकाहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, संगीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुंगाना र खेलकुदतर्फ आहाना कार्कीलाई पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै सात हजार रुपैयाँ नगद राशिसहित ‘नइ देरुनीखपु कोपिला पुरस्कार’ ऋषिका घिमिरेलाई र पाँच हजार रुपैयाँ राशिसहित ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ चार वर्षीय श्रेस्मी दाहाललाई प्रदान गरिएको थियो । कार्यक्रममा नइ प्रकाशनकी कुलपति प्रसाईं, प्राडा.सरस्वती पाध्ये, श्रीओम श्रेष्ठ तथा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले मन्तव्य राख्नुभएको थियो । उक्त अवसरमा शैलेन्द्र सिम्खडाले व्यंग्य कविता वाचन गर्नुभएको थियो भने पुरस्कृत बालबालिकाहरूले बाध्यवादन तथा नृत्य प्रदर्शन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच