काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १०६३ मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत्को सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने भएको छ । टिबिएममार्फत् भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि प्राधिकरणले उक्त प्रविधिलाई माथिल्लो अरुण र दूधकोशी जलविद्युत्मा पनि प्रयोगमा ल्याउने भएको हो ।
अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको मुख्य सुरुङको लम्बाइ ८.४ किलोमिटर छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर छ । निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत् आयोजनाको सुरुङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थ प्रयोग गरी विस्फोट गराएर हुँदै आएको छ ।
भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि प्राधिकरणले उक्त प्रविधिलाई माथिल्लो अरुण र दूधकोशी जलविद्युतमा पनि प्रयोगमा ल्याउने भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अपर अरुण हाइड्रो-इलेक्ट्रिकका प्रबन्ध-सञ्चालक फणिन्द्रराज जोशी, दूधकाशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङ सम्मिलित टोलीले सुनकोशी मरिण आयोजनाको स्थलगत अवलोकन गरी टिबिएममार्फत् खनिएको सुरुङबारे जानकारी लिएको छ ।
टोलीले टिबिएमको प्राविधिक पक्ष, समस्या तथा चुनौती, भौगर्भिक जटिलता, लागत तथा समय, कामको गुणस्तर, प्रभावकारितालगायतका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग जानकारी लिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सिँचाइका दुर्ई आयोजनाको सुरुङ टिबिएममार्फत् खन्दा समय थोरै लागेको र काम पनि गुणस्तरीय देखिएकाले उक्त प्रविधि ठूला सुरुङ भएका दुर्ई जलविद्युत् आयोजनामा प्रयोगमा ल्याउन लागिएको बताउनुभयो ।
घिसिङले माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको र निर्माणका लागि टेण्डर आहृवान गर्न लागिएकाले भेरी बबई र सुनकोशी मरिणमा टिबिएमबाट सुरुङ खन्दा देखिएका समस्या र अनुभव सम्बोधन गर्ने गरी टेण्डर कागजात तयार गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुनकोशी मरिण डाइभर्सन र दूधकोशीको मुख्य सुरुङको लम्बाइ बराबर भएकाले टिबिएमबाटै खन्ने प्रक्रिया अघि बढाइसकेका छौँ, माथिल्लो अरुणमा टिबिएम पुर्याउन प्रवेश सडक समस्या देखिएको छ, मेसिन पुर्याउन सम्भाव्य देखिएका उक्त आयोजनामा पनि टिबिएम नै प्रयोगमा ल्याइनेछ । एकपटकको लगानीका हिसाबले केही महँगो देखिए तापनि टिबिएममार्फत् सुरुङ खन्दा अन्य प्रवेश सुरुङ निर्माण गर्नुनपर्ने, न्यून वातावरणीय तथा सामाजिक मुद्दा, निर्माणमा लाग्ने कम समयलगायतलाई हिसाब गर्दा टिबिएमको प्रयोग सस्तो र प्रभावकारी नै हुने देखिएको छ ।’
टिबिएममार्फत् सुरुङ निर्माण छिटो सकिने तर अन्य संरचना नसकिने अवस्था आउन नदिन सुरुमै आयोजनाको समग्र व्यवस्थापन गरिनुपर्ने घिसिङको भनाइ थियो ।
मुख्य सुरुङको लम्बाइ १३ किलोमिटर र उक्त सुरुङ खन्न निर्माण गर्नुपर्ने दुर्ईवटा प्रवेश (एडिट) सुरुङको लम्बाइ पाँच किलोमिटर गरी दूधकोशी आयोजनाले कुल १८ किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । टिबिएमबाट खन्दा एडिट सुरुङ बनाउनुपर्दैन । एडिट सुरुङ पुग्न बनाउनुपर्ने करिब सात किलोमिटर प्रवेशमार्ग आवश्यक हुँदैन ।
माथिल्लो अरुण विश्व बैंक र दूधकोशी एसियाली विकास बैंकको नेतृत्वमा लगानी जुटाएर निर्माण अघि बढाउन लागिएको हो । सन् २०१९ को मूल्यमा निर्माण अवधिको ब्याज, मूल्यवृद्धिसहित एक अर्ब ७५ करोड डलर अर्थात् करिब दुई खर्ब १४ अर्ब अनुमानित लागत रहेको माथिल्लो अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाइने प्राधिकरणले जनाएको छ । विश्व बैंकको नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गरिनेछ ।
दूधकोशी आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर अर्थात् करिब दुई खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर र बाँकी स्वपुँजी जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।
एडिबीको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलियतपूर्ण ऋण लगानी हुनेछ । जसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच