
काठमाडौं । कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण भन्ने नाराका साथ शनिबार २८औँ राष्ट्रिय चिया दिवस मनाइने भएको छ राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरी चिया कृषक, उद्योग, मजदुर, व्यवसायी एवं चियाका पारखीको सहभागितामा चिया दिवस मनाइने जानकारी दिएको हो । बोर्डले हरेक वर्ष वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ ।
नेपालको निर्यातजन्य केही सीमित कृषि बालीमध्ये चिया अग्रस्थानमा रहँदै आएको छ । बोर्डको आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार नेपालमा कुल २० हजार दुई सय ३० हेक्टरमा चियाखेती हुँदै आएको छ । सो अवधिमा दुई करोड ६४ लाख केजी तयारी चिया उत्पादन भएको छ । भन्सार विभागको तथ्यांकअनुसार एक करोड ६५ लाख केजी चिया निर्यातबाट तीन अर्ब ९४ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन भएको छ । नेपालले गरेको चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत निर्यात भारतमा नै हुने गरेकाले भारतीय बजार नेपाली चियाको सबैभन्दा ठूलो बजार रहेको बोर्डले जनाएको छ । तर, भारतले आयातसम्बन्धी नीतिमा सानो परिवर्तन गर्दा पनि नेपालको चिया क्षेत्रमा ठूलो हलचल आउने गरेको छ । गत हप्तामात्रै भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटंकी नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेको थियो । तर, नेपाल सरकार, बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघसंस्थाहरू एवं व्यवसायीको संयुक्त पहलमा तत्कालका लागि भारतीय अवरोध हटेर हाललाई १७ वटा ट्रक छुटेका छन् ।
बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालका अनुसार नेपाली चियाको गुणस्तर र विषादीका अवशेषलाई कारण देखाउँदै त्यस्ता अवरोध भारतीय पक्षबाट हुने गरेको छ । तर, भारतमै उत्पादन हुने चियाको तुलनामा नेपाली चियाको गुणस्तर निकै उच्च रहेको छ । गत मार्च २४ देखि २६ सम्म अमेरिकाको लस भेगासमा सम्पन्न वल्र्ड टी एक्स्पो २०२४ मा नेपालको सिद्धदेवी टि स्टेट प्रालि वेभरेज च्यालेन्जतर्फ ग्राण्ड च्याम्पियनका रूपमा पुरस्कृत भएको थियो । विगत वर्षमा पनि चीनमा भएको टि च्याम्पियनसिपमा नेपाली चिया उत्पादकहरूले ग्रेण्ड गोल्ड मेडल जितेका थिए । त्यसैले भारतीय पक्षबाट नेपाली चियालाई गुणस्तरका सम्बन्धमा लगाएको आरोपमा कुनै आधार नभएको खनाल बताउनुहुन्छ ।
तथापि समस्या दिगोरूपमा सम्बोधन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका प्रयोगशालालाई सबल बनाई अन्तर्राष्ट्रिय मापदण्डबमोजिम बनाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
साथै नेपाली चियाको दिगो बजारीकरण गर्न भारतीय बजारको विकल्प खोज्नुपर्ने बोर्डले जनाएको छ । चीन, पाकिस्तान, रुस, अमेरिका, जर्मनीलगायत युरोपेली बजारमा निर्यात भइरहेको नेपाली चियाको परिमाण बढाउन सके नेपाली चियाको बजारीकरण समस्याको दिगो समाधान गर्न सकिने खनाल बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच