
काठमाडौं । वैशाख लागेयता देशभर आगलागी र डढेलो भयावह बनेको छ । गत वर्षको तुलनामा क्षति पनि धेरै गुणा बढी छ । मंगलबार मात्र देशका दर्जनौँ ठाउँमा आगलागी भएको छ । गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक (नेपाल प्रहरीले संकलन गरेको) हेर्दा १८ वैशाखसम्म देशका एक हजार १६ ठाउँमा आगलागी भएको छ । यसैगरी १८ दिनमा आगलागीमा परी १८ जनाले ज्यान गुमाएका छन् । ८० जना घाइते भएका छन् । १३ सयभन्दा बढी परिवार प्रभावित/विस्थापित भएका छन् । ३३ करोड रुपैयाँभन्दा बढीकोे भौतिक क्षति आँकलन गरिएको छ ।
गत वर्ष यही अवधि (१-१४ वैशाख)मा ३३३ ठाउँमा आगलागी-डढेलो लाग्दा पाँच जनाको मृत्यु भएको थियो, २२ जना घाइते भएका थिए । १२५ घर पूर्ण र ९१ घर आंशिक गरी २१६ घरमा आगलागी हुँदा ३९७ परिवार प्रभावित भएका थिए । एक सय चार गोठमा आगो लाग्दा २०३ चौपाया मरेका थिए भने १४ करोड १३ लाखको क्षति भएको छ ।
सरकारले आगलागीका घटनाको रोकथामका लागि पूर्वतयारी नगरेकै कारण बर्सेनि ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ । भएका पूर्वाधारले मात्र काम गर्नसक्ने अवस्था छैन । वनमा लागेको आगो निभाउन वर्षात् नै हुनुपर्ने अवस्था छ । लामो समयदेखि वर्षा नहुँदा आगलागीका घटना बढेको विज्ञहरू बताउँछन् ।
यस्तै, मानिसहरूले अन्धविश्वासका कारण पनि जंगलमा आगो लगाउँछन्, अनि हावाले गाउँसम्म आगो फैलिन्छ । अहिले गर्मीले तराईमा तातो हावा चलेको छ । यसले पनि आगलागी फैलिन मद्दत गरेको विज्ञको भनाइ छ ।
ललितपुरमा एक जनाको मृत्यु
मंगलबार पनि ललितपुरको गोदावरी नगरपालिका-४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगलागी निभाउने क्रममा दुईजना घाइते भएका थिए । घाइतेमध्ये एकको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा शंकर पहरी र रमेश पहरी हुनुहुन्थ्यो । उहाँहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शंकर पहरीको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिनुभयो । यता, ललितपुरको गोदावरीस्थित लेले जंगलमा तीन-चार दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पतालनजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ । यस्तै, डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।
सप्तरीको महादेवा गाउँपालिका-१ मा पनि भीषण आगलागी भएको छ । आगलागीले बस्ती नै सखाप पारेको छ । आगो निभाउन तीनवटा वारुणयन्त्र प्रयोग गरिएको भए पनि मंगलबारसम्म नियन्त्रणमा लिन सकिएको छैन । वडाध्यक्ष जयकिशोर दासका अनुसार दुई सयभन्दा बढी घर–टहरा जलेका छन् र त्यसक्रममा दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन् । अहिले नै क्षतिको विवरण आइनसकेको वडाध्यक्ष दासले बताउनुभयो ।
किन बढ्यो आगलागीका घटना ?
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार पछिल्लो समय नेपालमा भएको आगलागी र डढेलोको प्रमुख कारण पश्चिमी वायु कमजोर हुनु हो । पश्चिमी वायु कमजोर हुँदा वर्षा कम भएको र त्यसले आगलागी वृद्धिलाई सघाएको उहाँ बताउनुहुन्छ । ‘यसपालि नेपालमा पश्चिमी वायु नै कमजोर रहृयो । पश्चिमी वायु १६ पटक नेपाल आउँदा जम्मा दुईपटक वर्षा भयो’, उप्रेतीले भन्नुभयो, ‘वर्षा कम भयो भने जमिन आफैँ सुक्खा हुन जान्छ, पातपतिंगर बढी हुन थाल्छ र त्यसले आगलागी छिटो हुन्छ ।’ बेला-बेला पानी पर्दा आगलागीका घटना नियन्त्रणमा सघाउ पुग्थ्यो तर लामो समयको खडेरीले आगो फैलिन मद्दत मिलिरहेको उहाँको भनाइ थियो । उप्रेतीले पछिल्लो समय भएका अधिकांश आगलागीका घटना मानवीय त्रुटिकै कारण भएको बताउनुभयो । वनजंगलमा लागेको आगोले जनताको जीविकोपार्जनमै प्रत्यक्ष असर गर्ने भएकाले राष्ट्रिय अर्थतन्त्रमै फरक पार्ने विपद् व्यवस्थापनविद् उप्रेतीले बताउनुभयो । विपद् व्यवस्थापनविद् डा. उप्रेतीका अनुसार पछिल्लो समय नेपालमा आगलागीजन्य घटना बढ्नुमा राज्यकै दोष छ । विपद्, प्रकोप न्यूनीकरण तथा रोकथाम गर्न ऐन कानुन बने पनि त्यसलाई कार्यान्वयन गर्न गम्भीर नबन्दा घटना झनै बढेर गएको उहाँको जिकिर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच