
काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालका लागि आवेदन खुलेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको हो । मिस युनिभर्स नेपालको नेसनल डाइरेक्टर संगीता पुरीले भन्नुभयो, ‘मिस युनिभर्स नेपाल २०२४ को आवेदन खुला भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ ।
हामी सबै आ-आफ्नै तरिकाले पर्फेक्ट छौँ र यस वर्ष हामी सबै क्षेत्रका महिला समावेश गर्दै मिस युनिभर्स नेपाललाई थप समावेशी बनाउन प्रतिबद्ध छौँ । म सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपाली महिलालाई यो अवसरको सदुपयोग गर्दै विश्वबजारमा नेपाली नारीकोे असीम क्षमता देखाउन अनुरोध गर्न चाहन्छु ।’ आयोजकका अनुसार आवेदन असार १ गतेसम्म खुला रहनेछ । इच्छुक महिलाले खल्ती एप अथवा मिस युनिभर्सको आधिकारिक सामाजिक सञ्जालमा राखिएको वेबसाइटमार्फत् अनलाइन फारम भरेर आवेदन पेश गर्न सक्नेछन् । आवेदन अवधिभर सातै प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । उच्च माध्यमिक शिक्षा पूरा गरेका १८ वर्षभन्दा माथिका महिलाले प्रतियोगितामा आवेदन दिन पाउनेछन् । उचाइ, तौल र वैवाहिक स्थिति जस्ता अन्य कुनै कुरा प्रतिबन्ध नभएको मिस युनिभर्समा नेपालीका साथै गैरआवासीय नेपाली महिलाले पनि सहभागिता जनाउन पाउने बताइएको छ ।
सहभागीले अन्तिम प्रतियोगिताअघि विभिन्न प्रशिक्षणहरू प्राप्त गर्नेछन् । असार १८ गते प्रतिस्पर्धाका उत्कृष्ट ६० र असार २७ गते मिनी गाला कार्यक्रम आयोजना गरेर उत्कृष्ट ३० छनोट गरिने आयोजकले जनाएको छ । साउन १६ गते शीर्ष २२ छनोट गरी उनीहरूका लागि भदौ ९ गते बन्द प्रशिक्षण शिविर सञ्चालन र फाइनल भने भदौ १५ गते हुने बताइएको छ । प्रतियोगितामा उत्कृष्ट ६० सहभागीले दुईदिने प्रशिक्षण प्राप्त गर्नेछन् भने त्यहाँबाट छानिएका शीर्ष २२ प्रतिस्पर्धीलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रशिक्षक एलेक्जेन्डर गोन्जालेजले १५ दिने प्रशिक्षण प्रदान गर्ने बताइएको छ । मिस युनिभर्स नेपाल २०२४ का विजेताले नोभेम्बर २०२४ मा मेक्सिकोमा हुने ७३औँ मिस युनिभर्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच