तेजकुमार कुरुम्बाङ
देशको वर्तमान अवस्था नाजुक छ । राजनीतिक अवस्था अस्थिर छ । यो अवस्था निम्तिनुमा देशको सरकार, प्रतिपक्ष र जननिर्वाचित सांसद जिम्मेवार छन् । उनीहरूकै कार्य क्षमताकै अभावका कारणले देश कालो सुरुङमा फसिसकेको अवस्था छ । देशको यस्तो अवस्थामा देशभक्त शक्ति, राजभक्त शक्ति र जनभक्त शक्ति एकजुट हुन ढिला भइसकेको छ । देशको भ्रष्टाचार निवारण गर्ने निकायहरू आफैं भ्रष्टाचारमा संलग्न भएको अवस्था छ र अहिलेसम्म ती निकायहरू खासगरी अख्तियार दुरुपयोग अनुशन्धान आयोगको आयुक्त नियुक्तमै राजनीतीकरण हुने हुनाले आयुक्त भएपछि उनीहरू पनि राजनीतिमै काम गर्ने गरेको पाइन्छ ।
भ्रष्टाचार निवारणका लागि गठन भएका यस्ता संस्था निष्पक्ष र पारदर्शी बन्नुपर्छ । यदि यस्ता संस्थाहरूले पारदर्शी ढंगले काम गर्ने हो भने देशको भ्रष्टाचारमा निकै कमी आउने थियो तर यस्तो काम भइरहेको पाइँदैन । त्यसैले भ्रष्टाचार पनि दिनानुदिन बढ्दै गएको छ । देशमा साना माछा समातिने, ठूला माछाले उन्मुक्ति पाइरहेको अवस्था छ । यस वर्षको बजेट होस् या गतवर्षको बजेट, बजेट विनियोजन गर्ने तौरतरिका नेपालको परिवेश अनुसार हुने गर्दैन । यो देशको अवस्था परिवर्तन गर्न चाहने पार्टीका लागि यो ढंगको बजेट स्वीकार्य छैन । राष्ट्रको बजेट प्रधानमन्त्री, विकासे मन्त्री र पहुचवाला सांसदको आफ्नो पकेटको खर्च गरे झैँ खर्च गर्ने र बजेट विनियोजन गर्ने प्रवृत्ति नै गलत छ ।
साथै कुनै पनि जिल्ला र क्षेत्रका सांसद जितेर आउनका लागि विभिन्न योजना आफ्नो मतदाताको क्षेत्रमा मात्र पार्ने कामलाई प्राथमिकता दिने गरिएको छ । त्यो सांसद पदको काम, कर्तव्य र अधिकार यसैलाई ठानिनु गलत हो । उदाहरण, त्यो सांसद चुनावी क्षेत्रभित्र कुनै पहाडको टुप्पामा जम्मा तिन घर, २० भोटका लागि त्यो ठाउँमा मोटर बाटो, बत्ति र पानीको व्यवस्था गर्छु भनेर भोट मागिएको हुन्छ । त्यो ठाउँमा जितेर आएको सांसदले उसको प्रतिबद्धता अनुसार काम गर्ने योजनाको फाइल बोकेर दौडिरहेको पाइन्छ । यो कतिसम्म जाहेज हो । ती तीन घरलाई सुविधायुक्त ठाउँहरूमा व्यवस्थापन गर्ने नीति नियम बनाउनुको सट्टा यसरी राष्ट्रिय बजेटलाई दुरुपयोग गरेर सांसदहरूले बजेट विनियोजन गर्दा नै राष्ट्रिय सम्पत्तिलाई दुरुपयोग गरेको प्रमाणित हुन्छ ।
सिंगापुरलाई सिंगापुर बनाउने लि क्यान यु, जापानलाई जापान बनाउने मेदिइरा हुन् । यसैगरी नेपाललाई बनाउन पनि दक्ष, सक्षम र विभिन्न समयमा सरकारमा बसेर अनुभव प्राप्त व्यक्तिको आवश्यकता छ ।
देशमा महँगी बढेको प्रमुख कारण ढुवानी सेवामा प्रयोग गरिने पेट्रोलियम पदार्थको बजार भाउ वृद्धि हुनु हो र यो देशका होनाहार युवाहरू दिनदिनै विदेशिइरहनु हो । खेतीपातीमा लाग्नुपर्ने युवा विदेशिए पछि कसले गर्छ खेती ? बुढाबुढीले खेती गर्न सक्दैनन् । हुन त देशका युवाहरू स्वदेशमा भरपर्दो रोजगारी नपाएर विदेशिएका हुन । हाम्रो देशको प्राकृतिक सम्पदालाई पहिचान गर्न नसक्नु र विदेशी मुद्रा यि वस्तुहरूबाट आर्जन गर्ने नीति बनाउन नसक्नु र कृषि प्रधान जमिन दुरुपयोग गरेर प्लटिङ, हाउजिङ बनाएको छ । कृषि क्षेत्रलाई अवमूल्यन गरेर कसरी कृषि उत्पादनमा वृद्धि हुन्छ ? र कसरी उत्पादनविना महँगी नियन्त्रण हुन्छ ?
राप्रपा नेपाल पुनस्र्थापित भएको केही समय मात्र भयो तर हाम्रो संगठन देशव्यापी रूपमा फैलँदो अवस्थामा छ । हामी पनि आफ्नोतर्फबाट केन्द्रीय स्तरबाट संगठन विस्तार र पार्टीलाई मजबुत पार्ने क्रममा छौं । हालै जेठ ३१ र ३२ गते केन्द्रीय समितिको बैठकले देशव्यापी रूपमा संगठनलाई व्यापकता दिँदै कात्तिक महिनाभित्र गाउँपालिका र नगरपालिकामा पार्टी अधिवेशन गर्ने, मंसिर महिनाभित्र प्रदेशबाहेक केन्द्रीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने, पुस महिनाभित्र जिल्ला अधिवेशन गर्ने र फागुनको ७, ८ र ९ गते तीनदिन पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
२०८० साल भादौ ८ गते राष्ट्रिय सभागृहबाट राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न भनी घोषणा सभापछि राप्रपा नेपालले सडक आन्दोलन गर्दै आएको छ र यस आन्दोलनमा विचार मिल्ने सबै पार्टी र समूहको मोर्चाबन्दी बनाएर एक ठाउँ पुगिने भनेर हाम्रो पार्टीको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजीव पराजुली संयोजक र उपाध्यक्ष तारा लुइँटेल र महामन्त्री राजाराम बर्तौलासमेत रहेको वार्ता टोली बनाइयो । यो वार्ता टोलीले पटकपटक पहल कदमी गर्दा पनि यस्तो विचार बोकेका ठूला पार्टी (राप्रपासमेत)ले बेवास्था गरेका कारण मोर्चा बन्न नसकेको अवस्था छ । अझै हामी यो मोर्चा बनाउन सक्रिय छौं र अहिलेको व्यवस्था कमजोर भएको समयलाई मध्यनजर गर्दै एकजुट भएर आन्दोलनबाटै व्यवस्था परिवर्तन गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।
सिंगापुरलाई सिंगापुर बनाउने लि क्यान यु, जापानलाई जापान बनाउने मेदिइरा हुन् । यसैगरी नेपाललाई बनाउन पनि दक्ष, सक्षम र विभिन्न समयमा सरकारमा बसेर अनुभव प्राप्त व्यक्तिको आवश्यकता छ । पञ्चायती व्यवस्थामा पनि कुशल र सक्षम मन्त्री बनेका, बहुदलीय व्यवस्थामा उत्तिकै निष्कलंक, कुशल व्यक्ति र गणतान्त्रिक व्यवस्था आएपछि पनि सक्रिय रहेर उपप्रधानमन्त्री, परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रही देशको सेवा गर्ने व्यक्ति राप्रपा नेपालका अध्यक्ष कमल थापा हुनुहुन्छ । यतिबेला जनताले सरकारमा कमल थापाको नेतृत्व खोजिरहेका छन् । उहाँ दशौंपटक मन्त्री भइसक्नुभएको भए पनि भ्रष्टाचारको नाममा ‘भ’ समेत देख्नु परेन । त्यसैलै नेपाललाई बनाउन सरकारमा कमल थापाको नेतृत्व चाहिएको छ ।
त्यसो त पहिला २०७० सालमा पनि राप्रपा नेपालले २५ सिट जितेकै हो । जनताले ‘एक गाई एक भाइ’ भनेर मन पराएकै हुन् । राजनीतिक आरोह अवरोधको क्रममा कहिले कस्तो भोग्नुपर्छ, कहिले कस्तो । अहिले पनि राप्रपा नेपाल फैलँदो क्रममा छ । हामी हाम्रो एजेण्डामा अडिग छौं । हामी हाम्रो एजेण्डा जनतालाई बुझाएर अघि बढ्ने क्रममा छौं । जसरी हामीले पहिला २५ सिट जित्यौं, आगामी दिनमा हामी त्यसभन्दा राम्रो परिणाम ल्याउने गरी अघि बढिरहेका छौं । कमल थापाकै नेतृत्वले देशमा समृद्धि र विकास हुने कुरामा हामी विश्वस्त छौ. ।
वर्तमान व्यवस्था परिवर्तनका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापाको राजनीतिक दर्शन अनुसार राजसंस्था र हिन्दुराष्ट्र पुनरबहालीका साथै प्रदेश खारेजीको एजेण्डामा विचार मिल्ने सबै पार्टी, संघसंस्था एक हुनुपर्ने समय आएको छ । यस समयलाई सदुपयोग गर्न चाँडोभन्दा चाँडो मोर्चाबन्दी गरेर सडक आन्दोलनबाटै वर्तमान व्यवस्था परिवर्तन गर्नसमस्त देशवासी जागरुक हुनपर्ने बेला आएको छ । पूर्वराजाको सक्रियता पनि बढेको छ । राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापित गर्न समस्त देशवासी सडकमा उत्रने बेला आएको छ । यसको नेतृत्व राप्रपा नेपालले गर्छ । यसका लागि समस्त देशवासीको साथ र सहयोग भने आवश्यक छ । (लेखक कुरुम्बाङ राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच