
काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा घरसँगै पहिरोमा पुरिएका तीनजना आइतबार मृत भेटिए । शनिबार पहिरोमा पुरिएका तीनमध्ये एक जनाको शनिबार राति र दुई जनाको आइतबार बिहान शव फेला परेको हो । ज्यान गुमाउनेमा ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । उहाँका अनुसार हिराको घर माथिबाट पहिरो खस्दा सामान निकाल्ने क्रममा उनीहरू पुरिएका थिए । पछिल्लो एक साताभित्र पहिरोमा परेर ज्यान गुमाउने उनीहरू मात्रै होइनन्, उनीहरूजस्तै दर्जनौँ नागरिकले अकालमै ज्यान गुमाएका छन् । शनिबार राति बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा पहिरोले घर पुर्दा एक दम्पतीको मृत्यु भएको थियो । पहिरोले घर पुर्दा बेपत्ता भएका ५५ वर्षीय प्रेम विक र श्रीमती ५० वर्षीया वसन्तीको शव शनिबार बिहान फेला परेको थियो । यसैगरी, पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा हराएका एक बालकको शव पाँच दिनपछि भेटिएको थियो ।
यी त केही प्रतिनिधि घटना मात्रै हुन् । नेपालमा मनसुन भित्रिएपछि एक महिनाभन्दा कम अवधिमै ६० बढी नेपालीको अकालमै ज्यान गइसकेको छ । मनसुन सुरु भएयताको २७ दिनमा विपद्का घटनामा परी ६० बढीको ज्यान गएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जेठ २८ गतेदेखि असार २३ गते सम्मको अवधिमा उनीहरूको ज्यान गएको हो । बाढी र पहिरोलगायत विपद्का घटनामा परेर उनीहरूको ज्यान गएको हो । यस अवधिमा चारजना बेपत्ता र ७२ जना घाइते भएको केन्द्रले जनाएको छ । विपद्का घटनाबाट ६५७ परिवार प्रभावित भएका छन् । विपद्का घटनामा नागरिकले अकालमै ज्यान गुमाएको यसपालि मात्रै भएको होइन । वर्षेनि यस्ता घटनामा सयौँ नागरिकले अकालमै ज्यान गुमाइरहेका हुन्छन् ।
निर्देशन मात्रै दिने सरकार
हुन त विपत्ति बाजा बजाएर आउँदैन । भवितव्यका रूपमा आउने अधिकांश बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपका घटना रोक्न सकिँदैन पनि कठिन पनि हुन्छ । तर, यी घटनाका पछाडि मानवीय कारण भने अवश्य हुने गरेको छ । मानवजन्य क्रियाकलापले अहिले दर्जनौँ विपत्तिका घटना निम्ताइरहेको छ । यसबाट हुने क्षति भने न्यूनीकरण गर्न सकिन्छ । यसका लागि गाउँसम्मै रहेका सरकारहरूले सक्रियता देखाउनुपर्छ । सम्भावित जोखिमबाट नागरिकलाई बचाउन तीनै सरकारले तदारुकता देखाए क्षति न्यूनीकरण गर्न सकिन्छ । तर, सरकारले के गर्छ ? विपद्पूर्वको तयारी गर्नुपर्ने सरकार घटना घटिसकेपछि निर्देशन दिन्छ ! जसरी वर्षेनि विपद्का घटनामा नागरिकले ज्यान गुमाउँछन्, सरकारले त्यसैगरी निर्देशन दिन्छ ।
यसपालि पनि मनसुन भित्रिएको एक महिनापछि सरकारले निर्देशन दिइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरोपीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन राज्यका सबै निकायलाई निर्देशन दिनुभएको हो । आइतबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिनुभएको हो । ‘अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन राज्यका सबै अंगलाई निर्देशन गरिएको छ,’ उहाँले भन्नुभएको छ । उहाँ मात्रै होइन उहाँभन्दा अघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार नै निर्देशन दिइसक्नु भएको थियो । लामिछानेले वर्षाबाट उत्पन्न विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो । गृह मन्त्रालयमा शनिबार भएको आपतकालीन बैठकमा उहाँले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कतासाथ राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको थियो । वर्षेनि आउने निर्देशनबाट सम्बन्धित निकाय पनि अपरिचित हुने कुरै भएन । उनीहरूले ‘हस हजुर’ भन्दै एउटा कानले सुन्छन्, अर्कोले उडाइदिन्छन् । विचरा ती नागरिकलाई कसले बचाइदिनू ? मृत्यु हुनेको संख्या एकातिर छ, बाँच्नेहरूको जीवन उस्तै पीडामा हुन्छ । वर्षेनि भइरहने प्राकृतिक विपत्तिबारे थाहा हुँदाहुँदै पनि सधैँ चुक्ने सरकारले पीडितको घाउमा मलमसमेत लगाउन सक्दैन ।
२४ घण्टामा १५ जनाको मृत्यु
शुक्रबार राति देखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १५ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायतका विपद्जन्य घटनामा परेर अन्य तीनजना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा दुईजना गरी १५ जनाको मृत्यु भएको हो । काठमाडौंस्थित नागार्जुन नगरपालिका-३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका-६ का मनोज विकको मृत्यु भएको थियो । पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका-५ का राज राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ बस्ने जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ । हालसम्म तनहुँमा पाँचजना, गुल्मीमा एक जना, ओखलढुंगामा दुईजना, काठमाडौंमा तीनजना, चितवनमा एकजना तथा स्याङ्जामा ६ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुई दर्जन बढी सडक अवरुद्ध
शुक्रबार देखिको अविरल वर्षाले देशभरका दुई दर्जन बढी राजमार्ग अवरुद्ध भएका छन् । देशभरका २०१ वटा सडकमध्ये ७६ वटा सडक मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार १०१ सडक एकतर्फी रूपमा सञ्चालनमा छन् । केही सडक १७ दिनदेखि अवरुद्ध छन् भने अधिकांश सडक शनिबार र आइतबार बिहानदेखि बन्द भएका हुन् । बाँकेको जमुनाह-नेपालगञ्ज-कोहलपुर-सुर्खेत सडकखण्डका दुई ठाउँमा अवरुद्ध छ । कालिकोटको स्मोडमा सडक अवरुद्ध छ । कालिकोटको हुल्ममा शनिबारदेखि नै सडक बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा करिब ४० घण्टादेखि सडक अवरुद्ध भएको विभागले जनाएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुरमा जिल्लामा सडक अवरुद्ध छ । सिन्धुलीकै सुमनाम बेसीमा सडक आवागमन बन्द भएको छ । कान्तिराजपथ शनिबारदेखि नै पूर्ण रूपमा बन्द छ । मुस्ताङको मार्फा खोलामा शनिबारबाटै सडक बन्द भएको छ । बागलुङको दब्ल्याङ भीरमा शुक्रबारबाट सडक रोकिएको छ । मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको काउटे मनेवा आइतबार बिहानैदेखि बन्द छ । म्याग्दीको सिरुबारीमा शुक्रबारबाट गाडी गुड्न पाएका छैनन् । स्याङ्जाको रातोडाँडा बिसौनामा बिहीबारबाट सडक रोकिएको अहिलेसम्म खुलाउन सकेको छैन । असार १८ गतेबाट रोकिएको लमजुङको निमाङमा पहिरो जाँदा सडक बन्द भएको छ । संखुवासभाको समाटार १७ दिनदेखि बाटो बन्द छ । राप्ती राजमार्गको सल्यानमा आइतबार बिहानदेखि सडक बन्द भएको छ ।
राहत र उद्धारमा ध्यान पुर्याउन सांसदहरूको आग्रह
प्रतिनिधिसभा सदस्यहरूले बाढी-पहिरोले देशभर जनधनको ठूलो क्षति भएको भन्दै तत्काल राहत र उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले अविलम्ब राहत र उद्धारमा ध्यान पु¥याउन सरकारलाई आग्रह गरेका हुन् । विपद् व्यवस्थापनमा सरकारको काम प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ छ । सांसद शंकर भण्डारीले देशको ७७ वटै जिल्लामा हुने दुर्घटनालाई मध्यनजर गर्दै उद्दार कार्यलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘वर्षा जारी भएकोले अझै क्षति हुने सम्भावना छ । विपद् व्यवस्थापनको तयारी हुन सकेको छैनन् । ७७ वटै जिल्लामा सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै सरकारले उद्धारको कार्यलाई पहिलो प्राथमिकतामा राखेर नागरिकको जिउ, धनको रक्षा गर्ने काममा गम्भीर भूमिका निभाओस्,’ उहाँले भन्नुभयो । अर्का सांसद हितराज पाण्डेले बाढी, पहिरो पीडितलाई सुरक्षित आवास र राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पूर्व-तयारीको कामलाई व्यवस्थित गर्न माग गर्नुभयो । यस्तै, प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्कीले विपद् प्रतिकार्य योजना बनाउने र अत्याधुनिक पूर्वचेतना प्रणाली स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्धार र राहतको काम तुरुन्तै चाल्न र दूरगामी योजना बनाउन बनाउन पनि सरकारसँग माग गर्नुभयो ।
अर्का सांसद छिरिङल्हामु लामा तामाङले कर्णाली राजमार्ग अवरुद्ध हुँदा बिरामीलाई असर पारेको भन्दै वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । प्रतिनिधिसभा सदस्य अब्दुल खानले विकासका कार्यहरू दैवी प्रकोपमैत्री नहुँदा समस्या परिरहेको भन्दै विकासका कामहरू दैवीप्रकोपमैत्री बनाउनुपर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले प्रधानमन्त्री सत्ता टिकाउने ध्यानमा लागेकाले दैवी प्रकोपको काममा ध्यान पु¥याउन नसकेको बताउनुभयो । ‘प्रधानमन्त्री दबाबमा हुनुहुन्छ । सरकारले दैवी प्रकोपमा गर्नुपर्ने काममा त्यति ध्यान दिन सकिरहेको छैन,’ उहाँले भन्नुभयो, ‘सक्ने पनि छैन । यो सरकार कतै टिकिहाल्छ कि भन्ने ध्यानमा उहाँ केन्द्रित हुनुुहुन्छ ।’ प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले सरकारले जनतालाई राहत तथा सेवा, सुविधा दिन नसकेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच