काजुको व्यावसायीक खेतीतर्फ आकर्षित हुँदै किसान

हिमालय टाइम्स
Read Time = 6 mins

मोरङ । मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् ।

पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरुको संख्या बढ्दो छ । काजु देखी ड्रागन, अंगुर, एभोकाडो, किवीको खेती फस्टाइरहेको छ । खेतीका लागि कृषकको आकर्षण पनि बढ्दो र बजारको माग पनि उच्च छ । आजभोली मोरङको पथरी शनिश्चरे-३ का भुवनेश्वर पोख्रेलको दिनचर्या फेरिएको छ । पूर्वशिक्षक पोख्रेल बिहान बेलुका आफ्नो बारीमा काजुको बिरुवा स्याहार गरिरहेका हुन्छन् । उमेरले ७५ वर्षे पुगे पनि उनको जोश भने युवाको झैँ छ ।

करिव ३ वर्षअघि तीर्थयात्राका लागि भारतको चारधाम जादा ऋषीकेशबाट ल्याएको काजुको बिरुवाले पोख्रेललाई व्यवसायी बनाएको छ । तीन वर्षपछि नै तिनै बिरुवाले उत्पादन दिन थाल्यो । अहिले करिव ३ कठ्ठा जग्गामा पोख्रेलले काजुका बिरुवा लगाउनुभएको छ । पोख्रेलको बारीमा अहिले काजुदेखि ड्रागन, अंगुर सम्मका बिरुवा छन् । पोख्रेलले रोपेको काजुले उत्पादन दिन थालिसकेको छ । काजु फल्न थालेपछि खुशी हुनुभएका पोख्रेलले काजुका बिरुवा समेत उत्पादन गर्न थाल्नुभयो ।

पहिलो वर्ष ५ केजी उत्पादन भएको काजुलाई पुनः रोपेर पोख्रेलले विरुवा उत्पादन गर्नुभयो । तिनै बिरुवावाट अहिले उत्पादन शुरु हुन थालेको छ । नेपालमा पनि काजुको व्यावसायीक खेती सम्भव हुन्छ भन्ने उदाहरण बन्नुभएको छ । छोटो समयमा राम्रो आम्दानी हुने भएकाले व्यावसायीक रुपमा काजुको खेती गराउन बिरुवा उत्पादन गरी विक्रीवितरण थालेको उहाँको भनाइ रहेको छ । सामुन्द्रिक सतहवाट १ हजार ६ सय मिटर सम्मको उचाइमा हुने काजुको खेती गर्न सकिन्छ ।

काजुको विरुवा १० फुट भन्दा अग्लो हुन्छ । हाल बार्षिक ५ सय भन्दा बढी बिरुवा उत्पादन गर्दै आउनुभएका पोख्रेलले स्थानिय क्षेत्रमा ७५ रुपयाँको दरले बिक्री वितरण गर्दै आउनुभएको छ । नर्सरीवाटै झापा, मोरङ्ग र सुनसरी सम्म बिरुवा बिक्री भएपछि पोख्रेलको मुहारमा खुशी छाएको छ । बिरुवाको माग पहाडी जिल्ला तेह्रथुमसम्म हुन थालेको छ । बिरुवा उत्पादन थालेको पहिलो वर्ष नै उर्लाबारी नगरपालिका कृषि शाखाले १ सय ५० जति बिरुवा किसानलाई बाँडेर फल उत्पादन हुन थालेको छ । उब्जनी नदिने रुख्खो जमिनमा अन्य काठका बिरुवाको स्थानमा काजुको विरुवा लगाए मनग्य आम्दानी हुने देखिन्छ । वर पिपलको जस्तै ठूलो झाङ्गिने भएकाले ५० केजिसम्म फल्ने पोख्रेलले आशा लिनुभएको छ । पोख्रेलको नर्सरीमा एउटा बोटबाट वार्षिक १५ देखि २० केजीसम्म काजु फल्न थालेको छ । ‘व्यावसायीक रुपमा काजुको खेती गर्ने हो भने जागिर खानु र विदेश जानु नपर्ने पोख्रेल बताउनु हुन्छ ।

पथरी शनिश्चरे नगरमा नयाँ नयाँ कृषि खेति शुरु भएको कृषि शाखा प्रमुख सविना राई बताउनु हुन्छ । नगरमा काजु, अंगुर र ड्रागन खेती शुरु भएको र यसबाट कृषकले राम्रो आम्दानी भएको राईको भनाई छ । नगरले कृषकलाई प्रोसाहान गर्न एक वडा एक उत्पादन कार्यक्रमसँगै कृषको मागमा आधारीत कार्यक्रम ल्याएको राईले बताउनु भयो ।

नेपालमा भारत र भियतनामबाट काजु आयात हुने गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपैयाँ बराबरको काजु नेपाल भित्रिएको थियो । बजारमा पाइने भारतीय काजु भन्दा नेपालमा आफैँले उत्पादन गरेको ठूलो रकम बाहिरीनबाट रोकिन्छ । भारतमा मात्रै व्यावसायीक रुपमा उत्पादन हुदै आएको काजुका बारेमा नेपालमा अध्ययन भए आम्दानी र रोजगारी बढ्ने देखिन्छ । काजु स्वास्थ्यवर्द्धक, पोषिलो र तागतिलो हुने भएकाले यसको बजारमा राम्रो माग रहेको छ । काजु प्रतिकेजी १ हजार ६ सय देखि २ हजारसम्म बिक्री हुने गरेको छ । यसको बाहिरी फल पनि वाइन बनाउन केजिको ११ सयका दरले बिक्री हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?