राजनीतिमा गठबन्धन कसरी बन्छन् र कसरी भत्किन्छन् ? सत्ता कसको बन्छ, किन र कसरी बन्छ ? सन् १९१६ यता नेपालको शासकीय नेतृत्व र ००७ सालपछि राजनीतिक प्रणाली र शासकीय भारमा अकस्मात्, नाटकीय परिवर्तनहरू कसरी हुने गरेका छन् ? यी प्रश्न गर्नु निरर्थक किन छ भने यी प्रश्नको उत्तरबारे नेपाली जनजनलाई जानकारी छ । पछिल्लो गठबन्धनका सूत्राधारदेखि अघिल्ला सबै गठबन्धनका सूत्रधारहरू को हुन् भनिरहनु पर्दैन । हिंसा र प्रतिहिंसाको नेपथ्यमा बसेर निर्देशन गर्नेहरूको विषय पनि नौलो छैन र होइन ।
(क) स्मृतिमा ‘अनकन्ट्रोल्ड मिसाइल’:
यी कुरा छाडौँ । आज अर्कै प्रसंग हो मेरो । तपाईँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्कै सम्झना होला त्यो सभा जहाँ मैले भनेको थिएँ : नेपालमा शब्दहरूको अनकन्ट्रोल्ड मिसाइल प्रहार गर्ने नेता केपी ओली तपाईं नै हो । तपाईं जस्तो अनकन्ट्रोल्ड मिसाइल प्रहार गर्न खप्पिस नेता नेपालमा कोही पनि भएका छैनन् ।
अराजक शैलीमा र जथाभावी त्यस्तो शब्द मिसाइल प्रहार गर्ने, सदा चलायमान नेता कसरी पाँच घण्टा धैर्ययतापूर्वक शान्तसँग बस्नुभयो उदेक लाग्दो थियो मेरा लागि । २०८० माघ १६ को त्यो दिन काठमाडौंको चिसो खपिसक्नु थिएन । शहीद दिवसको अवसरमा ओयोजित प्रतीकात्मक कार्यक्रम थियो त्यो ।
मैले यसो भन्दा सभामा उपस्थित ९८ प्रतिशतभन्दा बढी एमाले समर्थक बुद्धिजीवी र सदस्यहरूले बेजोड ताली पड्काएका थिए र मेरो यो भनाइलाई समर्थन गरेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानको मूल सभाकक्षमा त्यसदिन लेखिका, शिक्षिका र एमालेकै सदस्य सानुमैया खड्का (सविता) ले सम्पादन गरेको संसद्मा केपी ओली कृतिको विमोचन हुँदै थियो । सौभाग्यवश विद्यान् व्यक्तित्व अग्रज नीलाम्बर आचार्य र मलाई कृति समीक्षाका लागि आमन्त्रण गरिएको थियो र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो । सायद मैले बोल्दा उहाँ हलबाट निस्किसक्नु भएको थियो तर तपाईँ करिब पाँच घण्टा नचलमलाई अद्भूत आनन्द, शान्ति र एकाग्रतासाथ सोफामा बसिरहनुभयो ।
म चकित परेको थिएँ । अराजक शैलीमा र जथाभावी त्यस्तो शब्द मिसाइल प्रहार गर्ने, सदा चलायमान नेता कसरी पाँच घण्टा धैर्ययतापूर्वक शान्तसँग बस्नुभयो उदेक लाग्दो थियो मेरा लागि । २०८० माघ १६ को त्यो दिन काठमाडौंको चिसो खपिसक्नु थिएन । शहीद दिवसको अवसरमा ओयोजित प्रतीकात्मक कार्यक्रम थियो त्यो । तपाईं केही नभए जस्तो मानिसहरूका पट्यार लाग्दा भाषण पनि सुनिरहनु भएको थियो । सायद पार्टीका सदस्य र पार्टी सम्बद्ध बुद्धिजीवीहरू भएको हुनाले तपाईंलाई सुन्नैपर्ने बाध्यता पनि हुनसक्छ ।
(ख) पूजार्चनामा रमाउनेहरू:
मैले अरू धेरै नेताहरू देखेको छु । न आफू बोल्न सक्छन्, न अरूले बोलेको धैर्यपूर्वक सुन्ने सामथ्र्य राख्छन् । नबोल्ने नसुन्ने तर ढुंगाको मूर्ति जस्तै सदा भक्तहरूबाट पूजा, अर्चना, फूलपाती, अक्षता सिन्दूर भेटी सबैथोक पाइरहेको देखिन्छ तिनीहरूले । देवताका मूर्तिहरू बोल्दैनन् र सुन्दैनन् भन्ने सिद्धान्तले सेवकहरूको लस्कर लगाउँछ ।
त्यस्तै सुनिन्छ, देखिन्छ धेरै नेताहरूको अवस्था । तिनीहरू सभा सम्मेलन वा कार्यक्रममा पुग्दा अन्त कतै काम नभए पनि छट्पटाएर, सुन्नेै नसक्ने जस्तो कोल्टे फेरिरहने, कि शौचमा गए जस्तो गर्ने, कि चुरोट तान्न बाहिर पुग्ने नभए स्वास्थ्य समस्या देखाउँदै वा कुनै अनियोजित कामको नाम लिएर सभाकक्षबाट मुक्ति खोजिरहेका हुन्छन् । तर, दुईपटक मिर्गाैला फेरेर तेस्रो जन्म पाएको केपी ओली यसरी केही नभएजस्तो शान्त बस्नु आश्चर्यको विषय नै हो ।
(ग) सहज ओली असहज अरू:
म ओलीजीसँग धेरैपटक सँगैसँगै कहिले राजनीतिक, कहिले मानव अधिकार, कहिले साहित्यिक भाषण गर्ने मञ्चमा हुने गरेको छु । कुनै पनि अरू नेता जस्तो गरुंगो, जन्ती पछि लगाएर गजधम्म हुने बेहुलो जस्तो स्वभाव केपीमा छैन । उहाँसँग बस्दा रमाइलो हुन्छ । जे भने पनि मस्त र प्रसन्न देखिने बरु आफ्ना पालामा मिसाइल हान्न नछाड्ने बानी केपी ओलीको छ । म भलिभाँती परिचित छु । म नेपाली कांग्रेसका सयौँ नेतासँग बसेर मन्तव्य दिएको छु ।
माओवादीका नेताहरूसँग पनि यदाकदा साक्षात्कार हुने गर्छ मञ्च र मन्तव्य क्रममा । तर, पुराना नेताहरू बिपी, गणेशमानजी, किशुनजी, गिरिजाप्रसाद, निधिजीसँग हामीहरू जसरी असाध्य सहज भएर अभिव्यक्तिहरू राख्न सक्थ्यौँ अहिलेका प्रमुखदेखि धेरै नेताहरूसँग सहज बोलचाल गर्न दकस हुन्छ । किन हो कुन्नी बेहुली लिन सिंगारपटार गरी हिँडेको बेहुला जस्तै औपचारिक मानमर्यादा खोजिरहेजस्तो देखिन्छन् अरू नेताहरू । तर, केपी शर्मा ओलीसँग धक नमानीकन खुलेर बोल्न सकिन्छ । उहाँ एमालेको अध्यक्ष, नेता । ठीक विपरीत म, गैरकम्युनिष्ट र लामो समय नेपाली कांग्रेससम्बद्ध भएर लोकतान्त्रिक आन्दोलनमा काम गरेको मान्छे तर ओलीसँग निष्फिक्री कुरा हुन्छन् । कांग्रेसका नेताहरूसँग त चन्द्र शमशेरको पटांगिनीमा दर्शन भेट जस्तोबाहेक अरू हुनु असम्भव हुन्छ ।
आजका प्रधानमन्त्रीलाई दुईपटक महिलाहरूले बचाएका हुन् । आफ्नो मिर्गाैला दान गरेर । नेपालका सन्दर्भमा कलेजो दान गर्ने वा मिर्गाैला दान गर्नेहरूमा ९० प्रतिशतभन्दा बढी महिला छन् र त्यस्तो अर्काका अंग लिएर पुनर्जीवन पाउनेहरूमा ९० प्रतिशत पुरुषहरू नै छन् ।
(घ) ओलीको मुस्कान उत्तर:
मैले उहाँलाई अनकन्ट्रोल्ड मिसाइल भन्दा उहाँ मुसुक्क हाँस्नुभयो । आफ्ना पालामा भन्नुभयो ः म साँच्चै कहिलेकाहीँ धेरै बोल्छु कि के हो ? मेरा शब्दवाण जथाभावी लक्ष्यबाहेक पनि पुग्छन् कि अब विचार गर्नुपर्ला । दाहालजीले प्रयोग गर्नुभएको शब्द रमाइलो छ अनकन्ट्रोल्ड मिसाइल ।
मैले सानुमैया खड्का सविताले सम्पादन गरेको केपी ओली संसद्मा नामक करिब नौ सय पृष्ठको विशालकाय कृति रातभर बसेर पढेको थिएँ । ०४८ सालदेखि ०७४ सालसम्मका केपीका विचारहरू त्यसमा संग्रहित छन् । उहाँका छुरा जस्ता शब्दले कांग्रेस, माओवादी र राजावादीहरूलाई खोप्नसम्म खोपेका छन् । उहाँको भाषणमा धेरै कन्ट्राडिक्सनहरू छन् । मौसम अनुसारका भनाइहरू पर्याप्त छन् । तर, लोकतन्त्रको स्थापित मूल्यको लहरो उहाँले मन्तव्यमा चुँडाएको लाग्दैन । यदाकदा व्यंग गज्जबकै हुन्छ ।
(ङ) माओवादीलाई खसाल्ने नाटकीय कदम:
यो पनि आजको प्रसंग होइन । अहिले उहाँ अकस्मात् माओवादी जस्तो निरन्तर ओल्लो बलो र पल्लो खाँबो गर्दै पिङमा मज्जा लिइरहेको पार्टीलाई अकस्मात र ञनाटकीय रूपमा खसाल्ने काम सफलतापूर्वक निष्पन्न गर्दै केपी ओली कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री हुनुभएको छ । ०७९ मंसिरमा सम्पन्न निर्वाचन परिणाम आउँदै गर्दा मैले भनेको थिएँ : राजनीतिक र शासकीय स्थायित्वका लागि दुई ठूला दलहरू नेपाली कांग्रेस र एमालेबीच सहकार्य जरुरी छ । तेस्रो शक्ति माओवादीले अरू दलहरूको मोर्चा बनाएर सशक्त प्रतिपक्षको अथवा भोलिको विकल्पको तयारी गर्नु उचित हुनेछ । तर, दुई वर्ष ओल्लो घरको नरे पल्लो घर सरेमा नै समय व्यतित भयो । अब नहोस् हाम्रो अपेक्षा पनि छ । ओली प्रधानमन्त्री हुनुभएको प्रसंग पनि आजको होइन ।
(च) पुरुषले मात्रै बाँच्नुपर्ने हो ?
आजका प्रधानमन्त्रीलाई दुईपटक महिलाहरूले बचाएका हुन् । आफ्नो मिर्गाैला दान गरेर । नेपालका सन्दर्भमा कलेजो दान गर्ने वा मिर्गाैला दान गर्नेहरूमा ९० प्रतिशतभन्दा बढी महिला छन् र त्यस्तो अर्काका अंग लिएर पुनर्जीवन पाउनेहरूमा ९० प्रतिशत पुरुषहरू नै छन् । तर, मैलै केपी ओलीको २७ वर्षको अवधिमा संसद्मा बोलेका मुख्य भाषणहरूमा खोजेँ कतै पनि उहाँले ती अंगदान गर्ने महिलाका विषयमा, उनीहरूले पाएको सास्तीका विषयमा, उनीहरूका परिवारका विषयमा, उनीहरूको मनोविज्ञानका विषयमा बोलेको पाइनँ ।
जबकि स्वयं ओलीजीलाई अंग फेर्ने र औषधि उपचारका लागि देशको १८ करोडभन्दा बढी खर्च गरेको थियो । मेरो त्यस दिन यो विषयमा ठाडो र गम्भीर प्रश्न थियो: कुनै बिरामीलाई रोगमुक्त गराउन आफैँ, आफ्नो शरीरको अंग काटेर आफैँ रोगी हुन तयारहरूका विषयमा राज्यले कुनै नीति बनाउनुपर्छ कि पर्दैन ? के अंग दिनेहरू बिरामी होइनन् र हुँदैनन् ? मिर्गाैलाका बिमारीहरू, क्यान्सरका र यस्तै अरू दीर्घरोगबाट ग्रसितहरूलाई नीति बनाइएको छ । कांग्रेसका युवामन्त्री गगन थापाले स्वास्थ्यमा बसेर गरेको त्यही निर्णयको गौरव बोकेर कांग्रेस राजनीति चलिरहेको छ । तर, उनले पनि अंगदान गर्नेहरूलाई ती पनि बिरामी हुन् भन्ने सोच्न सकेनन् । किनभने उनीहरू स्वयम्भू हुन् र अरू कसैको सुझावको आवश्यकता उनीहरूलाई कहिल्यै पनि पर्दैन होला ।
(छ) के अंगदान गर्नेहरू अस्पृश्य हुन् ?
मैले त्यसदिन मेरी पत्नी शान्ता पहिलो नेपाली महिला कलेजो दाताको प्रसंग उठाएको थिएँ । किनभने हामीले भोगेका छौँ कस्तो हुन्छ अंगदाताको मर्म र दाताका परिवारको मर्म भनेर । दान गरेको विषय खोल्नुहुँदैन भनिन्छ । तर, बिरामीका विषयमा त बोल्नुपर्ने होला नि ? आजको जीवन्त प्रश्न हो : दुईपटक अर्काको शरीरको टुक्रा जोडेर पुनर्जन्म पाउनुभएका प्रधानमन्त्रीजी अंगदाताहरूका विषयमा कुनै नीति बनाउन तयार हुनुहुन्छ कि हुँदैन ? विवेकहीन समाजका विवेकहीन नेताहरूको लामो लस्कर छ ।
सायद तिनीहरू अरू कसैका अंग जोडेर बाँचेका होइनन् होला । कमसेकम तपाईं त भुक्तभोगी हुनुहुन्छ र देशको निर्णायक स्थानमा पनि हुनुहुन्छ । के अंगदान गर्नेहरू विवेकको राज्यको आँखामा अस्पृश्य हुन् त ? कृपया शब्दको ‘अनकन्ट्रोल मिसाइल’ छाडेर उत्तर दिनुभन्दा नीतिगत निर्णय गर्नुहोस् आज तपाईँ प्रधानमन्त्री केपी ओलीसँग मेरो आग्रह यही नै हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच