काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी अस्पतालको सेवा सुधारमा चासो देखाउनुभएको छ । सरकारी अस्पतालमा सेवा लिन बिरामीलाई सास्ती भइरहेको बेला प्रधानमन्त्री ओलीले सुधारका लागि चासो देखाउनुभएको हो । यसका लागि उहाँले सरोकारवाला निकायसँग् छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा विभागीय मन्त्रीसहित सरोकारवालासँग छलफल गर्नुभएको छ । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा उहाँले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र मुख्यसचिव लिलादेवी गड्तौलासँग छलफल गर्नुभएको हो ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले बिरामीलाई बिनालाइन र सहज रूपमा उपचार सेवा दिने प्रबन्ध गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । ओलीले बिरामीलाई लाइन नबसी सहज रूपमा उपचारको व्यवस्था गर्न आग्रह गर्नुभयो । चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा दिएर भए पनि आवश्यक परेका बेला खटाउन ओलीले आग्रह गर्नुभयो । ‘सरकारी अस्पतालमा कार्यालय समयमा जाँच नगरेर बिरामीलाई निजी क्लिनिकमा बोलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ उहाँले भन्नुभयो । बिरामीलाई अस्पतालमा भर्ना नगरेसम्म उपचार नथाल्ने र पैसा तिर्न नसकेका कारण उपचार नहुने अवस्थाको पनि अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि स्वास्थ्य बिमालाई व्यावहारिक र कार्यान्वयनयोग्य बनाउन उहाँले आग्रह गर्नुभयो ।
राज्यको बजेट न्यून भएको अवस्थामा भौतिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक विधिलाई प्राथमिकता दिनेगरी कार्यक्रम निर्माण गर्न उहाँले निर्देशन दिनुभयो । स्वास्थ्य र अन्य क्षेत्रमा अनावश्यक उपकरण तथा औषधि खरिद गर्ने र थन्क्याउने काम भइरहेको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीले राज्यको स्रोत र साधनको दुरुपयोग अन्त्य गर्न निर्देशन दिनुभयो । ‘खरिद गरिएका उपकरण र औषधि प्रयोग भएनन् भने निजी क्षेत्र वा अन्य कुनै परोपकारी संस्थालाई पनि दिन सकिन्छ तर, दुरुपयोग वा प्रयोगविहीन हुनुभएन, यसतर्फ विशेष ध्यान दिनुहोला,’ उहाँले भन्नुभयो ।
यसअघि नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताउनुभएको थियो । असार अन्तिममा पदभार ग्रहण गर्दै उहाँले संघीय अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताउनुभएको थियो । ‘नेपालको स्वास्थ्य उपचार क्षेत्रमा सुधार भएको महसुस गराउनेछौँ । एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउनेछौँ’, उहाँले भन्नुभएको थियो, ‘धेरै ठूला काम कति गर्न सक्छौँ, तर साना साना कुराहरूको परिवर्तन गरेर देखाउन सक्छौँ ।’ सरकारी अस्पतालमा पर्याप्त जनशक्ति, सुविधा र पूर्वाधार नहुँदा बिरामीले सास्ती खेपिरहेका छन् । पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा सुविधा अभाव छ ।
देश र नागरिकको विकास पहिलो प्राथमिकता
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताउनुभयो । प्रधानमन्त्रीनिवास बालुवाटारमा नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले सरकारले देश र नागरिकको समृद्धिका लागि काम गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले देशमा सुशासन कायम गरी नागरिकको जीवनस्तर उकास्न र अहिलेको आर्थिक अवस्थालाई सुदृढ बनाउनु पहिलो जिम्मेवारी रहेको बताउनुभयो । सुरु भएका परियोजनाहरू टुंग्याउने काम पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच