काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताउनुभएको छ । शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानविन समितिमा बयान दिँदै उहाँले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै ऋणको पनि जिम्मा नलिने बताउनुभयो । लामिछानेले बयानका क्रममा आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको दाबी गरेको समितिका एक सदस्यले जानकारी दिनुभयो । उहाँले गोरखा मिडियामा आफूले १५ प्रतिशत ‘स्वेट सेयर’ मात्रै लिएको दाबी गर्नुभयो । ‘मैले स्वेट सेयर १५ प्रतिशत लिएको थिएँ । मैले कुनै पैसा लगानी नगरेको कुरा सार्वजनिक रूपमा भनिसकेको छु,’ लामिछानेको बयान उद्धृत गर्दै ती सदस्यले भन्नुभयो । बयानका क्रममा लामिछानेले आफू कुनै पनि सहकारी सदस्य नभएको भन्दै सहकारीको ऋणको विषयमा जिम्मा लिन नसक्ने बताउनुभएको उहाँले जानकारी दिनुभयो । ‘म सहकारीको सदस्य हैन र कुनै पनि लोन सहकारीबाट लिएको छैन,’ लामिछानेको बयान उद्धृत गर्दै ती सदस्यले भन्नुभयो, ‘म सहकारीबाट मिडियाले लिएको लोनको जिम्मा लिन सक्दिनँ ।
समितिले सभापति लामिछानेसँग शुक्रबार बयान लिएको थियो । सिंहदरबारमा बसेको समिति बैठकमा गोरखा मिडिया नेटवर्कको निर्देशकको हैसियतमा रास्वपा सभापति लामिछानेसँग बयान लिइएको हो । लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक र सञ्चालक रहेको समयमा विभिन्न सहकारीबाट ग्यालेक्सी टिभीमा लगानी भएको थियो । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायत सहकारीबाट रविको नाममा ऋण प्रवाह भएको थियो ।
सहकारी ठगीमा फरार जिबी राईका पार्टनर रहेका छविलाल जोशीको घरबाट प्रहरीले विभिन्न सहकारीको हिसाब रहेको सर्भर बरामद गरेको थियो । समितिले शुक्रबार नै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग पनि बयान लिएको थियो । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई भने अझै फरार छन् । उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ ।
समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्यसँग बयान लिएको थियो । सहकारीबाट २०७८ पुस १२ गते विपिनकुमार आचार्यको नाममा एक करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ ।
समितिले सहकारी ठगीमा मुछिएकाहरूलाई कारागारबाट झिकाएर पनि बयान लिएको थियो । छलफलका साथै प्रतिवेदनको मस्यौदा निर्माणको काम पनि निरन्तर भइरहेको समिति संयोजक सूर्य थापाले जानकारी दिनुभयो । सदनमा सहकारी प्रकरणमा छानविन गर्नुपर्ने आवाज उठेपछि गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानविन गर्न संसदीय छानविन समिति गठन गरिएको थियो ।
रवि ठग हो भनेर म प्रमाणित गर्न सक्छु : मुकुल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई ठगको संज्ञा दिनुभएको छ । रास्वपाले सोधेको अन्तिम स्पष्टीकरणको शुक्रबार जवाफ दिँदै डा. ढकालले लामिछानेलाई आफूले ठग प्रमाणित गर्न सक्ने चुनौती दिनुभएको हो । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । दोस्रोपटक स्पष्टीकरणका लागि पठाइएको पत्रको जवाफ फर्काउँदै ढकालले सभापति लामिछानेमाथि गम्भीर प्रतिप्रश्न गर्नुभएको हो । ढकालले सभापतिका गलत कार्यउपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टीविरुद्ध लागेको नहुने जवाफ फर्काउनुभएको छ । लोकतान्त्रिक विधिले प्रश्न उठाउँदा कारबाही गर्ने कार्यले भविष्यमा बोल्ने हिम्मत कसैले गर्न नसक्ने अवस्था बनेको उहाँले बताउनुभयो । ‘तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नुभएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ ढकालले रास्वपालाई पठाएको पत्रमा उल्लेख छ, ‘कुकर्म’को पर्दाफास गर्नु पार्टीको संस्थापक महामन्त्रीको हैसियतले कर्तव्य थियो । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणामस्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् । पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नुसरह हुनेछ । पार्टीविपरीत म होइन तपाईँ लाग्नुभएको छ ।’
रविलाई तत्काल थुन्न कांग्रेस नेताको माग
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई तत्काल पक्राउ गर्न माग गर्नुभएको छ । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता बस्नेतले दोहोरो पासपोर्ट र नागरिकताको मुद्दामा लामिछानेलाई पक्राउ गर्नुपर्ने बताउनुभयो । रविलाई नथुने प्रत्येक नेपाली नागरिकलाई दोहोरो पासपोर्ट र नागरिकता दिनुपर्ने बस्नेतले तर्क गर्नुभयो । ‘गृहमन्त्री, सरकार हाम्रै छ, रवि लामिछाने थुन्न किन ढिला गरेको ?’ उहाँले भन्नुभयो, ‘सहकारी ठगी उनको थप अपराध हो, तुरुन्त थुनौँ । नेतालाई छुट दिँदा जनतालाई किन छुट नदिने ?’ उहाँले रास्वपा उपसभापति स्वर्णिम वाग्लेमाथि पनि प्रश्न उठाउनुभयो । वाग्लेले देश हितविपरीत मनरो डक्ट्रिनबारे बोल्दा पार्टी चुप बसेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो । ‘वाग्लेले मनरो डक्ट्रिनबारे बोल्दा पार्टी किन चुप ? के कांग्रेस जे हुँदा चुप लागेर बस्ने हो ?’, बस्नेतले प्रश्न गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच