
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गोरखा मिडिया नेटवर्कमा रहँदा खर्च भएको रकमको जिम्मेवारी लिने बताउनुभएको छ । गोरखा मिडियाका तत्कालीन प्रबन्धकसमेत रहनुभएका लामिछानेले सहकारीबाट आएको रकम खर्च गर्ने कार्यमा आफ्नो संलग्नता स्वीकार गर्दै कानुनी कारबाहीको भागेदार हुने स्वीकार गर्नुभएको हो । तर, सहकारीको रकम ल्याउने कार्यमा भने आफ्नो कुनै संलग्नता नरहेको उहाँले दोहोर्याउनुभएको छ । संसदीय विशेष छानविन समितिले गरेको सिफारिश सही रहेको भन्दै अक्षरशः पालना गर्न आफू तयार रहेको उहाँको भनाइ छ । संसदीय छानविन विशेष समितिले सहकारी रकम मिडियामा ल्याएपछि खर्च गर्ने कार्यमा उहाँसहितको संलग्नता रहेको भन्दै सरकारलाई कारबाही सिफारिश गरेको थियो । समितिले संसद्मा प्रतिवेदन बुझाएलगत्तै भने लामिछानेले आफूले ‘क्लिन चिट’ पाएको भन्दै कुप्रचार गर्नुभएको थियो । तर, प्रतिवेदनसमेत सार्वजनिक भएर रविलाई पक्राउ पर्ने चर्चाबीच उहाँले पहिलोपटक आफ्नो गल्ती स्वीकार गर्दै कारबाहीको भागीदार हुने स्वीकार गर्नुभएको हो ।
‘सहकारीको रकम ल्याउन मेरो व्यक्तिगत संलग्नता छैन भनेर संसदीय विशेष छानविन समितिले पनि भनेको छ । यसमा कसैले भ्रम राख्न आवश्यक छैन,’ मंगलबार राति फेसबुक लाइभमार्फत आफ्ना कुरा राख्दै उहाँले भन्नुभएको छ, ‘तर, म कार्यरत रहेका बेलामा आएको पैसाको कानुनी कारबाहीको भागीदार हुने कुरालाई नकार्न मिल्दैन । समितिले पनि रकम आएपछि खर्च गर्ने कार्यमा संलग्न भन्दै कारबाही सिफारिश गरेको छ । आफू कार्यरत रहेका बेला आएको रकमको जिम्मेवारी लिनुपर्छ । कानुनी कारबाहीको भागीदार हुनुपर्छ । यो कुरा मैले बंग्याउन मिल्दैन । मिडियाको खातामा आइसकेपछि खर्च गर्ने/गराउने काममा संलग्न रहेकोमा कानुनी कारबाहीको भागीदार हुनुपर्छ । यसमा म भाग्न मिल्दैन ।’
तर, आफूले सहकारीको रकम नलिएको विषयलाई समेत राजनीतिक प्रतिशोध साँधेर उचालिएको उहाँको आरोप छ । रकम ल्याउने कार्यमा आफ्नो संलग्नता रहेको समिति र त्यसअघि प्रहरीले पनि स्पष्ट पारिसकेको उहाँको भनाइ छ । ‘सहकारीबाट रकम ल्याउनमा मेरो दोष छैन । समितिले पनि भन्यो र त्यसअघि प्रहरीले पनि भनेको थियो,’ उहाँले भन्नुभएको छ, ‘कांग्रेसले प्रतिशोधको रूपमा लिएको हो कि ? आफ्नो इगो हृयाण्डल गर्न खोज्नुभयो कि भन्ने लाग्यो । समितिको कुरा मैले अक्षरशः पालना गर्नुपर्छ । म तयार छु ।’
संगठित अपराधको मुद्दा चल्ने डर
रास्वपा सभापति रवि लामिछानेले सरकारले संगठित अपराध र सहकारी ऐनअनुसार कारबाही चलाउने कोसिस गरिरहेको बताउनुभएको छ । संगठित अपराधमा मुद्दा चलाउने चलखेल नगर्न उहाँले सरकारलाई आग्रहसमेत गर्नुभएको छ । ‘हरेक प्रकरणमा मैले कानुनी बाटो गएर, अदालत पुगेर, प्रहरी पुगेर त्यसको प्रक्रियाबाट म बाहिर निस्केको छु’, उहाँले भन्नुभयो, ‘यहाँ पनि म जान्छु । मुद्दा चाहिँ के हो ? कहीँ संगठित अपराधको मुद्दा लगाउन सकिन्छ कि भनेर कोसिस भइरहेको छ । बस् यो चलखेल सरकारले नगरोस् । मेरो यति मात्र बिन्ती छ ।’ लामिछानेले दशैँ, तिहारजस्ता पर्वको अवसर पारेर आफूलाई पक्राउ गरिनसक्ने अनुमान गर्नुभएको छ । तर त्यसरी पक्राउ गरिए प्रतिवादमा उत्रने उहाँले चेतावनी दिनुभएको छ । ‘सरकारले अन्याय गर्यो भने नागरिकले नबचाए कसले बचाउने ?’, उहाँले भन्नुभएको छ, ‘हिजो पनि न्यायका निम्ति साथीहरूले सघाउनु भएको हो, आज पनि अन्याय गर्यो सरकारले भने चाहिँ दशैँ, तिहार, छठ जेसुकै हुन्छ अन्यायका विरुद्धमा उठ्नुहोला ।’
रवि जेल जाने निश्चित, आजीवन चुनाव लड्न पाउने छैनन् : मुकुल
रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने जेल जाने निश्चित रहेको दाबी गर्नुभएको छ । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले रवि जेल जाने निश्चित भएको दाबी गर्नुभएको हो । ‘सहकारीको विषय लगभग टुंगिन लागेको छ । रवि लामिछाने जेल जाने निश्चित छ,’ मुकुलले लेख्नुभएको छ । सहकारीको विषय लगभग टुंगिन लागेको भए पनि राहदानी दुरुपयोगको विषय बाँकी रहेको उहाँको भनाइ छ । लामिछानेको दोहोरो राहदानीको मुद्दा टुंगो लागे लामिछानेले आजीवन निर्वाचन लड्न नपाउने उहाँको ठोकुवा छ । ‘सहकारीको विषय लगभग टुंगिन लागेको छ । रवि लामिछाने जेल जाने निश्चित छ । अब कुरा गरौँ राहदानी दुरुपयोगको प्रमाणका बारेमा । ९ फागुन २०७० मा अमेरिकी नागरिकता र सोही वर्ष २१ फागुनमा अमेरिकी राहदानी लिएका रवि लामिछाने २२ जेठ २०७१ मा नातेदार भिसामा नेपाल आएका थिए । १३ जेठ २०७२ मा उनले पुरानै नागरिकता विवरण राखेर नेपाली राहदानी लिए,’ ढकालले लेख्नुभएको छ, ‘त्यसपछि उनले ४ जेठ २०७५ मा अमेरिकी नागरिकता र राहदानी त्याग्न दूतावासमा निवेदन दिएका थिए । १३ जेठ २०७२ देखि ४ जेठ २०७५ सम्म उनीसँग नेपाल र अमेरिका दुवै देशको राहदानी रहेको देखिन्छ । दोहोरो राहदानीको यो मुद्दा टुंगो लागे रवि लामिछाने आजीवन नेपालको कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।’
रविले क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित : पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाउनुभएको छ । बुधबार धनगढीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले पनि अनुसन्धानमा निःसर्त सहयोग गर्नुपर्ने बताउनुभयो । तर, साझेदारमध्ये एक छविलाल जोशी पक्राउ परिसकेको र उनले दिने बयानका आधारमा अनसन्धान अगाडि बढ्ने उहाँको भनाइ थियो । ‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,’ उहाँले भन्नुभयो, ‘कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ । जनताका बीचमा सुशासनका ठूला कुरा गरेर दल खडा गर्ने, आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्ने कुनै अर्थमा उचित होइन ।’
अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ताले समेत बुझ्नुपर्ने उहाँले बताउनुभयो । ‘एउटा कम्पनी खडा गरेर टेलिभिजन सञ्चालनका लागि प्राप्त गरेको समग्र पैसा (झण्डै ६५ करोड) सहकारीमार्फत प्राप्त गरेको र सहकारीले कम्पनीमा लगानी गर्न नमिल्ने कानुन रहेको यो पक्षलाई बुझ्नुपर्छ’ पोखरेलले भन्नुभयो, ‘कानुनविपरीत सहकारीको पैसा ल्याएर टेलिभिजन सञ्चालन गर्नु अत्यन्त हानिकारक छ ।’ रविले म निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको उहाँले बताउनुभयो । ‘क्लिन चिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर अदालतबाट सफाइ प्राप्त हुन्छ । त्योभन्दा पहिला हल्ला गरेको भरमा क्लिन चिट प्राप्त हुँदैन,’ उहाँले भन्नुभयो ।
गृहमन्त्रीलाई प्रहरीको ब्रिफिङ- छविको बयानपछि रविको अनुसन्धान सहज हुन्छ
गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलनका विषयमा प्रहरीबाट जानकारी लिनुभएको छ । गृहमन्त्री लेखकले बुधबार अपराहृन कार्यवाहक प्रहरी प्रमुख एआइजी टेकबहादुर राई, सिआइबी प्रमुख दीपक थापा र उपत्यका प्रहरी प्रमुख किरण बज्राचार्यलाई गृह मन्त्रालयमा बोलाएर जानकारी लिनुभएको हो । उहाँले रविलाई पक्राउ गर्ने हल्लापछिको सुरक्षा अवस्थाबारे पनि जानकारी लिएको प्रहरी स्रोतले जानकारी दिएको छ । जवाफमा प्रहरी अधिकारीले छविलाल जोशीको बयानपछि रविमाथिको अनुसन्धान सहज हुने बताएका थिए । ‘गृहमन्त्रीज्यूले रविलाई पक्राउ गर्ने हल्लापछिको सुरक्षा अवस्था र पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी अनुसन्धानबारे जानकारी लिनुभयो,’ छलफलमा सहभागी एक प्रहरी अधिकृतले भन्नुभयो, ‘हामीले छविलाल जोशीको बयान रविमाथिको अनुसन्धानमा महत्वपूर्ण हुनसक्छ भनेका छौँ ।’ असोज ६ गते काठमाडौंबाट पक्राउ परेका छविलालको अहिले पोखरामा बयान चलिरहेको छ । उहाँ पक्राउ परेकै दिन रविलाई प्रहरीले नियन्त्रणमा लिने हल्ला चलेको थियो । प्रहरी अधिकृतहरूले रविलाई पक्राउ गर्न अदालतको अनुमति चाहिने र सहकारीको बचत अपचलनमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीको बयान महत्वपूर्ण हुने बताएका छन् ।
जिबीसहित साहारा सहकारीका १७ जनाविरुद्ध मुद्दा, सात वर्ष कैद माग दाबी
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो । प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जिबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् । ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो । प्रतिवादीबाट बिगो असुलउपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ । त्यसैगरी, गोरखा मिडियामा गएको रकमका हकमा भने अनुसन्धान गर्न बाँकी नै रहेकाले पूरक अभियोजन लैजाने बाटो खुला राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच