
वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय आफ्नै आन्तरिक र सभापति रवि लामिछानेका व्यक्तिगत व्यवहारका कारण विषम परिस्थितिबाट गुज्रिरहेको छ । गत संसदीय निर्वाचनमा सात प्रत्यक्षसहित २० सिट र उपनिर्वाचनबाट थप एक प्रत्यक्ष सिट जितेपछि रास्वपा मुलुकको निर्णायक शक्ति बन्ने आँकलन गरिएको थियो । रास्वपाका नेताहरूले मिसन ८४ को नारा दिएर अबको संसदीय निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गर्न थालिसकेका थिए । स्थापनाको तीन वर्षमा रास्वपाले हृवात्तै बढेको आफ्नो क्रेज अब भने जोगाउन मुस्किल पर्ने देखिएको छ । रास्वपा नेताहरूको एकपछि अर्को विवादित पृष्ठभूमि, पार्टीको आन्तरिक विवाद र सभापति लामिछानेका कामहरूको जिम्मेवारी बोक्नुपर्ने दायित्वले रास्वपालाई रक्षात्मक बनाउँदै लगेको छ । रास्वपा सभापति रवि लामिछानेलाई देशका विभिन्न सहकारीबाट ठगी भएको रकम गोरखा मिडियामार्फत् अपचलन गरेको भन्दै कारबाहीका लागि संसदीय छानबिन विशेष समितिले सिफारिस गरिसकेको छ । लामिछाने स्वयं र सबैजसो रास्वपा नेताहरूले सहकारी ठगी प्रकरणमा सफाइ पाएको दाबी गरिरहँदा गत साता लामिछाने पक्राउ पर्ने हल्ला पनि चल्यो । हल्लाकै बीच रास्वपा नेताहरूले निलो क्रान्तिको उद्घोष गर्नसमेत भ्याए । यी सबै प्रसंगहरूलाई रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकाल किनारामा बसेर नियालिरहनुभएको छ । रास्वपाले जिम्मेवारी मुक्त गरे पनि कारबाहीको वैधानिकताबारे ढकालले न्यायिक लडाइँ लडिरहनुभएको छ । समसामयिक राजनीति, रास्वपाको आन्तरिक सन्दर्भ र भविष्यबारे रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकालसँग हिमालय टाइम्सका लागि नकुल अर्यालले गर्नुभएको कुराकानी :
राजनीतिक सन्दर्भमा कुरा गर्ने भनिए पनि अहिले मुलुकले गम्भीक प्राकृतिक विपत्तिको सामना गरेको छ । अति वर्षाका कारण उत्पन्न विपद्, यसको व्यवस्थापन र पूर्वतयारीमा भएको कमजोरीबारे के भन्नुहुन्छ ?
प्राकृतिक विपद् सधैँ अप्रिय हुन्छ । नेपाललाई वैज्ञानिकहरूले नै प्राकृतिक विपद्को जोखिममा रहेको भनेर उल्लेख गर्ने गरेका छन् । यो वर्ष अत्यधिक पानी पर्ने र त्यसले जनधनको क्षति हुने कुरा मौसमविद्हरूले भन्दै आएका पनि थिए । सरकारले विपद्को पूर्वतयारी सही ढंगले गर्न सकेन भन्ने कुरा हामीले बेहोर्नुपरेको क्षतिले नै पुष्टि गर्छ । सर्वप्रथम यो विपद्मा परी ज्यान गुमाउनुभएका सबैको चिरशान्तिको कामना गर्छु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु र शोकसन्तप्त परिवारजनमा समवेदना दिन चाहन्छु । अहिले पनि राहत र उद्धारकै समय छ । जिल्लास्तरमा एकद्वारको नीति भनेर सिडिओको समन्वयमा काम भइरहेको छ । यद्यपि जनप्रतिनिधि र सिडिओका बीचमा पहिलेदेखि नै विवाद भएकाले अहिले पनि त्यसको असर पर्न सक्छ । त्यसैले उद्धार र राहतको कामलाई वडामा केन्द्रित गर्नुपर्छ भन्ने मेरो सुझाव छ । जिल्ला समन्वय समितिका सभापतिलाई क्रियाशील गराउने हो भने जिल्ला तहमा विपद् व्यवस्थापनको तयारी गर्न सहज हुन सक्छ । हामीले यसपटकको घटनाबाट पाठ सिकेर आगामी दिनमा हाम्रो व्यवहार सुधार्न जरुरी छ । संरचना निर्माण गर्दादेखि उपयोग गर्दासम्म हामी सचेत हुनुपर्छ । विपद् व्यवस्थापन सबैको दायित्व हो । सबै पक्ष सचेत भएर जनताको सेवामा सक्रिय हुनुपर्छ । राजनीतिक हिसाबकिताब गरेर विपद्मा परेका जनतालाई सरकार वा प्रतिपक्षी कसैले पनि मिसलिड गर्नुहुँदैन ।
राजनीतिक विषयमै प्रवेश गरौँ । रास्वपाको संस्थापक महामन्त्री भएर पनि तपाईं यतिबेला रास्वपाको सक्रिय भूमिकामा हुनुहुन्न । कारबाही उपर न्यायिक लडाइँ लडिरहनुभएको छ । बाहिर बसेर हेर्दा रास्वपाबारे के समीक्षा गर्नुहुन्छ ?
सबैलाई थाहा भएकै कुरा हो कि रास्वपा महामन्त्रीका रूपमा मैले पार्टीकै निर्णयअनुसार समृद्धि यात्रा गरेको थिएँ । देशैभरि पुगेर रास्वपाका समर्थक एवं शुभेच्छुकहरूको धारणा बुझेर मैले जस्ताको तस्तै प्रतिवेदनमा समेटेको थिएँ । मैले त्यतिबेला नै प्रतिवेदनमार्फत् रास्वपालाई रविको पार्टी हैन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ भनेर भनेको थिएँ । यही सत्य भनेका कारण मलाई रास्वपाबाट हटाउने दुष्प्रयास भयो । यो दुष्प्रयासविरुद्ध म कानुनी लडाइँमै छु । मैले समृद्धि यात्राको प्रतिवेदनमार्फत् भनेका कुराहरू सान्दर्भिक र यथार्थरक थिए भन्ने प्रमाणित भएको छ । रवि लामिछाने क्लबले अहिले पनि रास्वपालाई रविको कर्तुत छोप्ने ढालका रूपमा प्रयोग गर्न खोजेको छ । देशभरका रास्वपाका समर्थकहरूले रविका लागि रास्वपा सती जाने त होइन भनेर चिन्ता व्यक्त गरिरहनुभएको छ । मैले भनेको कुरालाई ‘सिरियसली’ लिएको भए संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेको व्यक्तिका कारण पार्टी र आन्दोलन प्रभावित हुँदैनथ्यो । संसदीय छानबिन समितिको प्रतिवेदनले त ढिलोचाँडो रवि लामिछाने जेल जाने निश्चित गरेको छ । मैले प्रतिवेदनमा लेखेझैँ अहिले रवि लामिछाने क्लबले रास्वपालाई दुरूपयोग गरिरहेको अवस्था छ । रास्वपा यदि पार्टी बन्न तयार भएको भए रविलाई समातेर आफैंले प्रहरीकहाँ बुझाउनुप¥थ्र्यो ।
संसदीय छानबिन समितिको प्रतिवेदनले त रवि लामिछानेलाई क्लिन चिट दियो भन्ने दाबी गरिएको छ । निलो क्रान्तिको घोषणा पनि भएको छ । के भन्नुहुन्छ ?
सहकारी ठगीसँग जोडिएका अपराधहरूलाई तीन भाग लगाउने हो भने तीनमध्ये दुई भागको अपराधमा रवि लामिछाने दोषी देखिनुभएको छ । खासगरी उपसभापति स्वर्णिम वाग्लेले राजनीतिक खेल खेलेर रविलाई सिध्याउन खोजिएको छ । शिशिरजीले अन्तिम समयमा स्वर्णिम वाग्लेको निर्देशनमै प्रतिवेदनमा हस्ताक्षर गर्नुभयो । जबकि त्यसमा नोट अफ डिसेन्ट लेख्नुपर्ने कुरा उठिरहेको थियो । अर्कोतिर प्रतिवेदनको अपव्याख्या गरेर क्लिन चिटको कुरा ल्याइदिने काम भयो । यसले पनि रविलाई नै हानि गरेको छ । रास्वपाले रविजीको अपराधलाई व्यक्तिगत मान्नुपर्ने थियो । त्यसो नगरेर रविलाई नै जतिसक्दो चाँडो सक्न पाए हुन्थ्यो भनेर रविकै वरपरका व्यक्तिहरू लाग्नुभएको छ । रविजी आफैं पनि विधिको शासनभन्दा आफ्नो स्वार्थलाई प्रधान मान्ने व्यक्ति हो । त्यसमा उहाँलाई उचालेर पार्टीसमेत सती जाने वातावरण बनाइएको छ । तपाईंलाई स्मरण होला हामीले रवि लामिछाने गृहमन्त्री हुँदा कैलाश सिरोहिया पक्राउ परेका बेला विधिको शासनको पक्षमा विज्ञप्ति निकालेका थियौँ । आज सत्तामा नहुँदा चाहिँ रास्वपाले रविलाई पक्राउ गर्दा निलो क्रान्तिको धम्की दिइएको छ । रविले निलो क्रान्तिलाई आफू जोगिने अन्तिम अस्त्रका रूपमा प्रयोग गर्न खोजेका छन् । रविलाई सक्न चाहने र रास्वपा सक्न चाहनेको स्वार्थ मिलेको छ । रविलाई मैदानबाट निकालेर रास्वपा कब्जा गर्ने स्वर्णिमको राजनीतिक खेल अझै पनि बुझ्न ढिलाइ भइरहेको छ ।
त्यसो भए रवि लामिछाने र रास्वपा दुवैको राजनीतिक भविष्य सकिन्छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ?
रवि लामिछानेले आफ्नो व्यक्तिगत व्यवहारका कारण जेल जानुपर्ने स्थिति आउँदैछ । उहाँ जेल गएपछि रास्वपाले कुन बाटो लिन्छ भन्ने कुरा निर्णायक हुन्छ । रवि लामिछाने सकिँदैमा रास्वपा सकिन्छ भन्ने लाग्दैन । मैले पहिले पनि रास्वपामा रवि लामिछाने क्लब हावी भएको उल्लेख गरेको छु । रविसँग त्यस्तो क्लब सकियो भने चाहिँ रास्वपाले फेरि पनि औचित्य देखाउन सक्छ । तर, रवि सकिएपछि पनि रवि क्लबकै कुरा सुनेर अघि बढ्ने हो भने रास्वपा समस्यामा पर्न सक्छ । मेरो बुझाइमा चाहिँ निश्चित समयपछि रास्वपाका साथीहरूले रवि क्लबबाट रास्वपालाई अलग गर्नुपर्ने भन्ने मेरो धारणालाई स्वीकार गर्नुहुन्छ र रास्वपाले नयाँ जीवन पाउँछ जस्तो लाग्छ ।
रास्वपाले त रविलाई केही गरिए निलो क्रान्ति गर्छौं भनिरहेको छ नि ?
निलो क्रान्ति कुनै नयाँ अवधारणा होइन । व्यक्ति जोगाउन निलो क्रान्ति हुन सक्दैन । हामीले बन्दुकबाट होइन जनमतबाट शासन हुनुपर्छ भन्ने अवधारणालाई निलो क्रान्ति भनेका थियौँ । एकप्रकारले रास्वपा निलो क्रान्तिमा सहभागी भइसकेको हो । अहिले निलो क्रान्तिको मर्मलाई सखाप पार्ने काम भएको छ । रवि लामिछाने क्लबले रविलाई जोगाउनु नै निलो क्रान्ति हो भनेर भ्रम छर्न खोजेको छ । नेपालमा निलो क्रान्तिलाई अपवित्र बनाउने प्रयास रास्वपाभित्रको रवि लामिछाने क्लबले गरिरहेको छ । रास्वपाका जिम्मेवार साथीहरूले यो यथार्थ बुझ्नुपर्छ । रास्वपा र रवि क्लबबीच फरक छुट्याउनुपर्छ ।
संसदीय समितिले त रवि लामिछाने आफैंले सहकारी ठगी नगरेको तर गोरखा मिडियाको प्रबन्ध निर्देशकका रूपमा रकम परिचालन गरेको मात्रै भनेको छ । यत्तिका आधारमा उहाँ पूर्ण दोषी हो त ?
सहकारीबाट पैसा ल्याउने प्रक्रियामा रवि लामिछानेको संलग्नता भएको भए उहाँ सहकारीको ऋणी हो भन्ने प्रमाणित हुन्थ्यो । प्रक्रियामा उहाँको संलग्नता नदेखिनु, कागजात नभेटिनु भनेको चाहिँ ठगी हो भन्ने प्रमाणित हुनु हो । कागजात भएको भए त उहाँ अरू सरह ऋणी हुनुहुन्थ्यो । ऋण चुक्ता गरे भइहाल्थ्यो । तर, उहाँले सहकारीको कागजात वा प्रक्रियामा सहभागी नभएरै सहकारीको करोडौं रकम उहाँले चलाउनुभयो । त्यसैले यो ठगी हो । संसदीय समितिले रविजीले सहकारीबाट ऋण लिएको प्रमाणित भएन तर ठगेको प्रमाणित भयो भनेर प्रतिवेदन दिएको छ । त्यसैले रविजी पूर्ण दोषी हो । अर्को एउटा उदाहरण म भन्छु । दुईजना मिलेर एउटा मोबाइल पसल खोलेछन् । ‘क’ ले मोबाइल चोरेर ल्याउने रहेछ । ‘ख’ ले चाहिँ बेच्ने रहेछ । अहिले ‘ख’ ले मैले मोबाइल चोरेको छैन भनिरहेको छ । अनुसन्धानले के भनेको हो भने ‘क’ ले चोरेको मोबाइल बेच्ने ‘ख’ पनि दोषी नै हो । कानुनले पनि चोरीको सामान बेच्नेलाई पनि चोरसरह मानेको छ । त्यसैले रविजीको अवस्था भनेको चोरीको मोबाइल बेचेसरह हो ।
रवि र रास्वपाको भविष्यबारे त कुरा गरियो । तपाईं आफ्नै राजनीतिक भविष्य पनि संकटमा छ नि ?
म अहिले कानुनी लडाइँमा छु । यो मेरा लागि महत्वपूर्ण छ । मैले रास्वपामा नेतृत्वलाई प्रश्नमात्रै गरेको थिएँ । प्रश्न गरेकै आधारमा मलाई कारबाही गरिनु संवैधानिक छैन । हरेक राजनीतिक दल लोकतान्त्रिक हुनुपर्छ । संविधानको धारा २६९ को २ मा नेपालका राजनीतिक दलहरू लोकतान्त्रिक हुनुपर्छ भनेको छ । दलहरूले लोकतन्त्र त ल्याए तर दलहरू आफैंमा लोकतान्त्रिक हुन सकेनन् । लोकतान्त्रिक हुने भनेको दलभित्र आन्तरिकरूपमा स्वतन्त्रता हुनु हो । पार्टी नेतृत्वलाई प्रश्नसमेत गर्न नपाउने हो भने त लोकतन्त्रको उपहास भइहाल्यो नि । अहिले मेरो लडाइँ यसैमा केन्द्रित छ । मैले जित्दा रास्वपाको मात्रै होइन सबै राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रको लडाइँले जित हासिल गर्ने हो । दलहरू आफैंभित्र चाहिँ निरंकुश हुने बाहिर चाहिँ लोकतन्त्रका कुरा गर्ने क्रमको अन्त्य हुन जरुरी छ । रास्वपामा मैले गत असार १९ गते पेश गरेको जुन प्रस्ताव थियो, त्यसको औचित्य पुष्टि भइरहेको छ । मैले रवि लामिछानेलाई लगाएका आरोपहरू अब न्यायिकरूपमा पनि पुष्टि हुँदैछन् । त्यसैले रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ भन्ने मेरो एजेण्डा अझ सान्दर्भिक बनेको छ ।
यसको मतलब रास्वपाको महामन्त्रीका रूपमा पुनःस्थापित हुने विश्वास अझै छ ?
मलाई गरिएको कारबाही वैधानिक छैन । मेरो विश्वास छ जतिसक्दो चाँडो मेरो कारबाही बदर हुनेछ र म महामन्त्रीका रूपमा पुनस्र्थापित हुने विश्वास छ । म पुनस्र्थापित हुँदा पदसँगै एजेण्डा पनि पुनस्र्थापित हुन्छ भन्ने लाग्छ । म फर्केपछि रास्वपालाई रवि लामिछाने क्लबबाट मुक्त गराउने प्रयासले सार्थकता पाउँछ । यथास्थितिमा रास्वपा सुरक्षित छैन । रवि लामिछाने क्लबबाट रास्वपा असुरक्षित छ । पछिल्ला घटनाक्रमहरूले रास्वपालाई जोगाउने सम्भावना बढ्दै गएको छ । रवि लामिछाने र उनको क्लब असफल भएपछि रविको कब्जाबाट रास्वपा मुक्त भएपछि रास्वपाको भविष्य सुदृढ हुन्छ ।
यो रवि लामिछाने क्लब भनेको चाहिँ के हो ? यसमा को-को छन् ?
रवि लामिछानेलाई व्यक्ति नभएर भगवान् मान्ने, रविका व्यक्तिगत कमजोरीलाई नजरअन्दाज गर्ने, रविले गल्ती गरेको पुष्टि हुँदाहुँदै पनि उनलाई जोगाउन पार्टी र विचार सबै दाउमा लगाउने प्रवृत्ति नै रवि लामिछाने क्लब हो । मलाई व्यक्तिको नाम भन्न नलगाउनुहोला तर रविका लागि अन्धभक्त बनेर कानुन, न्याय, सुशासन, विचार र पार्टी सबै त्याग गर्न तयार हुनेहरू नै रवि क्लबका सदस्यहरू हुन् ।
अन्तिममा कुनै कारणले कानुनी लडाइँ जित्नुभएन भने तपाईको राजनीतिक भविष्य के हुन्छ ?
म भविष्यको आँकलन अहिले नै गर्न चाहन्न । उपलब्ध कानुन, प्रमाण र अभ्यासका आधारमा ममाथि भएको अन्याय खारेज हुन्छ र मैले न्याय पाउँछु भन्ने मेरो विश्वास हो । कथंकदाचित त्यस्तो नभए के गर्ने भन्ने मैले सोचेको छैन । त्यस्तो परिस्थिति आए त्यतिबेलै कुरा होला । मेरो प्रष्ट कुरा चाहिँ के हो भने नेपाली जनताको सर्वोत्तम हित र देश विकासका लागि म सधँै योगदान गर्न तयार रहन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच