
विसं २०८१ सालको दशैँ आजदेखि आरम्भ भएको छ । नेपाल र नेपालीका चाडपर्वहरू जनैपूर्णिमादेखि आरम्भ हुन्छन् भन्ने गरिन्छ । कतिपय पर्वहरू लिंग, जाति, धर्म, क्षेत्र आदि विशेषका हुन्छन् भने सबै नेपालीको साझा पर्वका रूपमा मान्ने गरिएका पर्वहरू दशैँ, तिहार हुन् । क्रिश्चियानिटीको प्रभाव, समाज विचछृंखलताको उत्कट चाहना र भाँडभैलोमा आफ्नो उत्थान देख्नेहरू बाहेकका लागि यी पर्वहरू विशेष नै छन् । जात, समुदाय, क्षेत्र आदिका कारणले भए तापनि महान् भनिएका म्हपूजा, छठ, ल्होसार आदि पर्वहरू निकटवर्ती भएका छन् । सँघारमै आइसकेका नेपाल र नेपालीका सबै महान पर्वहरूका शुभ अवसरमा सारा ब्रहृमाण्डभरिको शान्ति, देशवासीको सुख-समृद्धि र सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूको उत्तरोत्तर प्रगति, दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दछु ।
यो दशैँ केही खल्लो भएको छ । असोज १० गते बिहीवार साँझदेखि १२ गते मध्याहृनसम्म अविरल परेको वर्षाले हजारौँ नेपालीहरूको खुसी लुटेको छ । सरकारी आँकडामा करिब सवा दुई सयले ज्यान गुमाएको देखिए पनि नेपालको तथ्यांक संकलनको अवस्था हेर्दा यही नै सही भन्न सकिने अवस्था छैन । एकपछि अर्को पुरिएका बसहरू भेटिए, बाढीले बगाएको शव पाइयो जस्ता खबरहरू थपिइरहने गरेकाले यो विपत्तिले कति लालाबालालाई टुहुरो बनायो र कति आमाका काखहरू रित्तिए भन्ने निक्र्यौल गर्न अझै केही समय लाग्ने देखिन्छ । दुःखको यो घडीमा दिवंगत आत्माहरूप्रति चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । साथै हराएका भनिएकाहरूलाई परमेश्वरले परिवारका काखमा सकुशल ल्याइदिऊन् भन्ने कामना पनि गर्दछु ।
पानीको धर्म बग्नु हो बग्यो । बग्ने क्रममा खुला ठाउँ पाएसम्म कुनै मान्छे र पूर्वाधारसँग पौँठेजोरी खेल्न पानी गएको छैन । आफ्ना बाटामा अवरोधका रूपमा जो जो र जे जे आए तिनैलाई मात्रै पानीले बगाएको छ । कस्सिएर बसेका डाँडालाई पानीले चलाएको छैन ।
सरकारका कुर्सीमा बसेकाहरूले यो विपत्तिलाई दैवी विपत्ति भनेका छन् । सञ्चारमाध्यमहरूले दैवी प्रकोपका कारण यतिले ज्यान गुमाए, यति हराए, यति अरबको भौतिक पूर्वाधारको विनाश भयो आदि समाचारहरू फुकिरहेका छन् । अधिकांश नागरिकले पनि बेमौसमी वर्षाका कारण विपत्ति आइलाग्यो भनेर यसलाई दैवी विपत्तिकै रूपमा स्वीकार गरेका छन् । वास्तवमा यो विपत्ति दैवी कुनै पनि हालतमा होइन । ठोकेर भन्नुपर्दा यसलाई मानव सृजित विपत्ति नै मान्नुपर्दछ । मानवका कारण सृजित समस्याहरूले गर्दा यो विनाश निम्तिएको हो भनेर सहज रूपमा स्वीकार गर्न सक्नुपर्दछ र यसैका आधारमा भोलिको रणनीति बनाउनुपर्दछ । मानव पनि सबै सर्वसाधारण नभई संघीय होस् वा प्रादेशिक या स्थानीय सरकारमा रहेर वर्षौँदेखि रजगज गर्दै आएका भ्रष्टाचारी मानसिकताका केही मानवहरूको बद्नियतका कारण देशले यो दुर्दशा भोगेको हो । दोषको केही अंशको भागीदार सर्वसाधारण पनि छन् ।
पानीको धर्म बग्नु हो बग्यो । बग्ने क्रममा खुला ठाउँ पाएसम्म कुनै मान्छे र पूर्वाधारसँग पौँठेजोरी खेल्न पानी गएको छैन । आफ्ना बाटामा अवरोधका रूपमा जो जो र जे जे आए तिनैलाई मात्रै पानीले बगाएको छ । कस्सिएर बसेका डाँडालाई पानीले चलाएको छैन । जुनजुन डाँडालाई मान्छेले कमजोर बनाएका थिए, तिनै डाँडामा मात्रै पहिरो गएको छ । प्रकृतिले खोलो बग्न जति सीमा निर्धारण गरिदिएको थियो, त्यति नै पाउँदासम्म कुनै विनाश गरेको छैन । आफूविरुद्ध निहुँ खोज्न आएकाहरूलाई मात्रै पानीले चुनौती दिएको छभन्दा अत्युक्ति हुँदैन । कतैकतैको अपवाद बेग्लै कुरा हो ।
खोलाको दोहन प्रकृतिले कहिल्यै आफैँ गरेको होइन । खोलाले बगाएर ल्याएका माथिमाथिका ढुंगाहरूमात्रै उपयोग गरेर निर्माण कार्य गर्ने गरेको भए खोलाहरूमा शायदै यस प्रकृतिका बाढीहरू आउँथे होलान् । सजिलाका लागि डोजर प्रयोग गरेर ढुंगा बालुवा निकाल्नु एक प्रमुख कारणका रूपमा लिन सकिन्छ । तिनै बालुवा र ढुंगाको व्यापार गर्ने क्रसरधनीहरूकै हातमा राज्यसत्ता रहनु वा उनीहरूकै शुभेच्छुकहरू सत्तामा रहनुले यो विपत्ति निम्तिएको हो भन्न कुनै अप्ठेरो मान्नुपर्दैन । प्रकृतिको उपयोग गर्ने अधिकार मानवलाई छ तर दोहन गर्ने सुविधा कुनै पनि हालतमा छैन भन्ने कुरामा सबै सहमत हुने हो भने हालै आएका जस्ता विपत्ति नेपालीले भोग्न पर्दैन ।
खोला किनारमा भव्य घर ठडिएका छन् । खोलाले ओगटेको भूमिलाई कृत्रिम पर्खाल ठड्याई खोलालाई साँघुरो बनाउने काम विगत केही दशकदेखि गरिँदै आइएको छ । खोला बगेको क्षेत्रलाई दर्ता गरी आयआर्जनको स्रोत बनाउन जग्गा व्यापारी, दलालहरू र मालपोत या नापी कार्यालयमा रहेका कर्मचारीहरू कम्मर कसेर लागे । यसरी दर्ता गरिएका जग्गाहरू केही सस्तोमा पाइयो भन्दै विपत्तिको अनुमान नगरी जग्गा किन्ने र घर बनाउने काममा सर्वसाधारणहरू पनि प्रवृत्त भए । डाँडाको घर र खोलाको खेतको के भर हुन्छ र भन्ने बुढापाकाको भनाइलाई रिटेनिंग वालले थुन्ने प्रयास भएकै कारण यस्ता प्रकोपहरूको सामना गर्नु परेको कुरालाई सहजै स्वीकार गर्न सक्नुपर्दछ ।
गाउँघरतिर भएको विनाश भनेको जहाँ जथाभावी बाटा खोलिए त्यहीँ बढी विनाश भएको हो । यसपटकको वर्षाले अत्यधिक विनाश गरेको भनेको चाहिँ शहरमै हो । आजभोलिको भाषामा डोजरे विकास भन्ने गरिन्छ, त्यही नै अहिलेको पहिरोका प्रमुख कारणका रूपमा देखिएको छ । बाटो पु¥याउने ध्याउन्नमा जथाभावी डोजर प्रयोग गर्ने तर खोस्रिएका पाखापखेरामा पहिरो रोकथामका लागि पर्खाल लगाउने, वृक्षरोपण गर्ने जस्ता कुनै पनि काम नगर्ने गर्नाले पनि विपत्तिको सामना गर्नुपरिरहेको छ । पूर्णरूपमा प्रकृति वा दैवलाई दोष दिएर मानव चोखो बस्ने प्रयास अहिले चलिरहेको छ, यही खेलोमा बाँची रहृयौँ भने योभन्दा पनि कठोर विपत्तिहरूको सामना गर्नुपर्ने समय आउन सक्दछ ।
डोजरे विकास, क्रसिङ सेन्टर (ढुंगा, गिट्टी, बालुवा आदिको व्यापार) अर्थात् नदी-खोला दोहन र व्यक्तिका नाममा खोला दर्ता आदि जस्ता कार्यले केही मान्छेमात्रै धनी भएका छन् । जति धनी भए तिनीहरूले पनि दुष्कर्मको फल अहिले नै भोग्दैछन् र केहीले आफ्नो जीवन टारे पनि उनीहरूका सन्ततिमा पाप कराएको देखिन्छ । यस्ता कार्यहरूको परिणाम भनेको कर्ताकै परिवार, समाज र सम्बन्धै नभएका आमनागरिक सबैले भोग्न परिरहेको छ । प्रकृतिलाई दोष दिएर आफू चोखो हुनुभन्दा र यस्ता अवैध कार्यलाई प्रोत्साहन दिँदै आएका सरकारी मान्छेहरूलाई चोख्याउनुको सट्टा यसको प्रतिकार गर्न निकै जरुरी देखिएको छ ।
वन जंगलको फँडानी र चुरे दोहन अर्कोतिर नेपालका लागि ठूलो समस्या बनेको छ । हिउँद र खडेरीका बेला मधेसका मान्छेले पिउने पानी समेत पाउँदैनन् भने वर्षामा सारा मधेस जलडुब्बे हुने गरेको छ । भारतले नेपाली भूमि र नेपाली सीमाका साथै अन्तर्राष्ट्रिय कानून मिचेर निर्माण गरेका पूर्वाधारहरूले निम्त्याएको दशा एकातिर भोग्नु परिरहेको छ भने आफ्नै गाउँका ठूलाबडा, हुनेखाने र आफ्नै देशका नेता भनाउँदाहरूको अवैध अर्थोपार्जनको रुचिले प्रकृतिको विनाश बढेका कारण यस्ता दशाहरू नचाहँदा नचाहँदै बढिरहेका छन् । यस्ता अतिक्रमणै अतिक्रमणको पीडाबाट मुक्ति पाउन अतिक्रमणकारीहरूका विरुद्धमा अब सर्वसाधारण एकजुट हुनैपर्दछ ।
यसपटक पीडाका बीचमा दशैँ आएको छ । कतिपय दाजुभाइ दिदीबहिनीहरू गाँस, बास र कपासको पीडामा दिनरात कटाइरहेका छन् । यही कान्तिपुरको इतिहासमा सबैले खाएपछि मात्रै खाने राजा महिन्द्र मल्ल थिए । यही नेपालमा जनताको गाँस खोसेर आफूमात्रै खानेहरू पनि भेटिए ।
राजधानी रहेको काठमाडौं उपत्यकाको त कुरा गर्नैपर्दैन । सर्वसाधारणको सुविधाका लागि गठन भएका संघीय सरकार र स्थानीय सरकारका बीचको दोहोरी प्रतियोगितामै समय व्यतीत भइरहेको छ । समस्या एकातिर छ तर दुई सरकार प्रमुखहरू भने तँ बेइमान कि म बेइमान भन्दै रत्यौली मनाइरहेका छन् । देशका हुकुमवासीहरूले राजधानीका खोला किनारका जग्गाहरू कब्जा गरेर बसेका छन् र सुकुम्बासीको दर्जा लिई सुविधा उपभोग गर्दै आएका छन् । केही सीमित वास्तविक सुकुम्बासी अस्तिको दुर्दशमा मुछिन पुगे होलान्, तिनीहरूप्रति सबै सम्वेदनशील हुन जरुरी छ । अन्य हुकुमवासीलाई चाहिँ प्रकृतिले नै दण्ड दिन खोजेको पनि हुनसक्दछ ।
काठमाडौं उपत्यकामा दुई आनामा पाँचतले घर बनेका छन् । आकाशबाट बर्सिएको पानी जमिनले सोस्ने कुनै गुञ्जायस छैन । हिलो माटो देख्दा डराउने राजधानीवासीका आँगनहरू ढुंगा छापिएका छन् या सिमेन्टेड छन् । घरमा प्रयोग भएको र आकाशबाट आएको पानी सबै खोलामै पुग्नु एकमात्रै विकल्प हो । विसं २०२१ को नापीमा भएभन्दा दश भागको एक भाग पनि खोलालाई नछाडी घर बनेका छन् । महादेवले नदीलाई जटामा फनफनी घुमाए झैँ रिटेनिङ वालहरूभित्र प्राकृतिक बहावमा बग्ने खोलाहरूलाई नियन्त्रण गर्ने प्रयास कलियुगका मान्छेहरूले गरिरहेका छन् । अनि विनाश नभित्रिए के भित्रिन्छ त ?
यद्यपि यिनै पीडाका बीचमा दशैँ आएको छ । आज कतिका घरमा अन्नको थुप्रो र पैसाको बिटो छ । यही मुलुकका कतिपय दाजुभाइ दिदीबहिनीहरू गास, बास र कपासको पीडामा दिनरात कटाइरहेका छन् । यही कान्तिपुरको इतिहासमा सबैले खाएपछि मात्रै खाने राजा महिन्द्र मल्ल थिए । यही नेपालमा जनताको गाँस खोसेर आफूमात्रै खानेहरू पनि भेटिए । यो महान् पर्वको अवसर हो साथै पर्वमा पीडा थपिएको छ । जनता पीडामा बस्न नपरोस् भनेर काठमाडौँका सिंहदरबारलाई घर आँगनमा ल्याउने भन्दै स्थानीय सरकारहरू गठन गरिएका हुन् । आफ्नो गाउँमा कोही भोको नांगो छ कि छैन भनेर पालिका अध्यक्ष र वडा अध्यक्षहरूले अनुगमन गर्लान् भन्ने आशा गरिएको छ । पालिकाहरूले हुनेखानेबाट सहयोग मागी हुँदा खानेहरूलाई तृप्त बनाउँछन् भन्ने विश्वास जगाऊन् ।
मोबाइल र ल्यापटपमा दिन बिताउने चाड दशैँ होइन । जुवा तास र मदिरामा रात बिताउने पर्व यो होइन । दुर्गापूजा गर्दै शक्तिको आराधना गर्ने नेपालीहरूको महान् चाड हो दशैँ । नवरात्रभरि चण्डी पाठ गरी सद्विचार जगाउन आवश्यक छ । टीकाका दिनमा मान्यजनबाट आशीर्वाद थापेर भाइचारमा वृद्धि ल्याउन जरुरी छ । सात पुस्ता पारिका मान्छे मरेको दश महिना भयो भनेर टीका परित्याग गरी आफ्नो संस्कृति, परम्परा आदि लोप गराउनेतर्फ कोही उन्मुख नहोऊन् । सबैको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच