
यस वर्ष पीडाका बीच पर्व मनाउनुपर्ने बाध्यता आइपरेको छ । दशैँको पूर्वारम्भमा देशव्यापी रूपमा भारी वर्षा भएका कारण व्यापक मात्रामा धनजनको क्षति हुनपुग्यो । दशैँमा पानी पर्यो भने त्यस्तो दशैँलाई बोलीचालीमा ‘हिलेदशैँ’ भन्ने गरिन्छ । दशैँ जस्तो महान् पर्वका समयमा पानी परेर हिले दशैँ भयो भने पनि त्यसको सामना गरेर मानिसहरूले रमाइलो मान्नुपर्ने बाध्यता हुन्छ । यसपटक दशैँका अबका दिनमा पानी पर्ला नपर्ला त्यो भोलिको कुरो हो तर दशैँको ढोको खुल्ने बेलामा घोर वर्षाले देशमा जे जस्तो र जे जति बिगार भयो त्यो अपूरणीय छ ।
वर्षाबाट आएको बाढीपहिरोमा परेर जे जति मानिसहरूको मृत्यु भयो र धेरै संख्यामा बेपत्तासमेत भए तिनका परिवारजन र आफन्त अहिले शोकमा छन् । ती पीडित परिवारको घरमा दशैँ त आएन आएन त्यसविपरीत शोक र पीडाको पहाड थुप्रिन पुगेको छ । केही संख्यामा मानिसहरू दशैँ मान्न भनेरै विदेशबाट पनि आएका छन् । यसका साथै देशभित्रैका विभिन्न ठाउँमा बसेकाहरू पनि आ-आफ्नो गाउँ फर्किरहेका छन् । यसो गर्दा तिनको यात्रा सहज छैन तैपनि परिवारसँगको पुनर्मिलन हुने भेटघाट र सँगै बसेर दशैँ मान्न पाइने चाहनाले तिनीहरू जस्तोसुकै जोखिम मोलेर भए पनि आ-आफ्नो गाउँघर फर्किरहेका छन् । तैपनि गतविगत वर्षको जस्तो रौनक यस वर्ष देखिएको छैन ।
विगत केही दशकदेखि त्यसै पनि गाउँघर रित्ता बन्दै गएका थिए । गाउँघर रित्तिँदै जाँदा चाडपर्वहरू पनि फिक्का बन्दै गएका छन् । त्यसमाथि पनि यस वर्षको बाढीपहिरो विगत चार दशक यताकै ठूलो हो भनेर बूढापाकाहरूले भनेका छन् । यो अकल्पनीय स्वरूपको थियो । राजधानी उपत्यकाभित्रै सबैभन्दा बढी बिगार गर्नेगरी बाढी आएको थियो । यो घाउ अहिले ताजै छ । मृत्यु भएकाहरूको काजकर्म अझै सकिएको छैन । परिवारजनको मात्र कुरो होइन अन्य देख्ने र सुन्नेहरूका मनमा गढेको पीडा पनि निको भएकै छैन । यस पटकको दशैँ सबैका लागि खल्लो बन्नपुगेको छ । तैपनि बाढीपहिरोबाट प्रभावित नभएका मानिसका लागि चाड त चाडै हो भन्ने मान्यताका कारण दशैँको तयारी भइरहेको छ ।
पोहोर-परारको जसरी बजारमा कुनै रौनक छैन । बजारहरू सुचारु भएका छन् तर व्यापारीहरू व्यापार नभएर चिन्तित छन् । पर्व लक्षित व्यापार गत केही वर्षदेखि प्रभावित बन्दै आइरहेको छ । २०७२ सालको महाभूकम्पदेखि यता चीनका नाकाहरू अवरुद्ध बन्दै गएका हुँदा व्यापार सुचारु बन्न नसकेको हो । भूकम्पपछि व्यापारीहरूका कन्टेनरहरू बीच बाटामै रोकिएका कारण व्यापारीहरूको लगानी खेर गएको थियो । त्यसबेलादेखि राम्ररी सुचारु हुन नसकेको व्यापार अझै पन्पिन सकको छैन । हालको अवस्था पनि त्यही स्वरूपको छ । दशैँ मनोरञ्जकभन्दा पनि औपचारिक जस्तो बन्नलागेको छ । डोजरे विकास भनिने गाउँघरका पाखापखेराहरू छियाछिया हुनेगरी भत्काएर निर्माण भएका बाटाहरूका कारण वास्तवमा अहिलेको अवस्था आएको हो भन्ने गरिन्छ ।
भूगर्भविद् तथा वातावराणविद् दुबै पक्षबाट आलोचना भइरहेको वर्तमान अवस्थाको कथित विकास वास्तवमा एकातिर अस्थायी प्रकृतिको छ भने अर्कातिर यसले सर्वव्यापी रूपमा असन्तुलनको अवस्था निम्त्यिाइरहेको छ । त्यसैकारण वर्तमान अवस्थालाई मानवीय विनाशले नै निम्त्याएको हो भन्दा अन्यथा हुनेछैन । नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रमा यस पटकको वर्षाको प्रभाव कम पर्यो जसले गर्दा पश्चिमतिर यातायात अवरोध भएको छैन । राजधानी काठमाडौंबाट बाहिर जाने नाकाहरूमध्ये पनि झ्याप्ले खोलाको पहिरो पन्छाएपछि पश्चिमतर्फ जाने यातायात सुचारु बन्नपुगेको छ । तर, पूर्व जाने सडकहरूमा व्यापक मात्रामा क्षति पुगेको हुँदा राजधानीपूर्वको यातायात सुचारु हुन सकेको छैन ।
सबैभन्दा भरपर्दो मानिएको जापानी शैलीमा जापानीहरूबाटै निर्माण भएको बनेपा-बर्दिवास राजमार्ग तत्काल मर्मत हुन नसक्ने गरी भत्किएको छ । धेरै ठाउँमा पुल बगेका छन् । नेपाली सेनाले केही ठाउँमा बेलीब्रिज निर्माण गरेको भए पनि सबै ठाउँमा यातायात सुचारु हुनेगरी पुल तथा सडक मर्मत तत्कालका लागि सम्भव छैन । राजधानीबाट जिल्ला जानेहरूले वैकल्पिक बाटोको खोजी गरिरहेका छन् । बाढीपहिरोपछि सञ्चालनमा आएका गाडीहरू दुर्घटनामा परिरहेका खबर पनि आइरहेका छन् । यसले गर्दा आमनेपालीमा चिन्ता थपिँदै गएको छ । यसो भए तापनि प्रभावित हुनबाट जोगिएकाहरूले मन अमिलो बनाएर भए पनि दशैँ मनाउनै परेको छ । शोकमा परेकाहरूले पनि शोकलाई शक्तिमा बदल्नुपर्ने बाध्यता आइपरेको छ ।
हामी सबैले अबका दिनमा पुनः हालै व्यहोरेको जस्तो धनजनको क्षति नेपाल र नेपालीले व्यहोनु नपरोस् । सारा पीडालाई बिर्सिएर सकेसम्म भव्य बनाएर चाड मनाऔं । आमनेपाली जो स्वदेशमा वा विदेशमा जहाँ भए पनि बडा दशैँ २०८१ सकेसम्म भव्यताका साथ मनाऔं । हाम्रोतर्फबाट सबैमा सुखशान्ति, समृद्धिको कामना । हाम्रा समग्र सम्पादक पत्रकारहरू, प्रशाननिक कर्मचारीहरू, लेखा, बजार व्यवस्थानमा कार्यरत कर्मचारीहरू, संवाददाता, समाचारदाता, लेखकहरू, विज्ञापनदाता तथा सम्पूर्ण पाठक शुभचिन्तकहरूमा इम्प्रेसन पब्लिकेसन तथा मिडिया प्रा.लि.को तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच