
काठमाडौं । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका-१ धारापानीमा निर्माणाधीन २२० केभीको सबस्टेसन अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका-३ खुदीमा निर्माणाधीन सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो । धारापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू जारी छन् । धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचना निर्माण धमाधम भइरहेको छ ।
बेंसीशहर नगरपालिका-८ का स्थानीयले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नुपर्ने, लाइन नसार्ने भएमा मार्गधिकारमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने माग राख्दै विगत दुर्ई वर्षदेखि अवरोध गर्दै आएका छन् ।
प्राधिकरणका अनुसार धारापानी र खुदी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १०० एमभिए तथा १३२/३३ केभी, ३० एमभिए र २२०/१३२ केभी, १६० एमभिए तथा १३२/३३ केभी, ५० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन् । दुवै सबस्टेसनमा स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत् सबस्टेसन तथा प्रसारण लाइन निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी जनशक्ति थप गरी प्रसारण लाइन तथा सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गर्नुभयो । साथै उहाँले धारापानी क्षेत्रका स्थानीय बासिन्दासँग छलफल गरी सबस्टेसन तथा प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गर्न आग्रहसमेत गर्नुभयो ।
घिसिङले भन्नुभयो, ‘मस्र्याङ्दी करिडोर प्रसारण लाइनमा जोड्ने गरी सम्झौता गरिएका जलविद्युत् आयोजनाहरूको निर्माण सुरु भइसकेको छ, त्यसैले यो लाइन जतिसक्दो छिटो निर्माण सम्पन्न गर्नुपर्नेछ, समयतालिका, कामको गुणस्तरलगायतलाई विशेष ध्यान दिएर निर्माणलाई तीव्रता दिनुपर्नेछ, भौगोलिक विकटता चिर्दै मनाङमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ तर भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या छ, आपूर्तिको सुधारका लागि पनि सक्दो छिटो प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्नेछ ।’ सबस्टेसन निर्माणस्थल वरपरका स्थानीय बासिन्दाले राखेका जायज माग पूरा गर्न आयोजना सधैँ तयार रहेको बताउँदै उहाँले पर्यटकीयस्थल मनाङको विद्युत् आपूर्ति सुधारका लागि योजनाबद्धरूपमा काम अघि बढाइसकिएको बताउनुभयो ।
मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११४ किलोमिटर डबल सर्किट प्रसारण लाइनलाई तीन प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६८ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । सो खण्डमा पर्ने १९९ टावरमध्ये १२५ वटाको जग हालिएको छ । ६५ टावर खडा गरिएको छ । बाँकी स्थानमा काम भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत लमजुङको उदीपुर र चितवनको भरतपुरमा २२० केभीका सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन् ।
तेस्रो प्याकेजअन्तर्गत धारापानी-खुदी-उदीपुर ४६ किलोमिटर प्रसारण लाइन र धारापानी तथा खुदी सबस्टेसन निर्माणाधीन छन् । खुदी-उदीपुर करिब १६ किलोमिटर प्रसारण लाइन खण्डमा १७ वटा टावरको जग हालिएको छ भने आठवटा खडा गरिएको छ । उक्त खण्डअन्तर्गत बेंसीशहर नगरपालिका-८ का केही स्थानीयले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नुपर्ने, लाइन नसार्ने भएमा मार्गधिकारमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने माग राख्दै विगत दुई वर्षदेखि निर्माणमा अवरोध गर्दै आएका छन् । उक्त स्थानमा १२ वटा टावर निर्माण गर्नुपर्नेछ । टावर निर्माण गर्न जग्गा अधिग्रहणका लागि मुआब्जा रकम निर्धारण भई करिब ८० प्रतिशत जग्गाधनीले रकम बुझिसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई भेटी खुदी-उदीपुर खण्डमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुर्ई वर्षदेखि निर्माणमा अवरोध छ, हाम्रोतर्फबाट स्थानीयका जायज माग पूरा गर्ने प्रतिबद्धता पटक-पटक जनाउँदै सोहीबमोजिम काम पनि गरिरहेका छौँ, यस्तो महत्वपूर्ण प्रसारण लाइन निर्माण अब रोक्न सकिँदैन, यसका लागि आवश्यक सहयोग सहजीकरण गरिदिनुप¥यो ।’ निर्माणमा देखिएको अवरोध हटाउन स्थानीय प्रशासनतर्फबाट सहजीकरण तथा समन्वय भइरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले राष्ट्रिय प्राथमिकताप्राप्त प्रसारण लाइन निर्माणमा आवश्यक सहयोग गरिने बताउनुभयो ।
खुदी–धारापानी खण्ड प्रसारण लाइन निर्माणका लागि अधिग्रहण गरिने निजी जग्गाको मूल्यांकन प्रक्रियामा छ । सोही खण्डमा भौगोलिकरूपमा विकट र चुनौतीपूर्ण स्थानमा प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र युरोपेली लगानी बंैक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको समग्र अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच