काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा आज (सोमबार) अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन तयार भइसकेको र आज सरकारी वकिल कार्यालयमा पेस गरिने कास्की प्रहरीले जनाएको छ ।
अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको जानकारी दिँदै कास्कीका प्रहरी प्रमुख एसपी श्यामबावु ओलियाले भन्नुभयो, ‘मुद्दाको टिमले प्रतिवेदनमा काम गरिरहेको छ ।’ लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । लामिछानेविरुद्ध सम्बद्ध कसुरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुनेछ । सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दायर गरेपछि अदालतले धरौटीमा छाड्ने, साधारण तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्नेबारे आदेश दिनेछ । संसदीय विशेष छानविन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको निष्कर्ष निकालेको छ । अपचलनमा संलग्न आरोपमा लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङ पक्राउ परेका हुन् । सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त मानिएका जिबी राई भने फरार छन् ।
पूर्वडिआइजी जोशी असोज ६ मा पक्राउ पर्नुभएको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ९० दिनभित्र उहाँहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गरिसक्नु पर्छ । जोशी पक्राउ परेको दिनबाटै अरू चार जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गर्नुपर्ने बाध्यता सरकारसँग छ । सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय विशेष समितिको छानविन निष्कर्ष छ ।
सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा पाँच करोड ५८ लाख ल्याएको भेटिएको छ । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर जथाभावी खर्च गरेको देखिएको र यसको रकम तिर्ने कार्यमा लामिछाने सरिक भएको भन्दै ठगीमा संलग्न रहेको पुष्टि हुने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाउन लागेको हो ।
प्रहरीले अनुसन्धानका क्रममा लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक पनि बरामद गरेको छ । यसलाई लामिछाने सहकारी ठगीमा संलग्न बलियो प्रमाणका रूपमा प्रहरीले पेस गर्ने तयारी गरेको छ । प्रहरीका अनुसार, गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो । लामिछानेले चाहिँ आफू गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि रित्तो चेक काटेर घर्रामा छाड्ने गरेको जिकिर गर्नुभएको थियो । बयानका क्रममा लामिछानेले भन्नुभएको थियो, ‘ड्रयरमा राखेका बेला अरू कसैले त्यो चेकमा नाम लेखेर पठाएको हुन सक्छ ।’
पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछाने माथिको अनुसन्धानपछि अरू चार सहकारी अनियमितताको छानविनसम्म पुगेको थियो । सूर्यदर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानोपाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबीको नाममा दुईपटक गरेर गाडी खरिद गर्न ४६/४६ लाख रुपैयाँ ऋण प्रवाह गरिएको अनुसन्धानबाट खुलेको थियो । लामिछाने सहकारी ठगीमा संलग्न रहेको आरोप लागिरहेका बेला माओवादी-एमाले-रास्वपा गठबन्धनको सरकारमा उपप्रधान एवं गृहमन्त्री बन्नुभएको थियो ।
तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले यो मामिलालाई आफ्नो प्रमुख एजेण्डा बनायो र संसदीय समिति गठन गर्न माग गर्दै संसद्मा अवरोध जारी राख्यो । लामो रस्साकस्सीपछि सहकारी समस्याबारे जाँच गर्न संसदीय समिति गठन गर्न दलहरू तयार भए । त्यसक्रममा एमाले सांसद् सूर्य थापा नेतृत्वको समितिले लामिछानेलाई सहकारीमा बचतकर्ताले राखेको रकम अपचनमा दोषी ठहर गरेको थियो । समितिको प्रतिवेदनमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी (कुमार रम्तेल सचिव रहेको) बाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ । बाँकी रकम विभिन्न व्यक्तिको नाममा ऋण लिएर गोर्खा मिडिया नेटवर्कमा लगेको भेटिएको थियो । सांसद थापा समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले पूर्वडिआइजी जोशीलाई ६ असोजमा पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा वनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।
पूर्वगृहमन्त्री लामिछानेसँग कास्की, रुपन्देही, चितवन, काठमाडौं र पर्सामा बयान लिइएको छ । अन्य जिल्लाका प्रहरी अधिकारीहरू चाहिँ कास्की प्रहरीले अभियोजन प्रक्रिया अघि बढाएपछि मात्र आफूहरू उक्त प्रक्रियामा जाने मनस्थितिमा रहेको बताइएको छ । रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौरका अनुसार बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलनसम्बन्धी अनुसन्धान पनि अन्तिम चरणमा पुगेको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
वीरगञ्जको सानोपाइला सहकारी संस्थामा भने लामिछानेविरुद्ध पूरक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिनुभएको छ । अनुसन्धान अधिकारीहरूले प्रतिवेदन बुझाएपछि मात्र जिल्लास्थित सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा अघि बढाउँछ । यदि लामिछानेमाथि ठगीको मात्र अनुसन्धान गरिएको भए प्रहरीले २५ दिन र संगठित अपराधको मात्र अनुसन्धान गरिएको भए ६० दिनसम्म थुनामा राख्न पाउँथ्यो । तर, संगठित अपराधको अनुसन्धानका लागि भने ९० दिनसम्म नियन्त्रणमा लिन पाइने कानुनी व्यवस्था छ ।
रविको खातामा २१ करोड आएको पुष्टि
रास्वपा सभापति रवि लामिछानेविरुद्ध सबैभन्दा बलियो प्रमाण सम्पत्ति शुद्धीकरणमा भेटिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धान गरेको कास्की प्रहरीले रवि र उहाँकी श्रीमती निकिता पौडेलको खातामा झण्डै साढे २१ करोड आएको प्रमाण फेला पारेको हो । सूक्ष्म ढंगले अनुसन्धान गर्दा रवि र निकिताको बैंक खातामा अस्वाभाविक ट्रान्जेक्सन देखिएको जानकारी दिँदै अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतले सम्पत्ति शुद्धीकरण मुद्दाले नै रविको सजाय निर्धारण गर्ने देखिएको दाबी गरेका छन् । पछिल्लो चार वर्षमा ग्लोबल आइएमई र सिद्धार्थ बैंकमा रहेको रविको खाता तथा नेपाल बैंक र सिद्धार्थ बैंकमा रहेको निकिताको खातामा कुल २१ करोड ४० लाख ४२ हजार कारोबार देखिएको खुलासा भएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविविरुद्ध सहकारी ठगीभन्दा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा बलियो प्रमाण फेला परेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार स्वर्णलक्ष्मी, सहारा, सुप्रिम, सूर्यदर्शन र सानोपाइला सहकारीबाट गोरखा मिडियामा पुगेको करोडौँ रकम परिचालनको अधिकार पाउनुभएका रविले श्रीमती निकिता पौडेलको बैंक खातामा ३५ लाख रुपैयाँ जम्मा गरेको समेत भेटिएको छ । रविले निकिताको नाममा गोरखा मिडियाको नामको चेक काटेर दिएको प्रमाण प्रहरीले पाएको छ । गोरखा मिडियाबाटै रविले ससुरा उद्धव पौडेलको स्वामित्व रहेको गोपीकृष्ण मुभिजको नाममा २५ लाखको चेक काटेको भेटिएको छ । सहकारी ठगी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारीबाट गोरखा मिडियामा पुगेको ६५ करोड ५४ लाख रुपैयाँ गएको देखाए पनि प्रहरी अनुसन्धानका क्रममा थप तीन करोड बढी गोरखा मिडियामा पुगेको फेला परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच