१४. एयरपोर्टमा मण्डले आतंक :
२०३४ सालमा बीपी कोइराला अमेरिका पुगेर उपचार गरी फर्कनु हुँदा छात्रावासबाट हामी धेरैजना स्वागतका लागि एयरपोर्ट गएका थियौं । हामीले बीपीलाई देख्नसमेत पाएनौं तर निर्दलीय सत्ताको अराजक गुण्डा जमातको आक्रमणमा धेरैजना परे । एयरपोर्टको चउरमा बीपी कोइरालाकी धर्मपत्नी सुशीलाको सारी च्यात्नेदेखि स्वागतमा गएकाहरूमाथि आक्रमण भयानक हुँदा पनि प्रहरीहरू मौन थिए । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल नामको त्यो आतंककारी जमातका हर्ताकर्ताहरू अहिलेको गणतन्त्रमा र हिजोका प्रजातन्त्रमा पनि शीर्ष राजनीतिमा बसेर मोज गरिरहेका छन् ।
मण्डले आक्रमणमा मरणासन्न भएकाहरूमा विश्वनाथ अधिकारी (लमजुङ), गोपाल पराजुली (नवलपरासी, पछि प्रधानन्यायाधीश) मीनेन्द्र रिजालहरू हुनुहुन्थ्यो । हामी भने भाग्यौं । यिनै मण्डले र प्रहरीहरू मिलेर ०३२ सालमा त्रिवि कीर्तपुरमा आतंक मच्चाउँदा विजय सिग्देल, देवेन्द्र नेपाली, हरि न्यौपानेहरू मरणासन्न भएको सुनेका थियौं । विद्यार्थीहरूलाई आन्दोलन गर्न उक्साएको अभियोग लगाएर बिसी मल्ल, पीताम्बर दाहाल, हिरण्यलाल श्रेष्ठ, सहाना प्रधान, राजेश्वर आचार्य, दुर्गा पोख्रेल, वीरेन्द्रभक्त श्रेष्ठ, अर्जुननरसिंह केसी, अरुणकुमार झा, जयप्रकाश सिल, नारायण आचार्य र दुईजना कर्मचारीसहित बाइस जनालाई प्राध्यापन र सेवाबाट निष्काशन गरिएको थियो (राजेश्वर आचार्यको कृतिबाट) । अपराधीहरूले पारितोषिक पाउने र न्याय र विवेकको पक्षमा उभिनेहरू दण्डित हुनुपर्ने त्यो समय थियो ।
२०३५ मा क्या.थापा र भीमनारायण श्रेष्ठको हत्याले विस्तारै लोकतन्त्रवादीहरूमा तरंग पैदा गर्दै थियो । त्यहीबीचमा नेपाल विद्यार्थी संघको लेटरप्याड आदि छापामारीमा परेपछि म, सुनिल दाहाल, तुलसी पौडेल, दिनेश पौडेलहरू पक्राउ पर्यौं । तेजप्रकाश पण्डित भने निकै दिन भूमिगत भए ।
यति हुँदाहुँदै हामी राति राति छात्रावासमा बैठक गर्ने र प्रजातन्त्रका पक्षमा सक्रिय हुने कार्यक्रमहरू बनाइरहन्थ्यौं । छात्रावासमा तनहूँबाट आएका तेजप्रकाश पण्डित, हरिकृष्ण पौडेल पनि सक्रिय थिए तर नेतृत्व गर्ने कतिपय अग्रजहरू छात्रावासबाट वाहिर गएपछि उनीहरू अध्यापन र सरकारी सेवामा पुगे । तैपनि जो थिए नयाँ साथीहरूको सक्रियता कम थिएन । हाम्रो सम्पर्क छात्रावासबाहिर अरू साथीहरूसँग पनि हुन लाग्यो । यतिखेर मलाई सबैभन्दा स्मृतिमा आइरहने ती नामहरू हुन् गोपाल पराजुली, बद्रीनरसिंह केसी, केदारनरसिंह केसी, नारायणकाजी श्रेष्ठ, सुरेश मल्ल, राजेन्द्र वाग्ले, प्रकाशशरण महत, होमनाथ पोख्रेल, पदम पोख्रेल (गोर्खा) आदि । हामी शिव भूर्तेल, बेनुपराज प्रसार्इं, बलबहादुर केसी, प्रमोद पराजुली, केशव केसीहरूसँग पनि पुगेका हुन्थ्यौं । सोलुखुम्बु सल्यानका केशवबाबु केसी, शिव अधिकारी (धादिङ), चितवनका रामकृष्ण घिमिरेहरूलाई नचिने पनि उहाँहरू जुलुसमा अग्रस्थानमा रहेको देखिन्थ्यो ।
१५. विद्यार्थी आन्दोलनको तयारी :
२०३५ सालमा क्या.यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई सरकारले हत्या ग¥यो । त्यसविरुद्ध जुलुस निकाल्न तयारी गर्नेमा गोपाल पराजुली, दयानाथ खरेल, रामप्रसाद गौडेल, रामचन्द्र खड्का (मीना खड्काका भाइ)हरू सक्रिय हुनुहुन्थ्यो । हामी पनि लाग्यौं तर आन्दोलनको रूप लिन सकेन त्यसले । त्यसभन्दा पहिले २०३४ सालमा ऋषिकेश शाहको सक्रियतामा वीरेन्द्रकेशरी पोख्रेलको निवास कालिकास्थानमा मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल नेपालले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने योजनाका साथ डिसेम्बर दशमा कार्यक्रम अयोजना गरेको थियो ।
मलाई केही सम्झना भएसम्म त्यहाँ दमननाथ ढुंगाना, कुसुम श्रेष्ठ, मार्शल जुलुम शाक्य, नूतन थपलिया, तिलक शाही, कृष्णप्रसाद भण्डारीहरू सहितको बाक्लो उपस्थिति थियो । होमनाथ दाहालसहित पत्रकारहरू पनि हुनुहुन्थ्यो । निर्दलीय निरंकुशसत्तामा मानव अधिकारको कुरा आफैंमा अर्थहीन हुनेरहेछ । हामी केही विद्यार्थीहरू पनि पुगेका थियौं त्यस भेलामा । प्रहरी हस्तक्षेप भयो र पूर्ण हुन पाएन त्यो कार्यक्रम ।
हामीले अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ०३५ मंसिर २५ (डिसेम्बर १० का दिन) संस्कृत छात्रावासमा एउटा भव्य कार्यक्रम राख्यौं । त्यहाँ मैले पहिलो पटक सार्वजनिक रूपमा राजनीतिक भाषण गरेको हूँ । त्यो दिन, गोपाल पराजुली, उमा रेग्मी, मीना पाण्डे, व्रतराज आचार्यसहित हामी धेरै सहभागी थियौं । गोपालजी र उमा रेग्मीले निकै चर्को भाषण गर्नुभयो । भित्र मन्तव्य सकेर जुलुस निकाल्ने तय भएको थियो । प्लेकार्डहरू पनि तयार थिए । निर्दलीय व्यवस्थाविरुद्ध नारा थिए । त्यो जुलुस बिस्तारै छात्रावासको ढोकाबाट निस्कँदै थियो ।
म अघि थिएँ । ढोकाकै छेउमा दुईजना प्रहरी इन्स्पेक्टरहरू रहेछन् । दुवैजनालाई म चिन्थेँ । एकजना शारदाप्रसाद पराजुली र अर्को गोपाल पाठक । पराजुली दाजु मेरो पिताजीपट्टि बुढामावली काफ्लेहरूको घरसँगै सिरहाको बन्दीपुरको हुनुहुन्थ्यो । चिनजान थियो । मलाई भाइ भन्नुहुन्थ्यो । गोपाल पाठक चितवनका हुनुहुुुन्थ्यो । शारदा दाजुसँगै हुनाले मलाई भाइ नै भन्नुहुन्थ्यो । शारदा दाजु पहिले अखिलको सदस्य, गोपाल नेपाल विद्यार्थी संघको तर यति मिल्थे दुवैजना कि कसैले पनि विपरीत विचारका हुन् भन्न सक्दैनथे । दुवैजना मेरो छेवैमा आएर भन्नुभयो : हेर पिटेर तितरबितर गराउने आदेश छ तर हाम्रा केटाहरूलाई भुइँमा लाठी बजार्नु, कसैलाई पनि नहिर्काउनु भनेका छौं हामीले तर प्लेकार्ड खोस्छौं ।
जुलुस अगाडि बढ्यो । बिस्तारै विश्वज्योतितिरबाट रत्नपार्क, वीर अस्पताल हुँदै नयाँ सडक पुग्यौं । त्यहाँ पुग्नासाथ प्रहरीले डाङडाङ बजाउन लागे । प्लेकार्ड खोसे तर कसैलाई पनि लाग्ने गरी हिर्काएनन् । गोपाल पाठकको हत्या पञ्चायती राजका गाँजा तस्करहरूले सिरहामा गरे । उहाँका छोरा शरद पाठक राजनीतिमा सक्रिय छन् । शारदा भने बहुदल आएपछि डिआइजी हुनुभयो । उहाँको पनि निधन भइसकेको छ । जुलुस प्रकरणले राजनीतिक वातावरणलाई एक्कासि नयाँ मोडमा पुर्याएको अनुभव सबैले गर्दै थिए ।
२०३५ मा क्या.थापा र भीमनारायण श्रेष्ठको हत्याले बिस्तारै लोकतन्त्रवादीहरूमा तरंग पैदा गर्दै थियो । त्यहीबीचमा नेपाल विद्यार्थी संघको लेटरप्याड आदि छापामारीमा परेपछि म, सुनिल दाहाल, तुलसी पौडेल, दिनेश पौडेलहरू पक्राउ पर्यौं । तेजप्रकाश पण्डित भने निकै दिन भूमिगत भए । (यो प्रसंग अन्यत्र पनि उल्लेख छ) पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई सैनिक शासनले फाँसी दिएको निहुँमा नेपालस्थित पाकिस्तानी दूतावासमा विरोधपत्र दिन गएको जुलुसमा प्रहरी हस्तक्षेप र गिरफ्तारीले स्थितिलाई आक्रामक बनायो ।
गोपाल पराजुली, बलबहादुर केसीहरूलाई प्रहरीले पक्राउ गर्यो । मैले आन्दोलन, गिरफ्तारी बारेका सबै समाचारहरू रिठ्ठो नबिराई नेपाल टाइम्समा दिन लागेँ । चन्द्रलाल झाजी पनि असाध्य बोल्ड । पञ्चायतका हाँगा छिमल्दै रूख ढाल्ने कुरा गरिरहनुहुन्थ्यो । म २०३५ जेठदेखि नै पत्रकारितामा संलग्न थिएँ । मेरो भूमिका तीनोटा भए । पहिलो अध्ययन, दोस्रो पत्रकारिता र तेस्रो आन्दोलनमा सक्रियता ।
१६. विवादका बीच विद्यार्थी आन्दोलन सुरु :
भुट्टो काण्डपछि विद्यार्थी आन्दोलन संगठित भयो । नेपाल विद्यार्थी संघका सभापति शेरबहादुर देउवा आन्दोलन गर्नु हुँदैन भन्ने तर रामचन्द्र पौडेल, मच्छिन्द्र पाठक, चिरञ्जीवी वाग्ले, बेनुपराज प्रसाईं, शिव भूर्तेल, प्रदीपमान सिंह (गणेशमान सिंहका ज्येष्ट सुपुत्र), गंगाधर लम्सालसहित हामी सबै साथीहरू आन्दोलनका पक्षमा भयौं । आन्दोलनका लागि आधार तयार पार्ने भन्दै हामी साथीहरू राति पर्चा छर्ने र संगठन गर्ने काममा निरन्तर थियौं । कुनै दिन नुवाकोटका नेता अर्जुननरसिंहको कालधारास्थित डेरामा समेत मिटिङ हुने गथ्र्यो ।
त्यस मिटिङमा धेरै पटक हामी सुरेश मल्ल, बद्रीनरसिंह केसी, केदारनरसिंह केसी, प्रकाशशरण महत, नारायणकाजी श्रेष्ठ, होमनाथ पोख्रेल, राजेन्द्र वाग्ले, तेजप्रकाश पण्डितसहित सहभागी हुन्थ्यौं र पर्चा छर्न हामी दौडिरहेका हुन्थ्यौं । (यी नामहरू अहिले कुनै न कुनै ङपमा स्थापित छन्) । अरू साथीहरू पनि थिए तर यतिखेर सम्झना हुनसकेन । पर्चा छर्दा राति अबेर भएपछि म र सुरेश मल्ल मेरा ठूलो भिनाजु मणिराज वाग्ले र उहाँका मित्र चूडामणि काफ्ले बस्नुभएको डेरामा सुत्न पुग्थ्यौं । पछि भानिज कुलप्रसाद कोइराला पनि त्यही आएर बस्न लाग्नुभयो ।
छेत्रपाटी, धोबी चउर नजिकको डेरामा एकरात ढिलो गरी पर्चा छरेर हामी पुगेका थियौं, तुरुन्त प्रहरी घेरामा परिएछ । सुरेश पछाडिपट्टिबाट हामफालेर खेतैखेत भागे । म त्यही अड्किएँ । बिहानै केशव खरेल, रामचन्द्र र हरिबहादुर मल्ल आएर पक्राउ गरेपछि म हनुमान ढोका थानामा बस्न पुगेँ । बेनुपराज प्रसाईं र शिव भुर्तेल नेतृत्वमा देखिनु भएको थियो । आन्दोलनलाई सञ्चालन गर्न बेनुपजी र शिव भुर्तेलहरूको विद्यार्थी नेतृत्व समर्थ पनि थियो ।
अन्ततः आन्दोलनसामु सरकार झुक्न बाध्य भयो । विद्यार्थीहरूले नमागेको भए पनि निर्दलीय पञ्चायतको गुण्डादल भनेर कुख्यात राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल खारेज भयो । राष्ट्रिय विकास सेवा (राविसे) पनि स्थगित भयो । विद्यार्थीका मागलाई लिएर शाही आयोग बन्यो ।
बीपी कोइरालाको मत साना आन्दोलनमा शक्ति क्षय गर्नु उचित छैन भन्ने छ भन्दै कतिपय साथीहरू पन्छिनुभयो तर बीपीले वर्गीय हितको माग जतिखेर पनि उठाउनुपर्छ भनेर समर्थन गर्नुभएपछि पहिले बीस सूत्रीय र पछि चार थप गरिएपछि चौबीस सूत्रीय मागमा आन्दोलन सुरु भयो । कम्युनिष्ट विद्यार्थी संगठनबाट शरणविक्रम मल्ल, कैलाश कार्की, भरत पोख्रेलहरू नेतृत्वमा हुनुहुन्थ्यो । विद्यार्थी फेडरेसनको नेतृत्व प्रभातमणि दीक्षित (महेशमणि दीक्षितका छोरा) हुनुहुन्थ्यो । क्षेत्रपाटीको कुनै घरमा भएको बैठकमा गणेशमानजीको निकटस्थ भीमसेनदास प्रधान सहभागी हुनुहुन्थ्यो र त्यही बैठकमा हिसिला यमी पनि दिल्लीबाट आउनुभएको थियो । निकै राम्रो छलफल भयो आन्दोलन सञ्चालन गर्ने विषयमा ।
साथीहरू धमाधम पक्राउ पर्नुभयो । अन्दोलन तीव्र हुँदै गयो । नेताहरू सबैलाई हाउस एरेष्ट (गृह नजरबन्दी) मा राखियो । म समाचार लेख्नेदेखि पर्चा पम्प्लेट लेख्ने, छर्ने आदि काममा सक्रिय थिएँ । अन्ततः पक्राउ परेँ । सरकारले आन्दोलन रोक्न सबै छात्रावासहरू खाली गरायो । संस्कृत छात्रावास पनि खाली गरियो । साथीहरूको बिचल्ली भयो । तोयनाथ पाण्डे सहायक डिन हुनुहुन्थ्यो । उहाँले विद्यार्थीहरूको मर्का बुझेर बाटो खर्चको व्यवस्था गरिदिनुभयो । अन्ततः आन्दोलनसामु सरकार झुक्न बाध्य भयो । विद्यार्थीहरूले नमागेको भए पनि निर्दलीय पञ्चायतको गुण्डादल भनेर कुख्यात राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल खारेज भयो । राष्ट्रिय विकास सेवा (राविसे) पनि स्थगित भयो । विद्यार्थीका मागलाई लिएर शाही आयोग बन्यो ।
वाल्मीकि क्याम्पसमा हाम्रा अतिरिक्त मागहरू पनि थिए । छात्रावासमा बस्नेहरूका लागि सिरक डस्ना दिनुपर्ने, सिदाको रकम वृद्धि गर्नुपर्ने र क्याम्पसमा छात्रवृत्ति पाउनेहरूलाई छात्रवृत्ति वृद्धि गर्नुपर्ने सहित पुस्तकालय आदिका माग थिए । तोयनाथ गुरुले आफ्नो स्वभाव अनुसार पहिले त हप्काउनुभयो तर पछि सहमत हुनुभयो । म र व्रतराज आचार्यले विद्यार्थीहरूका तर्फबाट हस्ताक्षर ग¥यौं र प्रशासनका तर्फबाट गुरुले नै गर्नुभयो । यो सफलताले मलाई साथीहरूमाझ थप परिचित गरायो ।
खारेजीमा परेका मण्डले र मसाल समूह नामका विद्यार्थीहरूले सरकारी निर्णयविरुद्ध चर्को आवाज उठाउन लागे । मसाल सम्झौता धोका भएको र कांग्रेसीहरूले राजनीति गरेको आरोप लगाउँदै थिए भने मण्डलेहरूमा आफ्नो वर्चस्व गुमेकोमा चिन्ता । वैशाखको अन्तिममा हामी जेलबाट छुटे पनि नेताहरूको गृहबन्दी यथावत थियो । साम्यवादीहरू मध्ये मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, विष्णुबहादुर मानन्धर, हेमन्त बिसी, नरबहादुर कर्माचार्य, सिद्धिलाल सिंह, कमर शाह, महेशमणि दीक्षित, लोककृष्ण भट्टराई (साम्यवादी विचारक, लेखक तथा सक्रिय नेता ओखलढुंगा) आदिको पूर्णसमर्थन थियो विद्यार्थी आन्दोलनमा ।
उहाँहरू धेरैजना जेलमा हुनुहुन्थ्यो । बीपी कोइराला, गृहबन्दी र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मंगलादेवी सिंह, मार्शल जुलुम शाक्य, ओमकार श्रेष्ठ, वीरनाथ कर्माचार्य, जगन्नाथ आचार्य, विपिन कोइराला, शेरबहादुर देउवाहरू सबै नै जेलमा हुनुहुन्थ्यो । विद्यार्थी छुटे पनि नेता छुटेका थिएनन् । हामीले सल्लाह ग¥यौं र सहमति कायम गर्यौं : नेताहरू छाडिदेऊ भन्दा राजनीतिक माग हुने भएकाले हामीले हाम्रा अभिभावक छाडिदेऊ भन्ने एक सूत्रीय माग राखेर जुलुस निकाल्नु उपयुक्त हुन्छ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच