वीरगञ्ज । वीरगञ्जमा मंगलबारबाट सुरु भएको जय ट्रफी मेन्स एलाइट कपको फाइनल खेल ‘ब्याड वेदर’(खराब मौसम)का कारण रोकिएको छ । ढिलो गरी सुरु भएको खेलमा मौसम नसुध्रिएपछि १७ ओभरमात्रै खेल भएर पहिलो दिनको खेल सकिएको हो ।
त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच यो फाइनल खेल भइरहेको छ । लिग चरणमा दुईदिवसीय भएका जय ट्रफीको फाइनल खेल भने तीनदिवसीय चल्नेछ ।
फाइनल खेलमा टस जितेर आर्मी क्लबले पहिले फिल्डिङ रोजेको थियो । खेल सकिँदा अनुभवी ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि पुलिस क्लबले दुई विकेट गुमाएर ८५ रन जोडेको छ ।
कुशलले ५१ बलको सामना गर्दै ६ चौकाको मद्दतले ५० रन जोड्नुभएको थियो । अर्का ओपनर दिलीप नाथ भने शून्य रनमै आउट हुनुभएको थियो । तेस्रो क्रममा ब्याटिङमा आउनुभएका अमित श्रेष्ठले २० रनको योगदान दिँदै आउट हुनुभएको थियो । त्यसपछि मैदानमा ओर्लिनुभएका अर्जुन साउदले १३ बलको सामना गरी खाता खोल्नुभएको छैन । आर्मीका तर्फबाट सोमपाल कामी र साहब आलमले एक-एक विकेट लिनुभएको थियो ।
२०८० माघमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको शीर्ष चारमा रहेका चार टोलीले जय ट्रफी एलिट कपमा सहभागिता जनाएका थिए । प्रधानमन्त्री कपको फाइनलमा पुलिसले आर्मीलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । प्रधानमन्त्री कपको फाइनल खेलेका दुवै टोली पुनः एलिट कपको फाइनलमा भिडेका छन् । आर्मीका लागि यो खेल अघिल्लोपटक फाइनलमा बेहोरेको हारको बदला लिने मौका हुनेछ भने पुलिसका लागि आफ्नो बर्चस्व कायम राख्ने अवसर रहनेछ ।
वीरगञ्जको नारायणी रंगशालामा भइरहेको फाइनल तीनदिवसीय संरचनामा रहेको छ, जुन नेपालमा पहिलोपटक भइरहेको छ । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल दुईदिवसीय संरचनामा भएका थिए । तर, फाइनल तीनदिवसीय भइरहेको हो ।
प्रतियोगितामा सहभागी चारवटा टोलीले तीन-तीन खेल खेलेका थिए । पुलिसले खेलेका तीन खेलमध्ये दुईमा जित हात पारेको थियो भने एउटा खेल बराबरीमा टुंगिएको थियो । तीन खेलमा पुलिसले ६६ अंक हासिल गरी पहिलो स्थान बनाएको थियो । तीन खेलमा एउटामा मात्र आर्मी विजयी भएको थियो भने दुईवटा खेल बराबरीमा टुंगिएका थिए । ५५ अंक ल्याएर आर्मी दोस्रो स्थानमा थियो ।
बागमती र मधेश प्रदेशले आफ्ना तीन खेलमध्ये एउटामा पनि जित हात पार्न सकेनन् । मधेशले दुईवटा हारको सामना गर्नुपरेको थियो भने एउटा खेलमात्र बराबरीमा टुंगिएको थियो । यसैगरी बागमतीले दुई खेलमा बराबरी गरेको थियो भने एउटा खेलमा हारको सामना गर्नुपरेको थियो । बागमतीले ४१.५ अंक र मधेश प्रदेशले ३१ अंक हात पारेका थिए ।
दोस्रो खेलमा पुलिसले मधेश प्रदेशलाई एक इनिङ्स र ३५ रन तथा अन्तिम खेलमा बागमतीलाई पाँच विकेटले पराजित गरेको थियो । आर्मीलाई दोस्रो खेलमा बागमतीसँग जित निकाल्न कठिन परेको थियो । उक्त खेल पनि बिनानतिजा बराबरीमा टुंगिएको थियो । अन्तिम खेलमा आर्मीले मधेशलाई आठ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच