
काठमाडौं । लस एन्जलसको भीषण आगलागी नियन्त्रणमा लिने विश्वको नम्बर एक महाशक्ति अमेरिकाको प्रयास पनि नाकाम बनेको छ । विश्व इतिहासकै खतरनाक आगो झन् झन् डरलाग्दो र विनाशकारी बन्दै जाँदा नियन्त्रणका प्रयासहरू असफल सावित हुँदै गएका हुन् । आगो निभ्नुको साटो तीव्र गतिमा फैलिरहेको छ । अमेरिकी सेनाको सी-१३० विमान र फायर हेलिकप्टरले हरसम्भव प्रयास गरिरहेका छन् । तर, संसारको महाशक्तिका सबै प्रयास हावाको गति र आगोको शक्तिसामु अपर्याप्त र असहाय सावित भइरहेका छन् ।
आगलागीले अर्बौं डलरको सम्पत्ति र प्राकृतिक स्रोतको विनाश गरेको छ । करिब दुई लाख मानिस विस्थापित भएका छन् । नागरिकका आलिशान बंगला र सरकारी संरचना ध्वस्त भइरहेका छन् । तर, अझै आगो नियन्त्रणमा आएको छैन । भीषण आगो फैलिएको एक सातामा (मंगलबारसम्म) २४ जनाको ज्यान गएको छ । आगो अझै नियन्त्रणमा आउनेभन्दा फैलिने क्रममै छ ।
रोयटर्सका अनुसार लस एन्जलस आगलागीका कारण २५० अर्ब डलरभन्दा बढी क्षति भएको छ । यो अझै बढ्ने अनुमान गरिएको छ । आगामी दिनमा हावाको गति अझै बढ्न सक्ने भएकाले आगो थप फैलिने चेतावनी दिइएको छ । अधिकारीहरूले मानिसहरूलाई जोखिमपूर्ण क्षेत्रहरू तुरुन्तै छोड्न अपिल गरेको समाचारमा उल्लेख छ ।
अमेरिका भौतिक विकास, वातावरणीय उपेक्षा र हतियार संस्कृतिमा निर्भर छ । विकासको भाषा बोल्ने र विश्वमा आधुनिकता, प्रविधि र विकासको आँधी ल्याउने अमेरिका आफैँ भीषण आगलागीको शिकार बनेको छ । विश्वलाई सुरक्षा र विकासको आश्वासन दिने अमेरिका प्राकृतिक महाविपत्तिसामु निरीह बन्नुपरेको छ । दमकल र आधुनिक प्रविधिले सुसज्जित सुरक्षाकर्मीका प्रयासका बाबजुद पनि आगो नियन्त्रणबाहिर छ । विपद्मा अवसर खोज्ने केही अराजकहरू खाली घरमा लुटपाट गर्न थालेको समाचारहरू आएका छन् । डढेलो फैलिएको क्षेत्रमा चोरी र लुटपाटका घटना बढेका छन् । डढेलो प्रभावित क्षेत्रमा लुटपाट र मूल्यवृद्धिका घटना बढेको एपीले जनाएको छ ।
हलिउड हिल्स क्षेत्रमा साढे पाँच हजारभन्दा बढी भवन ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । बिली क्रिस्टल, म्याण्डी मूर, जेमी ली कर्टिस र पेरिस हिल्टनलगायत धेरै प्रख्यात चलचित्र कर्मीका घर, व्यावसायिक भवनहरू र सार्वजनिक संस्थाहरू आगलागीमा नष्ट भएका छन् । जंगलमा लागेको आगो अमेरिकाको इतिहासमा सबैभन्दा विनाशकारी सावित भएको छ । ठूलो क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनु र खानेपानी अवरुद्धले संकट थपिएको छ । पानीको चाप कम भएकाले आगो निभाउन दमकललाई समस्या भइरहेको छ ।
आगो लस एन्जलसको उत्तरी भागबाट सुरु भएको थियो, जसले पछि धेरै ठूला सहरहरूलाई आफ्नो नियन्त्रणमा लियो । हावाहुरी र सुक्खा मौसमका कारण आगलागी झनै बढेको हो । आगलागीको ठोस कारण भने खुल्न सकेको छैन । आगोको अगाडि लाचार भएर बसिरहेको छ ।
लस एन्जलसको यो आगलागीले जीवन र सम्पत्तिको क्षति मात्र गरेको छैन, तर खडेरी र जलवायु परिवर्तनको बारेमा पनि गम्भीर चेतावनी दिएको छ । यो आगो पृथ्वीमा देखापरिरहेको संकटको प्रतीक हो । आगलागीबाट अमेरिका मात्र होइन सम्पूर्ण विश्वले पाठ सिक्नुपर्छ । एजेन्सीको सहयोगमा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच