
काठमाडौं । मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ६ महिना पूरा भएको छ । संसद्मा दुईतिहाइ बहुमत बलियो सरकार भए पनि प्रभावकारी काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सत्तारूढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका नेताहरू सरकारप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सत्तारूढ दलभित्रै सरकारप्रति असन्तुष्टि व्यक्त सुरु हुन थालेपछि ओली नेतृत्वको सरकारको आयुबारे विभिन्न टीकाटिप्पणी र बहस सुरु भएको छ ।
सरकारको आयुबारे विभिन्न आशंका उत्पन्न भएका बेला प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आयु चाहिँ घोषणा गर्न नसके पनि अब ओली नेतृत्वको सरकार धेरै नटिक्ने दाबी गर्नुभएको छ । मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले वर्तमान सरकार टिकिराखोस् भन्ने चाहना नरहेको स्पष्ट पार्दै भन्नुभयो, ‘यो सरकार छिट्टै आफैँ ढल्छ । यो सरकार असंवैधानिक र अप्राकृतिक छ । त्यसैले सरकार टिकिराखोस् भन्ने हाम्रो चाहना छैन । मैले मिति घोषणा गर्न सक्दिनँ । तर, यो सरकारको आयु चाहिँ धेरै छैन ।’ सरकारको क्रियाकलाप हेर्दा नै यो धेरै नटिक्ने अवस्था आएको उहाँको भनाइ छ । अहिले आफूहरू जनताको बीचमा रहेको र त्यहीँ रिल्याक्स मिलिरहेकाले सरकार गिराउने र बनाउने खेलमा पार्टी नलाग्ने प्रचण्डको दाबी छ । आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासनको काममा लागिरहेका बेला भ्रष्टाचारीलाई बचाउन रातारात सदनका दुई ठूला दल मिलेर सरकार गठन गरिएको आरोप लगाउँदै प्रचण्डले भन्नुभयो, ‘भ्रष्टाचारीलाई बचाउने उद्देश्यका साथ नै सदनभित्रका पहिलो र दोस्रो पार्टीहरू मिलेर सरकार बनाएका हुन् । प्रायः पहिलो र दोस्रो ठूलो दल सरकार बनाउने कुरामा लोकतन्त्रमा मिल्दैनन् । मिल्न हुँदैन यदि लोकतन्त्रलाई सुदृढ बनाउने हो भने । दुई तिहाइको सरकार भए पनि संसद् छलेर अध्यादेशमार्फत मुलुक चलाउने चेष्टा भइरहेको छ । यो निरीह सरकार हो ।’ सरकारबाट हटेर जनतामा जान पाउँदा आफूलाई रिल्याक्स महसुस भएको दाबी गर्दै पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका प्रण्डले भन्नुभयो, ‘अहिले हामीले पनि रिल्याक्स गरेका छौँ ।
प्रधानमन्त्री हुनुभन्दा अहिले बढी सहज महसुस गरेको छु । जनताको विश्वास, भरोसा र माया पनि बढेको महसुस हुन्छ ।’ विद्युत् प्राधिकरणका एमडी हटाउने, संवैधानिक आयोगमा उपसभामुख हटाउन हस्ताक्षर गर्ने, बाढीपहिरोमा जनतालाई राहत दिन नसक्ने तथा सदनबाट बनाउनुपर्ने कानुन अध्यादेशबाट अघि बढाएर सरकारले कुबाटो रोजेको उहाँको टिप्पणी छ । अध्यक्ष प्रचण्डले वर्तमान सरकार अपारदर्शी भएको समेत आरोप लगाउनुभयो । कांग्रेसभित्रै सरकारलाई लिएर तीव्र असन्तुष्टि रहेको समेत जिकिर गर्दै प्रचण्डले भन्नुभयो, ‘यस सरकारप्रति जनता खुसी छैनन्, सरकारलाई लिएर कांग्रेसभित्र पनि गहिरो र चरम असन्तुष्टि देखिन्छ ।’ सरकारलाई सदन खुलाउन माग गरेको र सदनका लागि कुरिरहेको उहाँको भनाइ छ ।
ओली सरकार बनाउन राष्ट्रपतिलाई दबाब दिएको जिकिर
अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई दबाब दिएर संविधानको धारा ७६(३) अनुसार सरकार गठन हुन नदिएको दाबी गर्नुभएको छ । राष्ट्रपतिलाई दबाब दिएर असंवैधानिक सरकार बनाएको उहाँको जिकिर छ । वर्तमान केपी ओली नेतृत्वको सरकार बन्न नदिने रणनीतिअनुसार नै संसद्बाट आफूले विश्वासको मत लिएको खुलासा गर्दै प्रचण्डले भन्नुभयो, ‘यो अपारदर्शी र अप्राकृतिक सरकार बन्न नदिन विश्वासको मतका निम्ति अन्तिममा म भोटिङमा गएँ । भोटिङमा गएपछि फेल भयो । फेल भएपछि नेपाली कांग्रेसको नेतृत्वमा दलको नेता प्रधानमन्त्री हुनुपर्ने थियो । तर, उहाँहरू (कांग्रेस र एमाले)ले संविधान मिच्नुभयो । राष्ट्रपतिजी अन्तिम समयसम्म संविधानको धारा ७६(३) अनुसारको सरकार बनाउन तयार पनि हुनुपथ्र्यो । तर, मैले बुझेअनुसार राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो । त्यसैले यो सरकारलाई मैले असंवैधानिक भनेको हुँ ।’
कम्युनिष्ट भनेर मात्र पनि हुँदो रहनेछ : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा थुप्रै विकृति र विसंगति देखापरेको बताउनुभएको छ । ४१औँ पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘मुलुक चलाउनुपर्ने जिम्मेवारी पाएका कम्युनिष्ट पार्टीका भनिएका मानिसहरू छन् । तर, जनता सन्तुष्ट हुन सकेका छैनन् । कम्युनिष्ट भनेर मात्र पनि हुँदो रहनेछ ।’ गुर्भाचोभ र यत्सिन पनि कम्युनिष्ट भए पनि उनीहरूले कम्युनिष्टहरू सिध्याएको उदाहरण दिनुभएका अध्यक्ष नेपालले कम्युनिष्टका नाममा गैर कम्युनिष्ट काम भइरहेको टिप्पणी गर्दै भन्नुभयो, ‘कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम गर्नुभएन । कम्युनिष्टको नाममा कम्युनिष्टको मर्यादा राख्नुपर्छ । त्याग तपस्या, बलिदानको कीर्तिमान कायम गर्नुपर्छ ।’ राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने नेपालको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच