काठमाडौं । प्रतिपक्षी राजनीतिक दलहरूले तत्काल संसद् अधिवेशन आहृवान गर्न सरकारसँग माग गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका विपक्षी दलहरूको बैठकले जनसरोकारका विषय र कानुन निर्माणबारे छलफल गर्न तत्काल संसद् अधिवेशन आहृवानको माग गरेका हुन् । सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेसमेत विपक्षी दलहरूले निर्णय गरेका छन् ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भन्नुभयो, ‘जनप्रतिनिधिको संस्थालाई छलेर सरकारले यसरी नै काम अघि बढाइरहृयो भने संसद्को विशेष अधिवेशनसमेत बोलाउन प्रयास हाम्रो समझदारी बनेको छ ।’ उपमहासचिव पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाउँदै भन्नुभयो, ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ । ओलीमा स्वेच्छाचारी ढंगले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं ।’
संविधानअनुसार संसद् अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले बैठक आहृवान गर्नसक्ने व्यवस्था छ । विशेष अधिवेशन आहृवानको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गर्न कम्तीमा ६९ सदस्यको हस्ताक्षर आवश्यक हुन्छ । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसद्मा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्नो धारणा राखेका थिए । बैठकले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्षसमेत निकालेको छ ।
आज साझा धारणा सार्वजनिक गर्दै
विपक्षी दलहरूले सरकारको काम कारबाहीको सम्बन्धमा साझा धारणा बनाउन दुई सदस्य कार्यदल गठन गरेको छ । कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगा श्रेष्ठले जानकारी दिनुभयो । सरकार संसद् छलेर अध्यादेशबाट अलोकतान्त्रिक, स्वेच्छाचारी ढंगले शासन गर्न लागेको ठहर गर्दै दबाब दिने उद्देश्यले साझा ड्राफ्ट बनाउने निर्णय भएको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार आज (बिहीबार) पत्रकार सम्मेलन गरी विपक्षीको साझा धारणा सार्वजनिक हुन्छ । विपक्षीको ड्राफ्टमा सरकारले ल्याएको अध्यादेश, ६ महिनाको काम कारबाही, संसद् अधिवेशन बोलाउने विषय, समसामयिक विषयलगायत समेटिने श्रेष्ठले जानकारी दिनुभयो ।
सरकार मध्यावधिमा जाने लाइनमा : प्रचण्ड
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकार मध्यावधि निर्वाचनमा जाने तयारीमा रहेको ब्रिफिङ गर्नुभएको छ । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले मध्यावधिमै जाने तयारीस्वरूप अहिले विभिन्न अध्यादेश जारी भएको दाबी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएपछि सत्तारूढ कांग्रेसभित्र पनि असन्तुष्टि बढ्दै गएको ब्रिफिङ गर्दै प्रचण्डले भन्नुभयो, ‘संविधान संशोधन अहिले ०८७ मा मात्रै हुन्छ भनेर केपीजीले भन्नुभयो । कांग्रेसभित्र अन्तरविरोध देखिइरहेको छ । यो सन्दर्भमा सरकारको मूल नेतृत्व मध्यावधिमा जाने लाइनमा छ । सरकार यसैमा अग्रसर छ । सरकारको भूमिका हामीले हेरिरहेका छौँ । अब हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पर्ने बेला भइसक्यो ।’
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : नेपाल
विपक्षी दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको दाबी गर्नुभएको छ । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै अध्यक्ष नेपालले उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने धारणा राख्नुभएको हो । बंगलादेश, दक्षिण कोरिया, श्रीलंका लगायतका देशमा देखिएको असन्तुष्टि नेपालमा पनि भित्रभित्रै बढ्दै गएको जिकिर गर्दै बैठकमा अध्यक्ष नेपालले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय परिस्थिति र नेपालभित्रकौ परिस्थितिले पनि उथलपुथलको सम्भावना छ । असन्तुष्टि भित्रभित्रै चरम रूपमा बढेको छ । यसलाई विपक्षी दलहरू मिलेर राजनीतिक रूपमा सेटल गर्नुपर्छ । अन्यथा अर्को लाइनमा जानसक्छ । मुलुकमा अर्को अप्ठेरो आउनसक्छ । धेरैवटा विषयलाई एउटै डालोमा हालेर लिने प्रवृत्ति बढेकाले पनि मुलुक अर्को ट्र्याकमा जानसक्छ ।’
सिके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
विपक्षी दलहरूले जनमत पार्टीलाई पनि विपक्षी दलहरूको बैठकमा सहभागी गराउने प्रयास गरेका छन् । संयुक्त वक्तव्य सार्वजनिक गर्नेगरी आज (बिहीबार) पनि विपक्षी दलहरूको बैठक बस्दै छ । बुधबार बसेको विपक्षी दलहरूको बैठकमा अन्य साना दलहरूलाई पनि समेट्ने प्रयास भइरहेकोबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ब्रिफिङ गर्नुभएको थियो । नेपाल मजदुर किसान पार्टी, जनमोर्चा, जनमत पार्टी, जनता समाजवादी पार्टी लगायतका दलहरूलाई विपक्षी मोर्चामा सहभागी गराउने पहल भइरहेको अध्यक्ष नेपालको भनाइ थियो ।
रविमाथि राज्यले प्रतिशोध र दमनकारी व्यवहार गरेको ठहर
विपक्षी दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साधेर निरन्तर दमनको शैली अपनाएको ठहर गरेको छ । प्रतिपक्षी दलहरूको बैठकमा पार्टी सभापति रवि लामिछानेको विषयमा छलफल भएको जानकारी दिँदै रास्वपा कार्यवाहक सभापति डिपी अर्यालले भन्नुभयो, ‘सहकारीको विषयमा कसैलाई बिहान अदालतमा ल्याएर साँझ छोडेको छ । सञ्चालकहरूलाई पनि त्यसरी छाडेको छ । रविजीमाथि राज्यको प्रतिशोध हो । यस किसिमको दमन व्यवहार गर्नुहुँदैन भन्ने बैठकको निष्कर्ष रहृयो ।’
साना दलको आवाज कमजोर पार्न थ्रेस होल्डको प्रयोग
विपक्षी दलहरूले साना दलको आवाज कमजोर पार्न सरकारले थ्रेसहोल्ड बढाउन खोजेको निष्कर्ष निकालेको छ । सरकारले दुई दलीय व्यवस्थातिर देशलाई लैजान खोजेको विपक्षी दलको बैठकले निष्कर्ष निकालेको जानकारी दिँदै माओवादीका केन्द्रका उपमहासचिव वर्षमान पुनले भन्नुभयो, ‘दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड बढाउने तयारी भइरहेको छ । त्यसमा साना दलहरूको आवाजलाई कमजोर पार्ने, जनताको सहभागीलाई कमजोर पार्ने, लोकतन्त्रको सुन्दरता भनेको समावेशिता हो त्यसलाई कमजोर बनाउने कथित दुई दलीय व्यवस्थातिर लैजाने प्रयास भइरहेको छ ।’
समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने
समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले यही माघ १६ गते काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिनुभयो । बैठकका निर्णयबारे जानकारी दिँदै विश्वकर्माले भन्नुभयो, ‘माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गरौँ भन्ने निर्णय भएको छ । हामीले कार्यक्रम भनेको आमसभा भनेका हौँ । उपयुक्त स्थान हेरेर सभा हुन्छ । हाम्रा पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चा थोरै धिमा गतिमा बस्यो । अब त्यसलाई अघि बढाउने प्रतिबद्धता भएको छ ।’ समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै विश्वकर्माले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच