
झापा । झापाका पाँचवटा पालिकामा बुधबार स्थानीय सरकारले बिदा दिएका छन् । लोपोन्मुख सन्थाल समुदायको सोहराय पर्वको अवसरमा स्थानीय बिदा दिइएको सम्बन्धित पालिकाले जनाएका छन् ।
बिर्तामोड नगरपालिका, बाह्रदशी, हल्दिबारी, झापा र कमल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । बुधबार ती पालिकाको सबै सेवा बन्द हुनेछन् । झापाका गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिका पनि सन्थाल समुदायको बाक्लो बसोबास भएका पालिका हुन् । ती पालिकामा बिदा दिइएको छैन । झापाका प्रायः सबै पालिका (१५ वटा )मा नै सन्थाल समुदायको बसोबास रहेको छ ।
सोहराय सन्थाल समुदायको प्रमुख पर्व हो । यो पर्व ६ दिनसम्म मनाइने गरिन्छ । सांस्कृतिकरुपले पूजाआजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्दै सन्थाल समुदायले यो पर्व मनाउने गरेको छ ।
सोहराय पर्वको पहिलो दिनलाई 'उम' भनिन्छ । सन्थाल समुदायको मुख्य पुजारी नाइकीले गाउँ बाहिर बनाइएको खुला ठाउँमा विधिपूर्वक ‘गड’ पूजा गर्छन्। ‘गड’ पूजामा मराङ बुरू, गोसाईं ऐरा र जाहेर ऐरा देउतालाई चामलको पिठो, मेथी, सुपारी, लड्डु र जाँड चढाउने गरिन्छ । आफ्नो संस्कार अनुसार पूजा गर्ने चलन छ ।
सोहरायको दोस्रो दिनलाई ‘दाका’ भनिन्छ । दाकाकै दिन चेलीबेटी र पाहुनालाई निमन्त्रणा गर्ने र उनीहरूले ल्याएको कोसेली पूर्वजका नाममा चढाइन्छ । तेस्रो दिन ‘खुन्टोव’ हो । यो दिन गाईगोरुसहित अन्य चौपायालाई जिस्काउँदै उनीहरूसँग खेल्नुका साथै पूजा गरिन्छ ।
सोहरायको चौथो दिन गाउँका मुखिया (माझी हडाम) सहित सन्थाल समुदायका अगुवाहरु समूह बनाएर पालोपालो घरघरमा गएर मिठोमसिनो र मदिरा खाने चलन रहेको छ । यो सोहरायको चौथो दिनलाई ‘जाली’ भनिन्छ । यो दिन जाली काम गरिने भएकाले यसको नाम जाली राखिएको सो समुदायका अगुवाहरुको भनाइ छ ।
सोहरायको पाँचौँ दिन नजीकको खोला तथा पोखरीबाट माछा र गँगटो मारेर ल्याउने र खाने गरिन्छ । यो दिनलाई ‘हाकुकाट्कोम’ भनिन्छ ।
पर्वको छैटौं दिन (अन्तिम दिन) सिकार गरेर मासु खाने चलन छ । तर, त्यो चलन अहिले बिस्तारै घट्दै गएको छ । यो दिन सो समुदायले घरमै पशुपक्षी काटेर खाने चलन छ । घरमा नभए गाउँघर तथा बजारबाट मासु ल्याएर खाने गरिन्छ । यो पर्वमा सन्थाल समुदायका मानिस विभिन्न बाजागाजा बझाउँदै गाउँगाउँ पुगेर नाचगान गर्ने चलन छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच