व्यापारीको दबदबा भएको देशमा उत्पादन कसरी बढ्छ ! : पवन गोल्यान, अध्यक्ष, गोल्यान समूह

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 11 mins

विभिन्न व्यवसायमा संलग्न गोल्यान समूह नेपालको प्रतिष्ठित अद्योगिक घरानामा पर्छ । करिब ५० वर्षको व्यावसायिक विरासत भएको यो समूहले टेक्सटाइल उद्योग, होटल, जलविद्युत् हाइड्रो हुँदै पछिल्लो समय कृषि क्षेत्रमा समेत हात हालेको छ । त्यसो त नेपालको निजी क्षेत्र सामाजिक उत्तरदायित्वको ख्याल नगरी मुनाफाको पछि दौडिने वर्गमा पर्छ किनभने छिटो मुनाफा चाहिएको छ । सोही कारण धेरैजसो औद्योगिक घराना आयात व्यापारमा जोडिएका हुन् । यसरी आयात व्यापार मौलाएपछि कतिपय स्वदेशी उद्योग संकटमा पर्दै गएको अवस्था छ ।

तथापि पछिल्लो समय निजी क्षेत्र कृषितर्फ मोेडिन थालेको छ । तर उसको ध्यान कृषि उत्पादनभन्दा पनि बजारीकरणमा छ । केही वर्षअधिमात्रै कृषि क्षेत्रमा हात हालेको गोल्यान समूहले कृषिमा संभावना नै संभावना देख्न थालेको छ । माटो ब्राण्डबाट कृषि उपजको बजारीकरण लागेको गोल्यान समूहका अध्यक्ष पवन गोल्यानसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-

माटो ब्राण्डमार्फत कृषिमा हात हाल्नुभएको छ, माटोको अवस्था के छ ?
झापामा हामीले खेती सुरु गरेका छौं । त्यसैगरी किसान र सहकारीहरूसँग जोडिएर कन्ट्रयाक्ट फार्मिङ पनि गरेका छौं । हामी किसान र सहकारीले उत्पादन गरेका रैथाने अग्र्यानिक उत्पादन माटो ब्राण्डमार्फत बजारीकरण गर्छौ । तरकारी फलफूलका साथै खाद्यान्नको माटो ब्राण्डमार्फत बजारीकरण गर्दै आएका छौं ।

आफैंले चाहिँ कति जग्गामा खेती गर्नुभएको छ ?
दुई सय बिघामा गर्न खोजिएको हो तर जग्गाको व्यवस्थापन सहज नभएकाले अहिले १४० बिघा खरिद गरेर काम सुरु गरेका छौं । चक्लाबन्दीको काम अझै सकिएको छैन । जग्गा पाउनभन्दा पनि चक्लाबन्दी गर्न गाहृयो हुनेरहेछ । केही जग्गा बगर र नदी कटान क्षेत्रमा रहेकोले नदीको छेउमा अन्य रूख बिरुवा लगाउने सोचिरहेका छौं । बाँकीमा कागतीदेखि लिएर, स्टोवेरी, सुपारी, आप लिचीलागायतको खेती सुरु गरेका छौं ।

माटो स्टोर कति छन् ?
काठमाडौंमा आठवटा स्टोर सञ्चालनमा रहेका छन् । त्यसबाहेक भाटभटेनीमा पनि माटो ब्राण्डका सबै उत्पादन पाइन्छन् । काठमाडौंबाहिर भने हामी अहिलेसम्म गएका छैनौं, बाहिरबाट माग आयो भने हामी यहीबाट सामान पठाउने छौं । विस्तारै यसको माग बढ्दै छ । कोरोनाका कारण दुइ वर्ष खासै काम हुन सकेन ।

माटोमा खाद्यान्न पनि पाइन्छ ?
खाद्यान्नको पनि कारोबार हुन्छ । खाद्यान्नतर्फ धान त हामीले झापामा आफैं पनि उत्पादन गरिरहेका छौं । काला नमक धान उत्पादन गर्छौ, जसको माग राम्रो छ । निर्यातका लागि अर्डर लिएका थियौ तर अहिले निर्यात रोकिएकाले निर्यात गर्न पाएइएको छैन । सरकारले निर्यात रोकेको अवस्था छ । पहाडी उत्पादन निर्यात गर्न पाउने तर तराईका उत्पादन निर्यात गर्न नपाउने भनिएको छ । तर त्यो गलत हो किनभने नेपाली किसानले भारतबाट आयातीत धान चामलसँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यही भएर हरेक वर्ष नेपाली किसान कृषि पेशाबाट विस्थापित हुँदै गएको अवस्था छ । त्यसैले निर्यातमूलक उत्पादन गर्न सकियो भने किसानले फाइदा लिन सक्छन् । अहिले हामीले नेपालमै बिक्री गरिरहेका छौं, धेरैले मपराएका छन् । अहिलेसम्म धेरैजसो मानिसले काला नमक चामलको परिकार उपभोग गर्न पाएकै थिएनन् । यो हाम्रो आफ्नै रैथाने उत्पादन हो ।

हाल माटोमा कति प्रकार उत्पादन छन् ?
एक सय २२ प्रकारका उत्पादन छन् । हाल चामलका साथै रातो भटमास, फापर पिठो, सिमी, कोदो पिठो, मस्यौरा, तितौरा, पहाडी मकैको च्याख्ला, अचार, गाईको शुद्ध घ्यू, पहाडको शुद्ध तोरी तेल, अप्रशोधित मह, रसुवाको पानीलगायत उत्पादन हामीसँग छन् । बजार अभाव र मूल्य नपाएर किसानले जग्गा बाँझो राख्नुपर्ने अवस्था नहोस् भनेर हामीले किसानद्वारा उत्पादित वस्तुको बजारीकरणमा जोड दिँदै आएका छौं । चामल क्यानडाका लाागि अर्डर आएको थियो गर्न पाएका छैनौं ।

हालसम्म माटोमा कति किसान जोडिएका छन् ?
एकिन तथ्यांक त छैन तर पनि सहकारी र किसान गरी एक सयभन्दा बढी किसान जोडिसकेका छन् । खानामा मात्र नभई लगाउने कुरामा पनि काम गरिरहेका छौं । अल्लोको काम सुरु गरेका छौं । अल्लोको धागो बनाएर घरेलु तथा साना उद्यमीलाई बिक्री गर्छौं । तीन हजार साना उद्योगलाई धागो दिन्छौं र उनीहरूद्वारा उत्पादित सामानको बजारीकरण गर्छौ । आवश्यक परेमा सहुलियत कर्जा उपलब्ध गराउँछौं ।

कृषिप्रधान देशमा उत्पादन बढ्न नसक्नुको कारण के होला ?
मुख्य कारण बजारीकरणकै समस्या हो । एकातिर विदेशतिरबाट ठूलो परिमाणमा अर्डर आयो भने सामान नपाइने, सानो परिमाणले बजारमा नपाउने समस्या छ । सोही समस्या समाधानका लागि माटो जन्मिएको हो । भारतबाहेक ६०-७० लाख मानिस विदेशमा छन् । विदेशमा रहेका १० लाख नेपालीले मात्रै नेपाली उत्पादन प्रयोग गर्ने होे निर्यात बजार बढेर जान्छ । उनीहरूले पनि आफ्नै देशका उत्पादन खोजिरहेका छन्, तर पाइरहेका छैनन् । पैैसा छ खोजेको सामान छैन । आजभन्दा ४०-५० वर्षअघि एसिया युरोपतिर नेपाली, भारतीय रेस्टुरेन्ट र स्टोरहरू थिएनन्, अहिले रेष्टुरेन्ट र स्टोरहरू खुल्न थालेका छन्, विश्वभर नेपाली रेष्टुरेन्ट र नेपाली सामानको बिक्री स्टोर सञ्चालनमा आउनुपर्छ ।

निजी क्षेत्र कृषिको बजारीकरण त आयो तर उत्पादनमा आएन नि ?
जबसम्म नाफा देख्दैन, निजी क्षेत्रले किन कृषिमा लगानी गर्छ ? एउटा एजेन्सी लिएर काम ग¥यो भने दुई तीन अर्ब मूनाफा हुन्छ भने किसान बनेर किन टाउको दुखाउने, उसलाई बहुला कुकुरले टोकेको छ र ! त्यही भएर मूनाफा नहुने कृषि र उद्योगमा किन विस्तार हुन नसकेको हो । अहिले नेपालको सबै क्षेत्र तिनै व्यापारीको पछि लागेको अवस्था छ । मिडियाले उनीहरूकै सपोर्ट गर्छ, राज्यले पनि उनीहरूकै कुरा सुन्छ । सबैतिर उनीहरूकै दबदबा छ, खर्च पनि गर्न सक्छन् । किसानको कुरा कसले सुन्छ ! आयातमा एक-दुई प्रतिशमात्रै मूनाफा हुने भए अर्को क्षेत्रमा लगानी गर्थे । गाडी, मोटरसाइकल, एयरकण्डिसन, इलेक्टोनिकस सामानमा ल्यायो, बेच्यो, मनग्य आम्दानी हुन्छ । तर किसानको हालत दयनीय छ, किसानको यही दयनीय अवस्था चिर्न हामीले कृषिमा हात हालेका हौं ।

हामी नेपाल र भारतका किसानक किसानबीच पनि तुलना गर्न सक्छौ । महेन्द्रनगर सीमापारि भारततिर छिर्‍यो भने त्यहाँका किसानसँग आफ्नै गाडी छ, बंगला छ, नेपालका व्यापारीकै जस्तो सान छ तर नेपाली किसानसँग खेतीका लागि न बिउ छ, न मल छ, न प्रविधि छ । तथापि सरकारले यसपटको बजेट राम्रै ल्याएको छ । प्रभावकारी कार्यान्वयन भएमा कृषिले पनि गति लिनसक्छ । निजी क्षेत्रले पनि हातेमालो गर्ने, डोनर एजेन्सीहरू लाग्ने र मिडिया पनि लाग्ने हो भने कृषिले फड्को मार्न समय लाग्दैन । सबै लागेपछि अन्ततः इन्धनको मूल्य घटाउन बाध्य भयो नि ! कृषिका लागि सबै क्षेत्रबाट त्यसैगरी महोल बन्नुपर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?