नेम्वाङको उम्मेदवारी खारेज गर्न एएफसीलाई पत्र

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्षसहित १४ जना पदाधिकारीहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङको उम्मेदवारी खारेजका लागि एसियाली फुटबल महासंघ (एएफसी) लाई पत्र पठाएको छ । एएफसीको आगामी महिना हुने ३३ औं चुनावी कंग्रेसका लागि एन्फा अध्यक्ष नेम्वाङले एएफसीको कार्यसमिति सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

छलफलबिनै एकलौटी ढंगबाट उम्मेदवारी दर्ता गराएको भन्दै तीन उपाध्यक्षसहित १४ जना कार्यसमितिका पदाधिकारीले नेम्वाङको उम्मेदवारी खारेजका लागि एएफसीलाई पत्र पठाएका हुन् । पत्रमा उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ ।

यस्तै, सदस्यहरू भरतबहादुर थापा, टीकाराम लामा, मनिराज विष्ट, रमेश व्यञ्जनकार, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकासनारायण श्रेष्ठ, रविन्द्र चन्द, मनिष जोशी, सरिला श्रेष्ठ र रूपेश अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

‘एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई एएफसी कार्यकारी समितिको सदस्य पदमा मनोनयन गर्ने विषयमा आवश्यक प्रक्रिया पूरा नभएको सम्बन्धमा हामी तपाईंलाई यो पत्र लेखिरहेका छौं,’ उपाध्यक्ष शाहीले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ, ‘एएफसी निर्वाचनका लागि कुनै पनि पदमा उम्मेदवार मनोनयन गर्ने सम्बन्धमा एन्फा कार्यसमितिमा कहिल्यै छलफल र निर्णय भएको छैन । एन्फा कार्यकारी समितिका अधिकांश सदस्यहरूले एन्फा अध्यक्षले आफूलाई उम्मेदवारी दिने गैरकानुनी कार्यको कडा विरोध र प्रतिवाद गरेका छन् । तर, एन्फा अध्यक्षले हाल एन्फाको कार्यकारिणी समितिमा बहुमत नपाएकाले उनको उम्मेदवारीमा उम्मेदवारी दिने उनको एकपक्षीय निर्णयलाई फुटबल संघले प्रस्ताव गरेको मान्न सकिँदैन ।’

पत्रमा यो उम्मेदवारीले एक व्यक्तिको मात्रै नभई नेपालको प्रतिनिधिलाई पनि प्रतिनिधित्व गर्ने भएकाले यस्तो छलपूर्ण मनोनयन स्वीकार गर्न नहुने उल्लेख छ । एएफसीलाई नेम्वाङको मनोनयनलाई तुरुन्तै बेवास्ता गर्न र उहाँको मनोनयन रद्द गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?