‘अगस्त्य’मा सौगात

Read Time = 3 mins

काठमाडौं । सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल : अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश गर्नुभएको छ । माघे संक्रान्तिको अवसर पारेर आइतबार एक पोष्टर जारी गर्दै निर्माण युनिटले चलचित्रमा सौगात मल्लको अभिनय रहने जानकारी गराइएको हो । सौगात पोष्टरमा एक कुकुरका साथमा स्टाइलिस लुक्समा देखिनुभएको छ । चलचित्रमा सौगत अगस्त्यको भूमिकामा देखिनुहुने छ ।

चलचित्रका लागि अन्य कलाकार पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताउनुभयो । चौधरी स्वयंको लेखन रहेको चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नुहुनेछ । डार्क हर्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको चलचित्रको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ भने यसलाई राजेश श्रेष्ठले छायांकन गर्दै हुनुहुन्छ ।

चलचित्रमा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहने बताइएको छ । निर्देशकसहितको टिम चाँडै भारतीय कलाकारसँग कागजी सम्झौता गर्न मुम्बई प्रस्थान गर्ने तयारीमा छ । दुई शृंखलामा निर्माण हुन लागेको चलचित्रको दुवै पार्टको स्क्रिप्ट तयार भइसकेको छ । आगामी वैशाखबाट छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्र एक्सन प्रधान रहने निर्देशक चौधरीले जानकारी दिनुभयो ।

‘अगस्त्य’लाई उत्कृष्ट बनाउन आफूले विगत दुई वर्षपछि अथक मिहिनेत गरिरहेको चौधरी बताउनुहुन्छ । निर्माता प्रकाश मल्लले कथावस्तु सुनेपछि निर्माणका लागि सहर्ष राजी भएको बताउँदै चलचित्र स्तरीय बन्ने विश्वास व्यक्त गर्नुभयो । हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट चलचित्रको शीर्षक जुराइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?