आयात प्रतिस्थापन गरेर निर्यात दोब्बर गर्ने सरकारको नीति सम्भव नै छैन : पूर्वअर्थमन्त्री खतिवडा

Read Time = 8 mins

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको चर्चा बजारमा छ । अर्थतन्त्रका समग्र सूचकले पनि अर्थतन्त्र संकटोन्मुख हुँदै गएको देखाइरहेको छ । चालु आर्थिक वर्षको शुरुवातसँगै बजारमा आएको तरलता अभावको समस्या बढ्दै गएको छ । विदेशी मुद्रा सञ्चिति साढे ६ महिनाको वस्तु आयात धान्नसक्ने मात्रै छ ।

आगामी आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । अर्थविद्हरुले सरकारले मुलुकभित्र नै उत्पादनमा वृद्धि गर्न नसके अर्थतन्त्रमा थप चुनौती थपिँदै जाने बताउँदै आएका छन् । सरकारले आयात नियन्त्रण गर्न नसके नेपाल पनि श्रीलंकाको पदचापमा जानसक्ने चेतावनी अर्थविद्हरुले दिइरहेका छन् ।

अर्थविद्हरुले अर्थतन्त्रमा थप चुनौतीहरु बढ्दै जाने भनिरहेको अवस्थामा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले पनि चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलताहरु थपिँदै गएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९÷०८०को बजेट विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनु भयो ।

उहाँले निर्माण सामग्री, पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर,यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौतीहरु थपिँदै जाने बताउनु भयो । पूर्व अर्थमन्त्री खतिवडाले सरकारले आगामी आर्थिक वर्षमा आयात प्रतिस्थापन गरेर निर्यातलाई दोब्बर गर्ने नीति ल्याएको भने पनि सम्भव नभएको दाबी गर्नुभयो । उहाँले हरेक चिजको मूल्यवृद्धि हुँदै गएकाले हाम्रो कुनैपनि उत्पादनमा प्रतिष्पर्धा नहुने भएकाले निर्यात दोब्बर हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ अर्थतन्त्रमा जटिलता थपिँदै छ । जसमा निर्माण क्षेत्रमा २७ प्रतिशतले निर्माण सामग्रीको मूल्य बढेको छ । पेट्रोलिय पदार्थको साढे ७० प्रतिशतले बढी सकेको छ । निर्माण सामग्रीको मूल्य यसरी बढी रहँदा निर्माण सामग्रीको मूल्य नबढ्ने गरी गरिएको व्यवस्था भनिरहँदा झन मूल्य किन बढ्छ । २७ प्रतिशतले निर्माण सामग्रीको मूल्य बढ्ने बैंकको ब्याजदर बढ्ने,यातायात ढुवानी बढ्ने अनि हाम्रो उत्पादन कस्तो होला ? अर्को वर्ष हाम्रा कतिपय उत्पादन प्रतिष्पर्धी नै हुँदैनन् । निर्यात दोब्बर कहाँबाट हुन्छ । हामी कुन नयाँ चिज निर्यात गर्दैछौं र निर्यात दोब्बर गर्छौं भनेर हुन्छ ।’

पूर्वअर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन नसक्ने दाबी गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुदाँ धेरै आयात गर्नुपर्ने बताउनु भयो । डा.खतिवडाले वर्तमान सरकारले पाँच वर्षमा मुलुकको व्यापार सन्तुलन ल्याए सबैले सम्मान गर्र्ने बताउनु भयो ।

उहाँले आर्थिक वृद्धिदर ५ प्रतिशत माथि जाने बित्तिकै व्यापार घाटामा दबाब पर्ने अवस्था रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘३ खर्ब बढी शोधानान्तर घाटा हुने सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर अर्को वर्ष गदैछ । यदि ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जान्छ । यो कुरो सरकारले हेक्का राखे हुन्छ ।’

उहाँले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने वाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जाने भन्दै सरकारले यो कुरामा हेक्का राख्नुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकारले भनेको जस्तै पाँच वर्षमा व्यापार सन्तुलन भयो भने उहाँहरुलाई सम्मान गर्ने बताउनु भयो । डा.खतिवडाले मुलुकको व्यापार सुन्तुलन हुनको लागि आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित हुनुपर्ने बताउनु भयो ।
पूर्वअर्थमन्त्री खतिवडाले कालोबजारी र पुँजी पलायनमा पैसा हराएर बैंकहरुमा नफर्किएकाले बजारमा तरलता अभावको समस्या भएको बताउनु भयो । उहाँले मुलुकमा ११० प्रतिशतसम्म कर्जा बिस्तार भएर मात्रै बजार तरलता अभाव नभएको बताउनु भयो ।

पूर्वमन्त्री खतिवडाले तरलता समस्या विषयमा अर्थमन्त्रालय,राष्ट्र बैंक,राजश्व अनुसन्धान र गृहमन्त्रालयले अध्ययन गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले विदेशी मुद्रा लगानीको लागि १ प्रतिशतको प्रिमियम र अनुदान दिने कुरा गरेर लगानी नआउने बताउनु भयो । उहाँले हुण्डी मार्फत डलर बाहिर गएकाले त्यसलाई सरकारले रोक्नुपर्ने बताउनु भयो । अहिले अनुदानको संरचनामा नै परिर्वतन आएको उहाँले बताउनु भयो ।

त्यस्तै खतिवडाले रसुवागढी नाकाबाट हुने अनाधाकृत व्यापार रोक्नेसके मात्रै पनि वर्षमा ३ खर्बको हुण्डी कारोबार रोकिने बताउनु भयो । उहाँले अहिलेको सरकारले हुण्डी लगायत अनाधाकृत कारोबारलाई प्रोत्साहन दिएको बताउनु भयो ।
पूर्वमन्त्री खतिवडाले अघिल्लो सरकारले ल्याएको विदेशी लगानीले नै अहिलेको सरकार चलिरहेको दाबी गर्नुभयो । उहाँले अघिल्लो सरकारले मुलुकमा विदेशी लगानी आवश्यक छ र विदशी लगानी भित्र्याउने राष्ट्रहीत र विकासमा लगाउने योजना बनाएकाले विदशी मुलुकले पनि योजना भन्दा ब्लाङ चेकमा लगानी गरेको बताउनु भयो ।
पूर्वमन्त्री खतिवडाले आफूलाई अहिलेको खराब अर्थतन्त्र बनाउने सूत्रधार भन्नेहरुले आफू अघिल्लो सरकार रहदाँ सम्मको अर्थतन्त्रका सूचक हेर्न आग्रह गर्नू भयो । उहाँले अघिल्लो सरकारलाई अन्तराष्ट्रिय समुदायले समेत विश्वास गरेर १ खर्बसम्मको बिना योजना लगानी दिएको बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?