छिन्नलता गीत पुरस्कार तथा सम्मान प्रदान

Read Time = 3 mins

काठमाडौं । वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता) को १००औं जन्म जयन्ती तथा ४०औं छिन्नलता गीत पुरस्कार समर्पण समारोह सम्पन्न भएको छ । सो समारोहबीच असार २६ गते गुठीले २०७६, २०७७ र २०७८ सालका छनौट भएका स्रष्टा तथा सर्जकहरूलाई छिन्नलता गीत पुरस्कार तथा सम्मानहरू प्रदान गरेको हो ।

सोहि अवसरमा कवि तथा चर्चित गीतकार वसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ प्राप्त गर्नुभयो । प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार प्रदान गर्नुभएको थियो ।

गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव बनाएर गीत तथा कविता लेख्न खप्पीस स्रष्टा हुनुहुन्छ । नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका दुईवटा गरी उहाँले आठवटा एल्बम ल्याइसक्नुभएको छ । २०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा हुनहुुन्छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाउनुभयो । विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिएको छ ।

यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाउनुभयो ।

२०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भु राई पुरस्कृत हुनुभएको छ । यस वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाउनुभएको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?