कलाकारको सक्रिय राजनीति चाह

Read Time = 8 mins

काठमाडौं । हरेक निर्वाचनमा कलाकारले आफ्नो उपस्थिति देखाएका छन् । यसपालि आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकर्मीहरूको उल्लेख उपस्थिति रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा करिब एक दर्जन जति कलकारले उम्मेदवारीमेत दिएका छन् । उनीहरूको पक्षमा परिणाम आउला नआउला एक-दुई दिनमा थाह नै हुनेछ । तर, देशको राजनीतिमा कलाकारको चासो भने राम्रो रहेको पाइन्छ ।

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो नजिकको मतदान केन्द्रमा गएर उल्लेख्य कलाकारले आफ्नो मतकोदान गरेका थिए । मतदान गरिसकेपछि केही कलाकारले आउँदो निर्वाचनमा उम्मेदवारी दिने संकत पनि गरेका थिए । अभिनेता राजेश हमालले लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई चुनाव लड्ने संकेत गर्नुभएको थियो । ‘यो चुनावले राजनीतिमा परिवर्तन ल्याउने बुझाइ मेरो छ । पाँच वर्षमा मलाई पनि उम्मेदवारका रूपमा देख्नुहुनेछ’, अभिनेता हमालले भन्नुभएको थियो ।

यस्तै अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका-३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गर्दै कलाकार सक्रिय राजनीतिमा आएको राम्रो रहेको बताउनुभयो । चलचित्र विकास बोर्डको अध्यक्षसमेत रहनुभएका अभिनेता भुवन केसीले काठमाडौं क्षेत्र नं-२ स्थित गुहृयेश्वरी मावि केन्द्रमा मतदान गरेपछि आफ्नो चाहना सक्रिय राजनीति रहेको सुनाउनुभयो । उहाँले पार्टीले दिएको मौकाको सदुपयोग गर्दै आउँदो पाँच वर्षपश्चात् प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा उम्मेवारी दिने निश्चय रहेको बताउनुभयो ।

यस्तै कलाकार निर्मल शर्माले काठमाडौं क्षेत्र नं-४ को सिफल मतदान केन्द्रमा र केन्द्रीय कलाकार संघका केन्द्रीय सह-महामन्त्री शशिविक्रम थापाले बूढानीलकण्ठ-१२ कपन, त्रिज्योति मतदान केन्द्रबाट मतदान गर्नुभयो । निर्माता तथा अभिनेता दीपकराज गिरीले काठमाडौं क्षेत्र नं-९ को दहचोक खहरे केन्द्रमा, अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नं-३ को अत्तरखेलस्थित लिटिल बर्ड स्कुल केन्द्रमा मतदान गर्नुभएको थियो । हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले सर्लाही-४ स्थित बरहथवा नगरपालिका-१५ मा रहेको मतदान केन्द्रबाट मतदान गर्दै दलहरूले कलाकारलाई उचित स्थान दिनुपर्ने बताउनुभयो ।

यसपालिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गायिका कोमल ओलीले नेकपा एमालेबाट दाङको निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । यस्तै, यता अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नम्बर-३ बाट उम्मेदवारी दिनुभएको छ । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दर्ता दिनुभएको हो । त्यस्तै गायक सञ्जय श्रेष्ठले काठमाडौं क्षेत्र नं-६ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

त्यसैगरी निर्देशक तथा समीक्षक मनोज पण्डितले प्रतिनिधिसभा सदस्यका लागि काभ्रे-२ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यसैगरी निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठले नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा धादिङको क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिनुभएको छ भने भने कमेडी च्याम्पियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धादिङ क्षेत्र नं-१ बाट उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै निर्माता तथा अभिनेता रोज राणाले नेपाली कांग्रेसका तर्फबाट प्युठानको क्षेत्र नं-१ को-२ बाट प्रदेशसभातर्फ उम्मेदवारी दिनुभएको छ भने अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर-१ को प्रदेश-२ तर्फ उम्मेदवारी दिनुभएको छ । यस्तै, चलचित्र तथा टेलीशृंखला निर्देशक वसन्त पोख्रेलले पनि संघीय सांसद बन्न कपिलवस्तु क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिनुभएको छ । एकीकृत शक्ती नेपाल पार्टीबाट उम्मेदवार बन्नुभएका पोख्रेल चलचित्र पत्रकार पनि हुनुहुन्छ ।

लोकदोहोरी गायक मिलन लामा (विष्णुु) पनि सांसद बन्ने दौडमा चुनावी मैदानमा उत्रिनुभएको छ् । चितवन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यतर्फ उहाँले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । यस्तै, हाँस्य टेलीशृंखला ‘सक्किगो नि’ मा ‘सिते बा’ को भूमिका निर्वाह गर्दै आउनुभएका कलाकार मधुसूदन पाठक काठमाडौं-५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

त्यसैगरी अभिनेता तथा निर्माता राज तिमिल्सेना पनि हाम्रो नेपाली पार्टीको तर्फबाट काठमाडौं-२ प्रदेश (क) बाट उम्मेदवार बन्नुभएको छ भने गायक दर्पण कुसुम्या (प्रदेशी चौधरी) बर्दिया-२, प्रदेश (क) बाट प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्नुभएको छ । यस्तै, अभिनेता सम्राट सापकोटा काठमाडौं क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र राजनीतिक शक्ति पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिनुभएको छ । कलाकारलाई मतदाताले आफ्नो विश्वासको मत जाहेर गरेका छन् छैनन त्यो त अब आउने परिणामले प्रष्ट नै पार्ने नै छ । तर, कलाकारको राजनीति मोह भने राम्रै रहेको छ । चुनावको पूर्वसन्ध्यामा भने स्वतन्त्र उम्मेदवारप्रति कलकारहरूको आकर्षण देखिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?