कविता : पुकार

हिमालय टाइम्स
Read Time = 4 mins

✍️ जानकी तिमल्सिना

भागबण्डा, भाइ, भतिजा नाता शासन अब रोकिदेऊ
धाकधम्की, लोभलालच, होडबाजीको अन्त्य गरिदेऊ
वृद्धभत्ता नै उचित होला सत्ता मोह, कुर्सी मोह त्यागिदेऊ
नयाँ जोस जाँगर अवलोकनको एक अवसर देऊ ।

जाग हे ! युवा बाउबाजेको काँधमा काँचुली फेर्नदेऊ
अशिक्षा, अज्ञानता, अटेरिपनको पाठ पढाइदेऊ
शभुता, वैमनस्य र वैरभाव सबमा हटाइदेऊ
परिवर्तनशील नयाँ नेपाल निर्माणको गाथा कोरिदेऊ ।

शिक्षित वर्ग, विद्यार्थी हो उठ ज्ञानको ज्योति बालिदेऊ
सद्भाव, भाइचारा, मेलमिलापको पाठ पढाइदेऊ
पारिवारिक कलह, सम्बन्धविच्छेदको नष्ट गरिदेऊ
सम्बन्धमा लय, छन्द अनि अलङ्कार मिलाइदेऊ ।

सिर्जना, विकास अनि निर्माणले पहाड फोरिदेऊ
इन्जिनियर हो लौन देशको नयाँ नक्सा कोरिदेऊ
भूकम्प प्रतिरोधी घरहरूको बस्ती बसाइदेऊ
नदीनाला, तालतलैया किनारमा तटबन्ध गरिदेउ ।

नेपाल आमाका सपूतहरू कर्म गर्ने हात उठाइदेऊ
सोलुखुम्बु, हुम्ला, जुम्ला बाटोघाटो सञ्चार पुर्‍याइदेऊ
समथर तराईका मैदानहरूमा रेल कुदाइदेऊ
पहाड, पर्वत, कुना, कन्दरा, गाउँ, बस्ती, बत्ती बलाइदेऊ ।

कृषक वर्ग हो आधुनिक प्रणालीको खेती गरिदेउ,
भोका नाङ्गा, गरिब, असाहयको पेट भरिदेऊ
डाक्टर साव स्लिपिङ ? जोस जाँगरको ट्याब्लेट बनाइदेऊ
कर्म गर्ने, देश बनाउने शक्ति युवाहरूलाई देऊ ।

मरण र मृत्युको दोसाँधमा रहेकालाई नयाँ जीवन देऊ
डेङ्गु, कोभिड रोगव्याध महामारी निर्मूल पारिदेऊ
धनी, गरिब, आफ्नो पराई विभेदको अन्त्य गरिदेऊ
सम्मानजनक जीवन जिउने अधिकार सबैलाई देऊ ।

नेता ज्यू ! नेहा, निर्मला त नमुना न हो, हिंसा अन्त्य गरिदेऊ
सयौँ थँुगा फूलका हामी एउटै माला नेपाली ? पूर्णता देऊ
अन्धविश्वास, कुरीति, कुसंस्कार र दाइजोप्रथा अन्त्य गरिदेऊ
भो भयो अति भयो शोषणरहित समाज निर्माण गरिदेऊ ।

वार्षिक कार्य पात्रो पर्व र अभावमा एउटा मेटाइदेऊ
विज्ञ हो ! मनले मनलाई खिच्न सक्ने ऐना बनाइदेऊ
हे ! सृष्टिकर्ता सृष्टि र रोगव्याधमा एक चिज हटाइदेऊ
पूरा आयु स्वस्थ जिउने हक अधिकार खोसेर नि लेऊ ।

देशभक्त एकजुट भर्ई रोइरहेकी आमा हँसाइदेऊ
आमाको काख पूर्ति गर्न देशलाई नयाँ शिशु जन्माइदेऊ
पुछिएको दिदीको सिउँदो भर्न नयाँ नेपाल निर्माण गरिदेऊ
हे ! ईश्वर, हे ! जगनमाता
भो भयो अति भयो लौन म दुःखीको पुकार सुनिदेऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?