चुनौतीपूर्ण बनेको सुकुम्बासी समस्या समाधान गर्न सबैको सहयोग आवश्यक : मन्त्री चौधरी

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनुभएको छ । २८औँ महानगर दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले काठमाडौं सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदी किनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको धारणा राख्नुभयो ।

मन्त्री चौधरीले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर सहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न योजनाबद्ध कार्यहरू सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । महानगरपालिकालाई बसोबासयोग्य, प्रदूषणरहित वातावरणमैत्री बनाई महानगरवासीको आधारभूत आवश्यकता परिपूर्ति गर्न महानगरकाले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहोरमैला लगायतका समस्या समाधान गरी अघि बढ्न काठमाडौं महानगरपालिका सफल हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्छौँ : मेयर साह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्ने बताउनुभएको छ । बिहीबार महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले महानगरले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेको बताउनुभएको हो । उहाँले उपत्यकाभित्र रहेका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्न प्रयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले सप्ताहव्यापी महानगर दिवस मनाउँदै गर्दा विभिन्न कुरालाई एउटा सिम्बोलको रूपमा देखाउन चाहेको छ ।

उदाहरणको रूपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेका छौँ । उपत्यकाभरि र काठमाडौं महानगरभरि रहेका डबलीमा सांगीतिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन हुने गर्दथ्यो । त्यसलाई फेरि पुनर्जागरण गर्नुपर्छ ।’ मेयर साहले संस्कृतिलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभयो । मौलिक बाजाहरूलाई अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई पनि सिकाउँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो । साहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिका र सबै तहको सरकारसँग सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो । काठमाडौं महानगरलाई सांस्कृतिक सहर बनाउने सपना पूरा गरेरै छोड्ने उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउनुपर्छ : चिरीबाबु महर्जन
ललितपुर महागरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीबार काठमाडौैं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले उपत्यकामा मेट्रो रेल चलाउनका निम्ति काठमाडौं महानगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । त्यसैगरी, उहाँले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै त्यो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव पनि गर्नुभयो । ‘काठमाडौं एउटा उपत्यका हो । यहाँ कुनै पनि पालिकाले स्वतन्त्र रूपले आफ्नो बल, बुताले सबै पालिकामा छुने किसिमको मेगा प्रोजेक्ट गर्न गाह्रो पर्छ । काठमाडौं महानगरपालिकालगायत काठमाडौं उपत्यकाभित्र ५० लाखको जनसंख्या छ । ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ । तसर्थ अब यहाँ एक किसिमको मेट्रो अथवा र्‍यापिड बस ट्रान्जिट सिष्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ’, उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?