विश्वमा विकासको दाबी र बढ्दो अनिकालको वास्तविकता

Read Time = 12 mins

✍️ लोकनारायण सुवेदी

बढ्दो भूराजनीतिक संघर्ष, विश्वव्यापी जलवायु परिवर्तनसँग सम्बन्धित मौसमको चरम सीमा र महामारीसँग सम्बन्धित आर्थिक तथा स्वास्थ्य चुनौतीहरूले विश्वमा अनिकालको स्तरलाई आज सर्वत्र बढाइरहेको छ । यसले गर्दा कुपोषणको विश्व प्रसार निरन्तर बढिरहेको छ । आर्थिक विकास हुँदाहुँदै पनि आज विश्वका सामु कुपोषणसँग लड्नुपर्ने ठूलो चुनौती छ । यस सम्बन्धमा मुख्य कुरा यो चुनौतीलाई कसरी समाप्त पार्न सकिन्छ भन्ने हो ।

हुन त आजको विश्वका चरम विकास भएको सम्पूर्ण दाबी गरिने गरिन्छ र तर यो दाबी गरिँदा गरिँदै पनि अहिलेसम्म पनि गरिबी र अनिकाल जस्ता मानिस जीवनका आधारभूत समस्याको चपेटाबाट विश्व बाहिर निस्कन सकेको स्थिति छैन । कुरा के छ भने खाद्यान्न उत्पादन ठूलो स्तरमा हुँदा हुँदै पनि बजारमा अत्यधिक महँगी बढेर धेरै मानिसरूका सामु खाने पिउने समस्या खडा भएको छ ।

विकसित विज्ञान र प्रविधिका कारणले सपना त जे पनि देखाउन र देख्न सकिन्छ । उपग्रह अन्तरिक्षमा राखेर त्यसबाट फाइदा लिने आदि कुराहरू हुन सक्छन् तर ती सबैले अनिकालबाट आक्रान्त जनतालाई मुक्त गर्न सकिँदैन ।

विश्व खाद्य उत्पादनको प्रतिवेदनका अनुसार उत्पादन निकै वृद्धि भए पनि अनिकालको समस्यासँग सल्टाउने गति भने एकदमै मन्द छ । अर्कोतिर संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठनको प्रतिवेदनले पनि भन्दछ कि विश्वमा यतिका ठूलो खाद्य भण्डार छ जसले महिला, पुरुष र बालबच्चाहरूको पेट भर्नका लागि पर्याप्त हुन्छ । तर, पनि विश्वमा करोडौँ करोड मानिसहरू यसरी आधारभूत समस्याहरूबाट पार पाउन नसक्दा अनिकालको आँकडाका कारण २०३० सम्ममा अनिकाल हटाउने अन्तर्राष्ट्रिय लक्ष्य पनि खतरामा पर्न गएको छ ।

यस्तो स्थितिमा यो कत्तिको दुःखद कुरा हुन गएको छ कि संयुक्त राष्ट्रसंघको प्रतिवेदनले अनिकालका कारणहरूमा अघोषित युद्धको स्थिति, जलवायु परिवर्तन, हिंसा, प्राकृतिक विपत्ति जस्ता कारणहरूको कुरा गर्दछ तर कथित स्वतन्त्र अर्थव्यवस्था, बजारको ढाँचा, नव साम्राज्यवाद तथा नव उदारवाद जस्ता कुराहरू नै आजको यो अनिकालका ठूलो कारक र कारण हुन् यद्यपि तिनको बारेमा संयुक्त राष्ट्रसंघ केही चुइँक्क नबोली बस्छ । जब कि यी अत्यन्तै गम्भीर मुद्दा हुन् । यस्तो स्थितिमा अविकसित र पछि पारिएका तर ठूला जनसंख्या भएका देशहरू विश्व अनिकालको सूचकांक (२०२१) र भारत जस्तो विश्वको आर्थिक विकासको छैटौँ स्थितिमा रहेको देश पनि अछुतो रहेको छैन र अनिकालको सन्दर्भमा विश्वमा १०१औँ स्थानमा रहेको छ ।

अनिकालले कुपोषण निम्त्याउने नै भयो तर यो समस्या खाद्यान्नको उपलब्धता नभएको कारणले होइन, तर खाद्यवस्तु किन्ने क्रयशक्ति कम भएका कारणले हो । गरिबीका कारण क्रयशक्ति कम हुने र पौष्टिक आहारको कमीका कारण कुपोषण जस्ता समस्याहरू बढ्न थाल्दछन् । फलतः मानिसहरूको उत्पादन क्षमता कम हुन थाल्दछ । त्यसबाट मानिसहरू निर्धनता र कुपोषणको चक्रमा फस्न पुग्दछन् । अनि अर्कोतिर जलवायु परिवर्तनले केवल आजीविका, पानी आपूर्ति र मानव स्वास्थ्यका लागि खतरा पैदा मात्र गरिरहेको छैन, त्यसले खाद्यवस्तुको सुरक्षाका लागि पनि चुनौती पैदा गरिरहेको छ । यसको सिधा असर पोषणमाथि पर्ने गर्दछ ।

यो सही हो कि विश्वमा भोकै सुत्नुपर्ने बालबच्चाको संख्यामा अवश्य कमी आएको छ तर अझै पनि कैयौँ मानिसहरू यस्ता छन् जो अनिकालसँग जुधिरहनु परेको छ । यो हाम्रो विश्वको जनसंख्या आगामी २०५० सम्ममा ९ अर्ब पुग्ने अनुमान लगाइँदै आएको छ । यो बढ्दो जनसंख्याको ८० प्रतिशत हिस्सा भने विकासशील देशहरूको हुनेछ । अहिले नै पनि एकातिर एउटा सानो हिस्साले बासी भनेर खाना फाल्ने गरेको स्थिति छ भने अर्कोतिर ठूलो संख्यामा एक छाक पनि टार्न पनि नसकेको स्थिति छ । ती वास्तवमा अनिकालसँग जुधिरहेका छन् ।

विश्वका प्रायजसो सबैजसो मध्यमस्तरीय विकसित र विकासशील देशहरूको कथा व्यथा यही नै छ । विश्वमा पैदा गरिने गरेको खाद्य पदार्थ मध्येमा आधाजसो नखाईकन सडेर जाने गरेको छ र तर गरिबी हटेको छैन । त्यसैले वितरणको असमानता पनि एउटा ठूलो चुनौतीको रूपमा खडा छ । विकास योजनाहरू, खाद्य कार्यक्रमहरू जन साधारणमुखी हुन सकेका छैनन् । त्यसैले तिनको लाभ पनि जनतामा पुगेका छैनन् । यो स्थितिको लाभ भने चुनावको बेला सत्तामा बसेकाहरूले लोभ र लालच देखाएर मत खरिद गर्ने माध्यम बन्ने गरेको छ ।

व्याप्त र चर्को गरिब, महिलाहरूको खराब स्थिति, सामाजिक सुरक्षा योजनाहरूको कमजोर नराम्रो कार्य सम्पादन प्रदर्शन, पोषणका लागि आवश्यक पोषक तत्वहरूको न्यून स्तर, किशोरीहरूको निम्नस्तरीय शिक्षा र नाबालक विवाह जस्ता कारण नै कुपोषण बढ्ने मूल कारणहरू हुन् । यी कुराले कुनै पनि देशको छवि राम्रो देखिन्न ।

विश्वमा विकसित विज्ञान र प्रविधिका कारणले सपना त जे पनि देखाउन र देख्न सकिन्छ र स्मार्ट सहर, स्मार्ट विद्यालय, स्मार्ट रेल या बुलेट रेल, अरू देशहरूको सहयोगमा उपग्रह अन्तरिक्षमा राखेर त्यसबाट फाइदा लिने आदि कुराहरू हुन सक्छन् तर ती सबैले अनिकालबाट आक्रान्त जनतालाई मुक्त गर्न सकिँदैन । त्यसको लागि आवश्यक उत्पादन र समान वितरण पहिलो र महत्वपूर्ण कुरा हुन जान्छ । राज्य र सरकारहरूले ध्यान केन्द्रित गर्नुपर्ने मूलभूत कुरा नै यही हो । अनि मात्र सामाजिक सुरक्षामा भएको र हुने खर्च र बजेटको पनि सही वितरण भएको ठहरिन्छ ।

अर्कोतिर हाम्रो जस्तो हरेक क्षेत्रमा परनिर्भर देशले त झनै आधारभूत आवश्यकता पूरा गर्नमा कृषिलाई पाइला पाइलामा अनुदान, प्रविधि र बजारको पूर्ण सुनिश्चितता प्रदान गर्ने कुरामा नै सर्वोपरी ध्यान केन्द्रित गर्नैपर्ने कुरा कारोना महामारीले पनि शिक्षा दिएको हो । तर, हामीले त्यो शिक्षा लिएर चल्ने राज्य र सरकार पाइरहेका छैनौँ । यो जनताको आधारभूत आवश्यकता र देशप्रतिको ठूलो गैरजिम्मेवारी हो । यस्तो स्थितिमा बढ्दो जनसंख्याका अनुपातमा बढ्दो खाद्य पदार्थ उत्पादन र जोहो गर्नुपर्ने कुरा सर्वोपरी हुन्छ ।

हाम्रो जस्तो हरेक क्षेत्रमा परनिर्भर देशले त झनै आधारभूत आवश्यकता पूरा गर्नमा कृषिलाई पाइला पाइलामा अनुदान, प्रविधि र बजारको पूर्ण सुनिश्चितता प्रदान गर्ने कुरामा नै सर्वोपरी ध्यान केन्द्रित गर्नैपर्ने कुरा कोरोना महामारीले पनि शिक्षा दिएको हो ।

भोकमरीको समस्या हल गर्नमा बाधा बन्दै आएका र अझ बढ्दै आएका कुराहरू मध्ये अब जलवायु परिवर्तनको विश्वव्यापी समस्या थपिएको छ । यसले आजीविका, पानीको सुनिश्चित आपूर्ति र मानव स्वास्थ्यमा समेत ठूलो खतरा पैदा गरिरहेको मात्र छैन, खाद्य सुरक्षालाई पनि ठूलो चुनौतीका रूपमा खतरा बनेर खडा भएको छ । यस्तो स्थितिमा अभाव असुरक्षाको भयावह सन्त्रास अझ बढ्न जान्छ । त्यसले अराजकता निम्त्याउन पनि सक्छ । त्यसैले आज समय नभड्किँदै समस्या समाधानका सबै उपायहरू ग्रिनु अति आवश्यक छ ।

तर, यसका लागि कुनै तयारी भए गरिएको कतै केही देखा पर्दैन । यस्तो स्थितिमा भोकमरीबाट जनतालाई कसरी बचाउन सकिएला र उनीहरूको खाद्य सुरक्षा र सम्प्रभूता जस्ता संविधानमा लेखिएका मौलिक हक अधिकारको अनुपालन कसरी होला ठूलो प्रश्न चिन्ह खडा हुन्छ । कुपोषणको समस्या वास्तवमा उत्पादन सम्बन्ध, उत्पादनका साधनको स्वामित्व र वितरणमा अपनत्वसँग अभिन्न रूपमा तर अदृश्य रूपमा गाँसिएको छ । त्यसरी नै यो समस्या गरिबी, अभाव, असुरक्षा र बेरोजगारीसँग पनि सम्बन्धित छ ।

यी समस्या सही किसिमले हल गर्ने स्पष्ट र व्यावहारिक नीति, जनता प्रतिको जिम्मेवारी बहन गर्ने उच्च नैतिकता र जिम्मेवार राज्य र तदनुरूपको दृढ इच्छा शक्ति भएको सरकारको आवश्यकता हुन्छ । केवल भ्रम पारेर मत ल्याउने र भ्रष्टाचार गर्ने चालु गलत परिपार्टीबाट देश र यसको राजनीतिलाई मुक्त नगरी समस्याको सही समाधान हुने कुनै ठोस र विश्वसनीय आधार पटक्कै बन्दैन । वास्तवमा यो आजको विश्वको एउटा गम्भीर चुनौती हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?